७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेविसंघ तदर्थ समिति : देउवा समूहका नेताबीच जुँगाको लडाइँ

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको राजीनामासँगै अन्यौलताका बीच रहेको नेविसंघको निकासका लागि पार्टीलाई बाटो खुलेको छ।

दुई वर्षे कार्यकालमा महाधिवेशन गर्न नसकेपछि दुईपटक गरी पाँच महिनाको समय थपिएको भए पनि उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि अध्यक्ष महरको आलोचना हुँदै आएको थियो। सभापति शेरबहादुर देउवा निकटका अध्यक्ष महरलाई सभापति समूहकै नेताबाट राजीनामाको दबाब आएपछि राजीनामा दिएका थिए। यसअघि महर निकट मानिएका केही पदाधिकारीले समेत महाधिवेशन गर्न नसकेको भन्दै पार्टी सभापति देउवा समक्ष पुगेर राजीनामा दिएका थिए।

स्रोतका अनुसार अध्यक्ष महरलाई राजीनामाका लागि देउवा निकटकै नेताबाट पटक–पटक दबाब आएको थियो। सभापति देउवाले आइतबार महरलाई राजीनामा दिन आग्रह गरेपछि सोमबार केन्द्रीय समिति बैठक सुरु हुनुभन्दा अघि नै सभापति समक्ष महरले राजीनामा दिए। राजीनामा दिँदै महरले आफ्नो दुई वर्षे कार्यकाल पूर्णतः सफल रहेको दाबीसमेत गरेका थिए। महरले कांग्रेस केन्द्रीय समितिमा नेविसंघ महाधिवेशन ‘कब्जियत’ को रूपमा रहेको त्यसलाई खुलाउन आफूले राजीनामा दिएको बताए।

महरको राजीनामाका सन्दर्भमा मिडियासामू नबोलेका सभापति देउवाले मिडिया बाहिरिएपछि पार्टीका सबै नेतासँग सल्लाह गरेर तदर्थ समिति ल्याउने प्रतिवद्धता जनाएको नेविसंघका एक केन्द्रीय सदस्यले बताए। देउवाले तदर्थ समिति गठन गर्दा महरसँग पनि छलफल गर्ने आश्वासन दिएका थिए। अध्यक्ष महरले भने देउवालाई निकटका मानिनेबाट बच्न सुझाएका थिए। ‘हामी महाधिवेशनमुखी भएका बेला केही नेताको स्वार्थमा राजीनामा दिनुप¥यो’, सभापति देउवासामू अध्यक्ष महरले भने, ‘तपाईं पनि निकट मानिएकाबाट बच्नुहोस् नभए उनीहरूले सिध्याउँछन्।’
पार्टी केन्द्रीय समितिले अध्यक्ष महरको राजीनामा स्वीकृत गरिसकेको छ।

केन्द्रीय कार्यसमितिले शिघ्र तदर्थ समिति गठन गर्ने र केन्द्रीय समितिले त्यसको तयारी गरिरहेको बताए। अहिले कै कार्यसमितिका विद्यार्थी नेताबाट अध्यक्ष चयन गरिने उनले बताए।

देउवा समूहका नेताबीच जुँगाको लडाइँ
अध्यक्ष महरको राजीनामापछि तदर्थ समिति गठनलाई लिएर देउवा निकटका नेताबीच प्रतिस्पर्धा नै चलेको छ। देउवा समूहमा रहेका उपसमूहका नेताहरूले यसअघि देखि नै आफू निकटका नेतालाई महाधिवेशनका लागि गठन हुने तदर्थ समितिको अध्यक्ष बनाउन ‘लविङ’ गरिरहेका छन्।

देउवा निकट मानिने तीन नेताहरूले तदर्थ समितिमा आफू निकटका विद्यार्थी नेता ल्याउन प्रतिस्पर्धा गरिरहेका छन्। उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा.प्रकाशशरण महत र नेता बालकृष्ण खाँड आफू निकटका विद्यार्थी नेता तदर्थ समितिमा ल्याउन लागि परेका छन्। उनीहरू तीनै जना नेता देउवाको ‘किचन क्याविनेट’ का मानिन्छन्। तर यी तीन नेताबीच एकअर्कामा भने ‘पानी बाराबार’ को अवस्था छ। सभापति देउवा पनि तदर्थ समिति गठन गर्न आफू निकटका विद्यार्थी नेता नभेटेपछि संकटमा छन्। आफू निकटका तीन नेतामध्ये एक नेताको विश्वास पात्रलाई अध्यक्ष बनाए अन्य नेता चिढिने डर उनीमाथि छ।

