coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा पूर्वप्रधान न्यायाधीशविरूद्ध भ्रष्टाचार मुद्दा

सियोल- दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उनीविरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ। 

सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो। अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ। 

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु दुई जना अवकाशप्राप्त न्यायाधीशहरु पार्क बायाङ–डाई र को योङ–हान का विरुद्ध समेत अभियोग लगाएका छन्। उनीहरुलाई भने प्रहरी थुनामा राखिएको छैन। 

प्रधान न्यायाधीश याङमाथि मुख्यतः पूर्व राष्ट्रपति पार्क गिउन–हे को सरकारमाथि जानाजान छुटहरू दिएको आरोप छ। उनी सन् २०११ देखि २०१७ सम्म दक्षिण कोरियाको प्रधान न्यायाधीश रहेका थिए। दक्षिण कोरियाको न्यायिक इतिहासमै पक्राउ पर्ने याङ पहिलो वरिष्ट न्यायाधीश हुन्। उनीमाथि अब फौजदारी अभियोगमा सुनुवाई हुनेछ। 

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतमा रहेको राष्ट्रिय अदालत प्रशासन (एनसीए) को प्रयोग गरी याङले पूर्व राष्ट्रपतिका पक्षमा महत्वपूर्ण राजनीतिक प्रकृतिका मुद्दाहरुको सुनुवाईमा प्रभाव पार्ने गरेको बताएका छन्। याङले भने ती आरोपको खण्डन गरेका छन्। 

सर्वोच्च अदालतबाट भएका न्यायिक घोटालाले मुलुकमै खैलाबैला मच्चिएको थियो। यी घटनाक्रमले न्यायिक क्षेत्रमाथि अभूतपूर्व जाँचको अवस्था निम्त्याएको थियो। 

प्रश्न उब्जिएको एउटा सुनुवाईमा जापानले जबर्जस्ती काममा लगाएका पीडित कोरियालीले दायर गरेको मुद्दाको सुनुवाईमा विवादास्पद रुपमा ढिलाई गरेको आरोप छ। अभियोजनकर्ताहरुले याङ र उनका अधिकारीहरुले जानाजान अदालतको बहसमा ढिलाई गरेको बताएका छन्। टोकियोसँग मित्रवत सम्बन्ध स्थापना गर्न इच्छुक पूर्व राष्ट्रपतिलाई अनुकूल हुनेगरी मुद्दाको सुनुवाई गरेको याङमाथि आरोप छ। 

सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश कीम मियोङ–सूले गत वर्ष अक्टोबर र नोभेम्बरमा पीडितको पक्षबाट अन्तिम आदेश दिइसकेका छन्। 

अभियोजनकर्ताहरुले एनसीएका उपप्रमुख लीम जोङ–हुनमाथि पनि सोमबार अरु आरोप दर्ता गरेका छन्। लीममाथि पूर्व राष्ट्रपति पार्कको सरकारको पक्षमा फैसलाहरु गराउने तथा त्यसो गर्न अस्वीकार गर्ने न्यायाधीशको सरुवा गर्ने गरेको आरोप छ। 

अभियोजनकर्ताहरुले शक्तिको दुरुपयोगको आरोपमा अरु पनि न्यायाधीशमाथि अभियोग लगाउने सम्भावना रहेको बताएका छन्। योनहाप

प्रकाशित: २८ माघ २०७५ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App