coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

प्रेमील उपहारमय ‘भ्यालेन्टाइन डे’

ललितपुर, जाउलाखेलस्थित आर्चिज ग्यालरीमा ग्रिडिङ कार्ड र गुलाबका फूल सजाइएको थियो। त्यति मात्र होइन, टेडी वियर र अन्य गिफ्टका सामानले ग्यालरी भरिभराउ थियो।

पसलमा गिफ्टका सामान हेर्दै थिइन, प्रिती शाह। आफ्ना प्रेमीको लागि उपहार किन्न आएको उनले बताइन्। उनको हातमा एक जोडी औँठी थियो। यसपालिको भ्यालेन्टाइन डेमा प्रेमीलाई औँठी उपहार दिने उनले सुनाइन्। ‘हामी एक–अर्कालाई मायाको उपहार दिइरहेका हुन्छौं,’ उनी भन्छिन्, ‘उपहार दिन प्रेम दिवस पर्खिनु नै पर्दैन।’

आफूले हरेक सामान दुई वटा किन्ने गरेको उनले सुनाइन्। उनी भन्छिन्, ‘प्रेमीहरूको लागि भ्यालेन्टाइन डे विशेष हो। यसले सम्बन्ध अझै गाढा र सुमधुर हुन्छ।’ भ्यालेन्टाइन डेमा एक–अर्कालाई सप्रराइज दिने योजना रहेको उनले सुनाइन्। हरेक भ्यालेन्टाइन डे मा काठमाडौंबाहिर गएर मनाउने गरेको उनले बताइन्। ‘यसपालीको भ्यालेन्टाइन डेमा बाइकमा बन्दीपुर जाने योजना छ,’ उनले भनिन्।

भ्यालेन्टाइन डे फेब्रुअरी १४ मा मनाइन्छ। रोमका पादरी भ्यालेन्टाइनको मृत्यु भएको दिनको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। भ्यालेन्टाइनले राजाको आदेशविरुद्ध सिपाहीलाई विवाह गर्न सघाएका थिए। त्यही कारण राजाले उनलाई मृत्युदण्ड दिए। त्यसकारण संसारभर भ्यालेन्टाइन डे मनाइन्छ। पछिल्लो समय नेपालमा पनि यो पर्व विशेषरूपमा मनाइने गरिन्छ।

पुल्चोकस्थित योर चोइस गिफ्ट सप सञ्चालन गर्दै आएकी गीता खड्का यो वर्षको भ्यालेन्टाइन डे उपहार मिलाउन व्यस्त थिइन्। भ्यालेन्टाइन डे नजिकिएसँगै प्लास्टिकका गुलाबलगायत उपहारको माग बढेको उनले सुनाइन्। ‘ग्रिडिङ कार्ड, गुलाब, टेडी वियर किन्ने बढेका छन्, यो भ्यालेन्टाइन डेसम्म नै बढिरहन्छ,’ उनले भनिन्। प्रायः कलेज पढ्ने केटाकेटीहरू उपहार किन्न आउने गरेको उनले सुनाइन्। उनी भन्छिन्, ‘भ्यालेन्टाइन डे महिना सुरु भएसँगै उपहार किन्न आउँछन्, कति त के दिनु भनेर सल्लाह माग्ने हुन्छन्। धेरै उपहार दिएर प्रस्ताव गर्नेहरू प्रायः टिनएजका हुन्छन्।’ कार्डमार्फत् प्रस्ताव राख्न सजिलो हुने भएर प्रायः ग्रिडिङ कार्ड अनिवार्य जस्तै रहेको उनले बताइन्।
भ्यालेन्टाइन डेको मौका पारेर अधिकांश प्रेमील जोडीले एक–अर्कालाई विभिन्न उपहार दिएर प्रेम दर्शाउने गरेको पाइन्छ। धेरैले आफूले मनपराएको मान्छेलाई पे्रम प्रस्ताव राख्ने अवसरको रूपमा पनि मनाउने गरेको पाइन्छ।

माया दर्शाउन प्रेम दिवस कुरिरहनु नपर्ने बताउँछन् रोमहर्ष वली। उपहार दिएर माया कहिल्यै नहुने उनको भनाई छ। माया गर्नको लागि भ्यालेन्टाइन डे पर्खिरहनु नपरे पनि सप्रराइज तरिकाले मायालुबाट उपहार पाउँदा खुसीसँगै आत्मियता बढ्ने उनी बताउँछन्। समय, अवसर अनुुसार आफ्नी प्रेमिकालाई प्रायः उपहार दिइरहने उनी बताउँछन्। अन्य बेलामा दिइने उपहार आवश्यकता पूरा गर्ने भए पनि भ्यालेन्टाइन डेको उपहारको महŒव छुट्टै हुने उनले बताए। ‘प्रेमिकालाई प्रायः किताव, लुुगा, चक्लेट, डललगायत सामान उपहार दिने गर्छु,’ उनले भने, ‘उनले पनि मलाई मनपर्ने सामान दिने गर्छिन्।’ भ्यालेन्टाइन डेको साँझ एक–अर्कासँग समय बिताउने योजना रहेको उनले सुनाए।

पाटन दरबार स्क्वायरनजिक रहेको अर्पन गिफ्ट स्टोरमा विदेशीहरूको घुइँचो लाग्ने गरेको छ। स्टोरमा आएका ग्राहक हातले बनाएका उपहार हेर्नमा व्यस्त देखिन्थे। नेपाली समानको प्रयोग गरेर तयार पारिएको डाइरी, नोट बुक, सिङगिङ बेल, नेपालका दृश्यले भरिएको पोस्टर, ल्याम्प लगायतको राम्रो माग रहेको रोशन श्रेष्ठ बताउँछन्। यससँगै नेपाली कागजबाट तयार पारिएका ग्रिडिङ कार्ड पनि ग्राहकले रुचाएको उनको भनाइ छ।

रातो रङलाई प्रेमको प्रतीक मानिन्छ। त्यसकारण पनि भ्यालेन्टाइन डेमा रातो पहिरन लगाउने र रातो कलरको उपहार दिने चलन छ। भ्यालेन्टाइन डेको अवसरमा बजारमा रातो रङका पहिरन राखिएका छन्।

टिसर्टमा प्रेमीको नाम तथा प्रेमील शब्द छाप्ने चलन फस्टाएको व्यापारी बताउँछन्। प्रेम दिवसकै लागि भनेर बजारमा विभिन्न डिजाइनका फेसनेबल लुगाहरू उपलब्ध छन्। तर, आफूले कस्तो लगाउने भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ। भ्यालेन्टाइन डेको लागि भनेर नै फेसनेबल ड्रेस लङ पिस ड्रेस, टु पिस डे«स लगायतका हलुका खालका पहिरनको माग रहेको व्यापारी बताउँछन्।

टाढा रहेको प्रेमील जोडिहरूको लागि इन्टरनेट सहयोगी बनेको छ। एकआपसमा भेट्न नसक्नेहरूले अनलाइन सपिङबाट उपहार आदानप्रदान गर्ने गरेका छन्। अनलाइन सपिङमार्फत् प्रेमिकालाई मनपर्ने उपहार पठाउने चलन ह्वात्तै बढेको बताउँछन् व्यापारी सीताराम रिमाल। उनी भन्छन्, ‘भ्यालेन्टाइन डे सुरु भएसँगै प्रेमी–प्रेमिकाहरूले अनलाइनबाटै गिफ्ट आदान–प्रदान गर्ने गरेका छन्, भेटेर प्रेम प्रकट गर्न नपाउनेको लागि राम्रो विकल्प भएको छ।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App