coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

निभा र किरणले आत्महत्या गरेको आशंका

वीरगन्ज - ‘हामीलाई माफ गरिदिनू, तपाईंहरूको सपना हामीले पूरा गर्न सकेनौं, सरी !’ सिमापारि रक्सौलनजिकैको कंगना ढालानजिक आइतबार रेलको लिकमा मृत अवस्थामा फेला परेका दुई किशोरीको कोठामा भेटिएको ‘सुसाइड नोट’को अन्तिम वाक्य हो यो। वीरगन्ज पब्लिक कलेज कक्षा ११ मा पढ्दै गरेका ती दुई किशोरी पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुरका हरिकिशोर चौरसियाकी १८ वर्षीया छोरी किरणकुमारी चौरसिया र वडा २ भेडिहारीका राजेश्वर साह कलवारकी १७ वर्षीया छोरी निभाकुमारी साह गुप्ता हुन्। अहिले भारतीय प्रहरीबाट उनीहरूको शव बुझेर नेपाल ल्याउने प्रक्रिया थालिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

दुवै किशोरी वीरगन्ज महानगरपालिका रानीघाटस्थित कुमारीमाई मन्दिरनजिक डेरा गरी सँगसँगै बस्दै आएका थिए। सीमापारि भएको उनीहरूको मृत्युलाई लिएर वीरगन्जमा अनेक चर्चा–परिचर्चा चलिरहँदा उनीहरूको कोठाबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ। आफ्ना बुवाआमालाई सम्बोधन गरेर लेखिएको सो सुसाइड नोटमा कसैलाई पनि दोषी नमान्न र कसैमाथि शंका नगर्न भनी उल्लेख गरिएको प्रहरी उपरीक्षक ढकालको भनाइ छ। किरणसँग एकदमै मिल्ने निभाको नाम ‘सुसाइड नोट’को सिरान र पुछार दुवैमा उल्लेख छ। ‘अक्षर किशोरीहरूले नै लेखेको बुझिएको छ,’ ढकालले भने, ‘हाम्रो अहिलेसम्मको अनुसन्धानमा यो आत्महत्या नै हुन सक्ने देखिएको छ।’

सीमापारि मृत्यु भएका उनीहरूको उनीहरूको कोठाबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ।

ढकालका अनुसार सुसाइड नोटको भाव बुझ्दा र घटनाको प्रकृति हेर्दा विवाहबाट जोगिन उनीहरूले त्यस्तो कदम चालेको अनुमान गरिएको छ। मृतकका आफन्तलाई राखेर प्रहरी टोली किशोरीहरू बस्दै आएको डेरामा पसी फेला पारेको सुसाइड नोटमाथि एक थान लेडिज घडी र प्लास्टिकको गुलाब फूल भेटिएका छन्। सो घडी केही दिनअघि मात्र विवाहको कुरा छिन्न भएको टीकोटालोमा केटा पक्षले किरणकुमारीलाई दिएको खुल्न आएको छ। विवाहको छिनोफानो भएपछि किरण सुस्त देखिन थालेको उनका सहपाठीहरूले बताएका छन्। ढिलो गरी विवाह गर्दा परिवारलाई दाइजोको भार थपिने वा केटा खोज्न समस्या हुनेजस्ता झन्झटबाट बच्न त्यस ठाउँका अभिभावकले छोरीको चाँडै बिहे गरिदिन चाहने स्थानीय बताउँछन्।

आत्महत्या भएको खुल्न आएकाले अरू कारण खोज्न खासै आवश्यक नरहेको प्रहरी उपरीक्षक ढकालको भनाइ छ। झन्झटबाट बच्न वा अरू कुनै कारणले यथाशीघ्र घटना टुंग्याउन प्रहरीले हतार गरिरहेको स्थानीयको भनाइ छ। भारतीय सञ्चारमामध्यमहरूले प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै रक्सौलबाट दिल्ली जाँदै गरेको सत्याग्रह एक्सप्रेसको रेलले आइतबार बिहान करिब ९ बजेतिर किच्दा उनीहरूको मृत्यु भएको जनाएका छन्। किरण गएर रेलको लिकमा सुतेको बेला रेल नजिक आएपछि निभाले अन्तिम अवस्थामा बचाउन चाहेको प्रत्यक्षदर्शीले भारतीय सञ्चारमाध्यमलाई बताएको बुझिएको छ। किरणलाई लिकबाट उठाउन भनी तान्दातान्दै रेल आइपुगेपछि भाग्दै गर्दा अन्तिम अवस्थामा निभा पनि दुर्घटनामा परेको जनाइएको छ। निभाको खुटा काटिएको छ भने किरणको टाउको। घटनास्थलबाट भारतीय प्रहरीले फुटेको मोबाइल र निभाको परिचयपत्र भेट्टाएपछि उनीहरूको सनाखत भएको थियो। किरणको विवाहका लागि भारत बिहारको पश्चिमी चम्पारण जिल्लाको रामनगरमा टंगो लागेर दाइजोबापत तय भएको चार लाख रुपैयाँ तीन दिनअघि मात्र बुवा हरिकिशोरले लगेर केटा पक्षलाई बुझाएका थिए।

प्रकाशित: २९ माघ २०७५ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App