८ वैशाख २०८१ शनिबार
अन्य

वसन्त ऋतु डाक्ने पर्व

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार वसन्त पञ्चमीको अवसर पारेर बसन्तपुर पुगिन्। हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्याल अभिषेकको हातबाट उनले टीका, माला र फूलप्रसाद ग्रहण गरिन्। परम्परादेखि चलिआएको वसन्त पञ्चमीमा राष्ट्राध्यक्ष एवं सरकार प्रमुख उपस्थित हुन्छन्। सोही परम्परालाई आत्मसाथ गर्दै राष्ट्रपतिलाई त्यहाँ उपस्थित गराइएको हो। सोही अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मान गरिएको थियो। किंवदन्ती अनुसार श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा उनकी प्रेमिका राधा लागेकी थिइन्। राधाको साथमा उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएको मान्यता छ। सो क्रममा कृष्ण भगवान्को आराधना समेत गरेको गरेको धार्मिक प्रसंग छ।

संस्कृतिविद् चुण्डा बज्राचार्यका अनुसार वसन्त पञ्चमीका दिनदेखि वसन्त ऋतु सुरु हुन्छ र रुख–बिरुवामा नयाँ पालुवा पलाउने गरेको छ। यही मान्यतामा साथ लामो समयदेखि वसन्त पञ्चमी मनाउने गरिएको छ। यही दिनदेखि नेवार समुदायमा होली सुरु हुने परम्परा छ। टोल–टोलमा आपसी सद्भाव साट्दै नेवार समुदायका व्यक्तिहरूले होली मनाउने गर्छन्। ‘यो एउटा पर्व डाक्ने, खुसीयाली बाड्ने, उत्सव मनाउने पञ्चमी हो,’ उनले भनिन्, ‘नेवार समुदायमा भोजभतेर तथा उत्सव मनाउने चलन छ। अरु मनोरञ्जनमूलक कार्यक्रम पनि यही दिनदेखि सुरु हुन्छन्।’ उनका अनुसार वसन्त ऋतु सुरु भएपछि शृंगार रसको गीत गाउने चलन छ। यो परम्परा परापूर्वकालदेखि नै चलेको मान्न सकिन्छ। यद्यपी वसन्त पञ्चमीको यकिन इतिहास भने नरहेको बज्राचार्यको भनाइ छ।

किंवदन्ती अनुसार श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा उनकी प्रेमीका राधा लागेकी थिइन्। राधाको साथमा उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएको मान्यता छ।


कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको पनि उपस्थिति थियो। सबैलाई पुजारीले पालैपालो टीका लगाइदिएका थिए। त्यस्तै, गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकद्वय पनि वसन्त श्रवणका लागि हनुमानढोका पुगेका थिए।
पुराण अनुसार श्रीकृष्णले सरस्वतीसँग खुसी भएर उनलाई वरदान दिएका थिए। यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा हुने बूढापाकाको भनाई छ। यो मौसमले लोक जीवनलाई पनि आनन्दमय बनाउने मान्यता छ।
त्यसैगरी वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा उपत्यकाभित्रका विद्यालयमा सरस्वती पूजा गरिएको छ। सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये काठमाडौं उपत्यकामा जय वागेश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुर जिल्लाको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नील सरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लागेको थियो।

प्रकाशित: २८ माघ २०७५ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App