शान्ति र हिंसाको सन्धिबिन्दु

बिहिबार, २० असोज २०७३, १० : २४ पुरुषोत्तम दाहाल

0


माओवादी केन्द्रका अध्यक्ष तथा प्रधान मन्त्री पुष्पकमल दाहालले गान्त्रसले विकास गरेको शान्तिको सिद्धान्त र माओले विकास गरेको सशस्त्र क्रान्तिबीच आफू र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले लय खोज्ने काम गरेको हुनाले त्यस परिस्थितिलाई सैद्धान्तिकीकरण गर्न आग्रह गरेका छन्। गत आइतबार अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्तीका अवसरमा मैले लेखेको 'मेरो पत्रकारिता' शीर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै हिंसा र शान्तिको फ्युजन कसरी भयो भन्ने व्याख्यामात्र उनले गरेनन्, हिंसात्मक घटनाहरुको जगमा शान्तिको महल बनेकामा प्रशंसासमेत गरे। उनले धेरै पटक गिरिजाप्रसाद र आफ्नो केमेस्ट्री कसरी मिल्न गयो त्यसमा आफू आश्चर्यचकित रहेको भन्ने वाक्यका साथ शान्ति अपरिहार्य रहेको स्वीकारसमेत गरे। उनले विगतमा जस्तै गरी सम्राट अशोकको उदाहरण प्रस्तुत गर्दै राज्यशक्ति विस्तार गर्ने हिंसात्मक आन्दोलनबाट महान् अशोकको बुद्धत्व प्राप्ति सम्भव भएजस्तै आफू पनि शान्तिमा रूपान्तरण हुन पुगेको विचार प्रकट गरेका थिए।

आफ्नै नेतृत्वमा करिब सत्र हजार नेपालीको ज्यान गुमेको कुरा अस्वीकार नगरे पनि प्रचण्डले त्यस हिंसाबाट भएको जनधनको अपूरणीय क्षतिको जिम्मेवारी लिने वा क्षमा याचना गर्न भने सकेका छैनन्।

उनले २०६२ सालको बाह्र बुँदे समझदारी र त्यसपछि विकसित परिघटनाहरुका सन्दर्भमा नयाँ प्रकारको सिद्धान्त आवश्यक रहेको भनी गरेको तर्क आफैँमा बहसको विषय हुनसक्छ कि सक्दैन विचारणीय छ। युद्ध सत्य र समाधान दुवै होइन। अल्पकालीन शक्ति परीक्षण, शक्ति आर्जन, प्रतिरक्षा वा अहंकारको प्रदर्शनसिवाय युद्ध हुन सक्देैन। नेपालमा माओवादीले सञ्चालन गरेको २०५२ देखि २०६२ सम्मको हिंसा युद्ध थियो वा थिएन सूक्ष्म विवेचना हुनु आवश्यक छ। घरमा सुतिरहेको निहत्था मानिस, कक्षामा पढाइरहेको निहत्था शिक्षक, सार्वजनिक प्रशासनमा काम गर्ने निहत्था कर्मचारी, घरगृहस्थी चलाएर बसेका सामान्य नागरिकमाथि गरिएको आक्रमणलाई युद्धका रूपमा परिभाषित गर्न सकिन्छ कि सकिँदैन? यो प्रश्न आफेँैमा विवेच्य छ। यो पुरानो कुरा हो। अब यसलाई कोट्याउँदै नयाँ घाउ बनाउनु अनावश्यक हुनसक्छ। तर जति घाउ बने पनि यो प्रश्नको उत्तर माओवादी सम्बद्ध नेतृत्वले उनीहरुको जीवनपर्यन्त दिइरहनुपर्ने हुन्छ र इतिहासले पनि निरन्तर यो प्रश्न सोध्न छाड्ने छैन।

माओवादी नेतृत्वले हिंसा परित्याग गर्ने जुन निर्णय गरेको छ त्यसको सम्मान सबैले गरेका छन्। दश वर्षसम्म चलेको हिंसाले अर्को चरण समातेको भए नेपालको स्वतन्त्रताको रक्षा हुन सक्थ्यो वा सक्ने थिएन त्यो प्रश्न महत्वका साथ गरिन्छ। आन्तरिक हिंसाका कारण स्वतन्त्रता गुमाउन पुगेका देशहरुको संख्या कम छैन। आन्तरिक हिंसा र कलहको शिकार भएर अनेक राष्ट्र विखण्डित भएका, अनेक राष्ट्रमा विदेशी सेनाको उपस्थिति भएको र कतिपय देशमा संयुक्त राष्ट्र संघले शान्ति सेना पठाउनुपरेको हामी देखिरहेका छौं। यसै कारण हिंसाबाट समाधान खोज्ने वा त्यसलाई निरन्तरता दिनेमा भन्दा पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टीले लोकतन्त्रका मूल्यहरुमा आफूलाई रूपान्तरण गर्ने निर्णयमा पुग्नु अत्यन्त बुद्धिमत्तापूर्ण कार्य थियो। त्यसमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको दृढ इच्छाशक्ति र भारतीय राजनीतिक मित्रहरुको सहजीकरणले महत्वपूर्ण भूमिका खेलेको छ।