उपसभापति निधि नेविसंघमा पार्टीले ३२ वर्षे उमेर हद लगाउँदै पारित गरेको विधान उल्लंघन गर्ने पक्षमा देखिन्छ। १२ औँ महाधिवेशनबाट मात्रै विधान कार्यान्वयन गर्ने उनको जोड छ। तदर्थ समितिमा उनी आफू निकटका विद्यार्थी नेता तथा वर्तमान महामन्त्री सरोज थापालाई अध्यक्ष बनाउन चाहन्छन्। थापा ३२ वर्ष नाघिसकेका कारण अध्यक्ष बनाउन समस्या छ।

यस्तै, सहमहामन्त्री डा. महत भने पार्टीले निर्णय गरिसकेकाले विधान कार्यान्वयन गर्दै ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा छन्। उनी आफू निकट नेविसंघका वर्तमान सहमहामन्त्री प्रेमराज जोशीलाई अध्यक्ष बनाउन चाहन्छन्। जोशी ३२ वर्ष पुगिसकेका छैनन्। तर जोशीको हकमा भने देउवा तयार छैनन्। जेशीमाथि देउवा पत्नी आर्जु राणालाई कैलालीबाट हराउन लागेको आरोप छ। उनलाई पार्टीको स्थानीय समितिले कारबाहीका लागि सिफारिससमेत गरिसकेको छ।

यस्तै, पार्टी नेता तथा संसदीय दलका सचेतक खाँड भने आफू निकट नेता प्रकाश घिमिरेलाई तदर्थ समितिको अध्यक्ष बनाउन लागिपरकेका छन्। आफूले पार्टीमा महत्वपूर्ण भूमिका नपाएको भन्दै आफू निकटका विद्यार्थी नेता घिमिरेलाई अध्यक्ष बनाउन सभापतिसमक्ष आग्रह गर्दै आएका छन्।

वरिष्ठ नेता पौडेल र नेता सिटौलाको आफ्नै स्वार्थ
सभापति देउवा ‘क्याम्प’ उपगुटको स्वार्थले ग्रस्थ भइरहँदा संस्थापनइतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच पनि बेमेल देखिएको छ। उनीहरू पनि आफ्नै स्वार्थमा फसेका छन्।

वरिष्ठ नेता पौडेल उमेर हद नलगाई तदर्थ समिति गठन गर्ने पक्षमा छन्। उनी आफू निकटका विद्यार्थी नेता मनोजमणी आचार्यलाई अध्यक्ष बनाउन चाहन्छन्। तर देउवा समूहले आचार्यलाई अध्यक्ष नदिए विद्यार्थी नेता दिपक भट्टराई र हिमालदत्त श्रेष्ठलाई पदाधिकारीमा व्यवस्थापन गर्न चाहन्छन्।

यस्तै, आफूलाई पार्टीको तेस्रो धार दाबी गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाको पनि आफ्नै स्वार्थ छ। उनी यसअघिसम्म नेविसंघ विघटनको पक्षमा थिएनन्। तर अध्यक्ष महरको राजीनामापछि भने सिटौला समूहले तदर्थ समितिमा पनि ३२ वर्षे उमेर लगाउनै पर्ने पक्षमा उभिएको छ।

‘अब तदर्थ समिति ल्याउँदा सबैसँग सहमति गर्नुपर्छ’, सिटौला समूहका नेता प्रदीप पौडेल भन्छन्, ‘तदर्थ समितिमा पनि ३२ वर्षे उमेर हद लगाइनुपर्छ। नेविसंघले विधान मान्ने पार्टीले नमान्ने हुँदैन।’ तदर्थ समितिमा सिटौला समूहबाट सुशील भट्ट र निरञ्जन थापाको दाबी छ। ३२ वर्षे उमेर हद लागे सिटौला समूहले बलदेव तिमल्सिनालाई उमेदवार बनाउने तयारी गरेको छ।

प्रकाशित: २८ माघ २०७५ १२:३४ सोमबार

नेपाली_कांग्रेस नेपाल_विद्यार्थी_संघ नैनसिंह_महर राजीनामा