७ वैशाख २०८१ शुक्रबार
समाज

पाँच महिनामा ११ सय ७६ जनाले ज्यान गुमाए

लहान - सवारी दुर्घटनामा परी सिरहामा पाँच महिना यता ३९ जनाले ज्यान गुमाएका छन्। ५० जनाभन्दा बढी अंगभंग भएका छन्। सिरहामा मात्र नभई देशैभर बढ्दो दुर्घटनाका कारणबारे विभिन्न कोणबाट थरीथरीका विश्लेषण बाहिर आइरहेका छन्। यसबारे ट्राफिक निर्देशनालयले समेत कारण केलाएको छ।

निर्देशनालय प्रमुख(डिआइजी) पूर्णचन्द्र जोशीले भने, ‘अधिकांश सवारी दुर्घटनामा चालकको लापरवाही देखिन्छ। जसलाई न्यूनीकरण गर्न ट्राफिक कम्युनिकेसन एप्स सञ्चालनमा ल्याइएको छ।’ प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए/नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याइएको जोशीले बताए। यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई वटा चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई सुनिश्चित गर्न उक्त एप्स सञ्चालनमा ल्याएको प्रमुख जोशीले जानकारी दिए।

लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टमा जाँचका क्रममा उही चालक भेटिए कारवाही गरिने व्यवस्था गरिएको छ। यसबाट दुर्घटना न्युनीकरण हुने अपेक्षा गरिएको छ।

चालकको लापरबाही
साउनदेखि मंसिरसम्म देशभर भएका ५४ सय ४ दुर्घटनामध्ये ३९ सय ४७ दुर्घटनामा चालकको लापरबाही देखिएको ट्राफिक महाशाखा बताउँछ। १ सय ८६ दुर्घटना चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ। ८६ वटा दुर्घटनामा सवारी साधनमा आएको यान्त्रिक गडबडीका कारण रहेको पाइएको छ। सडकको अवस्थाका कारण ५२ वटा दुर्घटना भएको महाशाखाको तथ्यांक भन्छ। त्यस्तै मौसमी खराबीका कारण पनि १३ वटा दुर्घटना भएका उल्लेख छन्। ओभरटेकका (उछिन्ने) कारण पनि ९६ दुर्घटना भएका छन्। तीव्र गतिका कारण ९ सय २८ वटा दुर्घटना भएका छन्। सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेका कारणसमेत एउटा दुर्घटना भएको तथ्यांकले देखाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ। जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने उपायस्वरुप एप्स ल्याइएको जोशीले बताए।

दुर्घटना निम्त्याउने र कमजोरी गर्नेको हकमा राज्यले ट्राफिक प्रशासनलाई २ सयदेखि १ हजारसम्म जरिवाना मात्र तोकेको छ। दुर्घटना गराउने लाइसेन्सवाला चालकको हकमा सवारी ज्यान मुद्दा चल्दा लापरबाही नदेखिए धरौटीमा छुट्ने कानुनी व्यवस्था छ। इलाका प्रहरी कार्यालय लहानले चालु आर्थिक वर्षको पुष मसान्तसम्म सवारी ज्यानमा १३ वटा मुद्दा दर्ता गरेको अभिलेखबाट देखिन्छ। यी मुद्दामा १३ जना प्रतिवादी पक्राउ परेका छन्। जसमध्ये २ जना पूर्वपक्षका लागि थुनामा छन्। ७ जना प्रतिवादी अदालतबाट धरौटीमा छुटेका छन्। ३ जना प्रतिवादीहरुको हकमा २४ दिनसम्म कैदको फैसला भएको लहान प्रहरी प्रमुख(डिएसपी) राजेश थापाले बताए। १ जनाको मुद्दा अनुसन्धानकै क्रममा छ।

कुन प्रदेशमा कति दुर्घटना
ट्राफिक प्रहरी निर्देशनालय काठमाडौैंका अनुसार ०७५/०७६ को मंसिर मसान्तसम्म प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलअन्तर्गत भएका ४ सय ७५ दुर्घटनामा २ सय ४२ जनाले ज्यान गुमाएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरअन्तर्गत भएको ३ सय ११ सवारी दुर्घटनामा २ सय २५ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालय पथलैयाअन्तर्गत भएको ३ सय ८७ दुर्घटनामा २ सय १६ जनाले ज्यान गुमाएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीअन्तर्गत भएका ५ सय ३६ दुर्घटनामा १ सय ३५ जनाले ज्यान गुमाएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाअन्तर्गत भएका २ सय ९ सवारी दुर्घटनामा १ सय जनाले ज्यान गुमाएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय कोहलपुरअन्तर्गत भएका ६१ सवारी दुर्घटनामा ७३ जनाले ज्यान गुमाएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाअन्तर्गत भएका ७५ सवारी दुर्घटनामा ८१ जनाले ज्यान गुमाएका छन्। महाशाखाअन्तर्गत भएका ३३ सय ५० सवारी दुर्घटनामा १ सय ४ जनाले ज्यान गुमाएको तथ्यांक छ।

साउनदेखि मंसिरसम्म देशभर भएका ५४ सय ४ सवारी दुर्घटनामा ११ हजार ७६ जनाले ज्यान गुमाएका छन्। १८ सय ७६ जना गम्भीर घाइते छन्। ४५ सय ३५ जना घाइते भएको तथ्यांक छ। यस अवधिमा सबैभन्दा बढी ३५ सय २८ मोटरसाईकल संलग्न दुर्घटना भएका छन्।

पाँच महिनाको अवधिमा भएका दुर्घटनामध्ये २१ सय ५५ दुर्घटना दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म भएकोे छ भने बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म १५ सय ५७ दुर्घटना भएको तथ्यांकले देखाउँछ।

प्रकाशित: २८ माघ २०७५ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App