तत्कालीन राजा ज्ञानेन्द्रमा महत्वाकांक्षा र अहंकार पैदा नभएको भए सायद गिरिजाप्रसाद कोइरालाको युटर्न हुने थिएन। त्यसमा पनि होलेरी काण्डमा भोगेको पीडा र आफ्नै शिष्य शेरबहादुर देउवाले आफ्नो आदेश विपरित संसद् विघटन गर्न पुगेको घटनाको प्रतिशोध गिरिजाप्रसाद कोइरालाको मिसन थियो। यससँगै हिंसामा रहेको शक्तिलाई लोकतन्त्रको राजमार्गमा हिँडाउने र त्यसपछिको परिवर्तनलाई श्रेयस्कर बनाउने आन्तरिक अभिप्रेरणा गिरिजाप्रसादमा देखिन्छ। अरु विषय जोडिएर आएका हुनसक्छन्। गिरिजाप्रसाद कोइराला जस्तो साम्यवादी दर्शन र साम्यवादी कार्यकर्तालाई तीव्र आलोचना गर्ने व्यक्ति बाह्रबुँदेका महानायक त्यसै भएका होइनन्। उनलाई तुष थियो र त्यो तुष शेरबहादुर देउवा र ज्ञानेन्द्रसँग समानरूपमा रहेको थियो। ती दुवैलाई तह लाउने निष्कर्ष नै कोइरालाको सक्रियता थियो। तर ज्ञानेन्द्रको लोकतन्त्र विरोधी निरंकुश कदमपश्चात् शेरबहादुर देउवासमेत कोइराला कित्तामा पुगे र सहमतिको आधार निर्माण हुन पुग्यो। एमालेको समेत यसमा विशद् भूमिका थियो।

पश्चिमी शक्तिको एक हिस्सा सायद राजाका पक्षमा वा माओवादीका विपक्षमा थियो भने अर्को हिस्सा लोकतन्त्रका पक्षमा देखिएको थियो। यसरी एउटा वातावरण विकास भएपछि र माओवादीमा समेत दबाब सिर्जना हुन लागेपछि प्रचण्ड र कोइरालाको केमेस्ट्री मिल्न पुगेको हुनुपर्छ। यद्यपि कसै न कसैसँग शान्तिका निम्ति लोकतन्त्रका निम्ति प्रचण्डको केमेस्ट्री मिल्नु अनिवार्य थियो। यदि त्यसरी लय नमिलेको भए नेपाल हिंसाको डरलाग्दो खेलमैदान हँुदै राष्ट्रको स्वाधीनता र स्वतन्त्रता गुमाउने चरणमा पुग्नु सम्भव हुने थियो। परिस्थितिलाई बिग्रन नदिई भएको बाह्रबुँदे सहमतिलाई कसैले सहमति जनाए पनि र असहमति जनाए पनि यसै अर्थमा निर्णायक मान्नुपर्ने हुन्छ। यो सहमति नजुटेको भए लोकतन्त्रको अवस्था आजको रूपमा हुने थिएन। अनेक समस्याको भारी बोकेर भए पनि अहिले संविधान निर्माण भएको र जारी भएको अवस्था छ। हिजोको जस्तो कहालीलाग्दो हिंसा र राजनीतिका नाउँमा जघन्य अपराधहरु अहिले भएको सुनिएको छैन। यसनिम्ति नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल नेपालको इतिहासमा सदा चर्चा गरिरहनुपर्ने पात्र भएका छन्। यसमा साथ दिने एमालेका तत्कालीन नेतासहित सात दलका अरु नेता र सहजीकरण गर्ने छिमेकी देशका राजनेताहरु पनि प्रशंसायोग्य छन्।

