८ वैशाख २०८१ शनिबार
राजनीति

सूचना टाँस्न सर्वोच्चको टोली दोस्रो दिन लोकमान निवासमा

काठमाडाैं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा म्याद बुझाउन दोस्रो दिन पनि सर्वोच्चको टोली कार्की निवास गएकाे छ। बुधबार म्याद बुझाउन गएको टोली काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई उपस्थित नहुँदा कर्मचारी कार्कीको निवासमा सूचना नटाँसी फर्किएको थियो। सर्वाेच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उनको निवास बानेश्वर हाइट पुगेको थियो।

घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडासचिवलाई रोहवर राख्नुपर्ने कानुनी व्यवस्था भए पनि सचिव राई नआएपछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको थियो। सर्वाेच्च अदालत नियमावली र मुलुकी ऐनमा सम्बन्धित व्यक्ति वा उसको स्थायी ठेगानामा म्याद टाँस्नु पर्ने व्यवस्थाका कारण सर्वोच्चको टोली दोस्रो दिन कार्की निवास जान लागेको हो।

राष्ट्रपतिको कार्यालय शितलनिवासलाई समेत विपक्षी बनाइएको उक्त सूचनामा कार्कीलाई अख्तियारको प्रमुख आयुक्त नभई पूर्व मुख्य सचिवका रुपमा चिनाइएको छ । कार्कीका नाममा तामेलीका लागि पठाइएको सूचनामा भनिएको छ– ‘यस अदालतबाट मिति २०७३÷५÷३१ पुनरावलोकनको लागि निस्सा प्रदान गर्ने आदेश भएकोले सो आदेशको प्रतिलिपि साथै राखी जानकारीको निम्ति यो सूचना पठाइएको छ । सो मुद्दामा आफ्नो सबुत प्रमाण लिई तपाईं आफैँ वा ऐनबमोजिम वारेसलाई उपस्थित हुन पठाउनु होला । सूचना तामेल भएको १५ दिनपछि मुद्दा पेशीमा चढ्न सक्नेछ ।’

वडासचिव सम्पर्कमा नआएपछि सिधै बानेश्वरस्थित घर पुगेको अदालत टोली त्यहाँ कार्की परिवार नबसेको थाहा पाएपछि म्याद नटाँसी फर्केको थियो । अदालतको आदेश भएको समयदेखि कार्कीसँग भेट हुन नसकेपछि सर्वोच्च कर्मचारी निवास पुगेका थिए ।

कार्की अदालतको आदेश आएको समयदेखि विदेश भ्रमणमा रहेका कारण म्याद तामेल हुन सकेको थिएन । लामो समयदेखि म्याद तामेल हुन नसकेको र नजिकै दसैं बिदा आएपछि सर्वोच्चले ताकेता गरेको हो । कार्की विरुद्धको मुद्दा पुनरवलोकनको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

 

प्रकाशित: २० आश्विन २०७३ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App