तर हिंसा र शान्तिको दर्शनलाई फ्युजन गरिएको हुनाले अबका दिनमा नयाँ रूपमा परिभाषा खोज्नुपर्छ भन्ने विषयलाई कुनरूपमा लिने? मार्क्सवादले व्याख्या गरेको वर्ग संघर्षको विचारलाई कार्यमा रूपान्तरित गर्ने लेनिन, चीनका माओ, भियतनामी नेता हो चि मिन्ह, कोरियाका किम इल सुङ अथवा क्युबाका फिडेल क्यास्त्रोदेखि पूर्र्वी युरोपका तत्कालीन तानाशाहहरुले चलाएको व्यक्ति हत्या र वर्ग दुश्मनका नाउँमा निजी दुश्मनी साँध्न चलाइएका क्रूर अभियानको निरन्तरता एकातिर र अर्कातिर लोकतन्त्रका सार्वभौम मूल्यहरुसहित शान्ति र अहिंसाको राजमार्गलाई एउटै कित्तामा कसरी परिभाषित गर्ने? यद्यपि नेपालको सन्दर्भमा विशिष्ट परिस्थिति हुनसक्छ। पुष्पकमल दाहालले भनेजस्तै गरी विकसित भएका घटनाहरुका आधारमा मात्र हेर्दा शान्ति र हिंसाको संयोजन जस्तो भएको छ। २०६२ को बाह्रबुँदे सहमतिलाई यसै अर्थमा संयोजनकारी दस्तावेज मान्नुपर्ने हुन्छ।

त्यस दिन उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधीले एउटा हिंसात्मक बाटोमा संलग्न व्यक्तिको अहिंसात्मक, शान्तिपूर्ण र लोकतान्त्रिक राजमार्गतर्फको यात्रा  कसरी हुन पुग्यो? भन्ने प्रश्नको उत्तरमा प्रचण्ड निकै भावुक हुँदै सविस्तार उत्तर दिँदै थिए। उनले व्यक्तिगतरूपमा आफूले कहिल्यै पनि हिंसा नगरेकोमात्र भनेनन् यस उमेरसम्म आफूले कसैलाई एक थप्पड नहानेको र आफूलाई पनि कसैले थप्पड नहानेको दाबी गरेका थिए। पुष्पकमल दाहाल वा त्यस समयमा नीति निर्माणमा बसेका केही नेताहरु आफैँले हिंसाको मोर्चा सम्हालेका थिएनन्। धेरैलाई जानकारी भएको विषय हो यो। तर प्रचण्डले आफूले कसैलाई एक थप्पड नहानेको हुनाले आफ्नो मन सारो कोमल रहेको दाबी गरिरहँदा उनले हिंसाको नेतृत्व गरेको र आफ्नै नेतृत्वमा करिब सत्र हजार नेपालीको ज्यान गुमेकोलाई भने अस्वीकार गरेनन्। तर त्यस हिंसाबाट भएको जनधनको अपूरणीय क्षतिलाई लिएर जिम्मेवारी लिने वा आमरूपमा क्षमा याचना गर्न भने उनले सकेका छैनन्। उनीमात्र होइन, उनका हिंसाकालीन मित्र डा. बाबुराम भट्टराई वा मोहन वैद्य वा रामबहादुर थापा आदि कसैले पनि नेपाली जनतासमक्ष उभिएर हिंसाबाट भएको क्षतिका लागि दुःख प्रकट गरेको प्रत्यक्षमा सुनिँदैन।

वस्तुतः हिंसालाई गौरवान्वित गरिरहेसम्म शान्तिको यात्रा सुनिश्चित हँुदेैन। हिंसा र शान्तिका बीचको लयलाई सैद्धान्तिकीकरण गर्ने हो भने हिंसालाई गौरवान्वित गर्ने मोहबाट पूर्व हिंसावादीहरु म्ुाक्त हुनु जरुरी छ। यति भन्दाभन्दै पनि पुष्पकमल दाहालको बेजोड तर्कशक्ति र धाराप्रवाह अभिव्यक्तिले अहिंसाका पक्षमा आफूलाई प्रस्तुत गरेको मान्नुपर्छ। त्यो तर्कशक्तिको प्रयोग शान्तिका पक्षमा , अहिंसाका पक्षमा, लोकतन्त्रका पक्षमा, राष्ट्रिय गौरव र स्वाधीनताका पक्षमा हुनेछ भन्नेमा हामी सबै आशावादी छौं।

अन्त्यमा, यस वर्षको विजयादशमी हाम्रो घरमा प्रवेश गरिसकेको छ। नेपालीहरु शान्तिका साथ आफ्नो श्रमद्वारा आर्जित पसिनाको कमाइबाट आफ्ना घरपरिवारका लागि केही भए पनि खुसी दिने प्रयासमा जुटेका छन्। धेरै टाढादेखि पारिवारिक मिलनका लागि मानिस आफ्नो घर फर्किरहेका छन्। हामी हार्दिक कामना गरौं, सबैका लागि विजयादशमी सुखद् रहोस्।







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...