coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रीपञ्चमीमा सामूहिक व्रतबन्ध

नुवाकोटको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले आइतबार आयोजना गरेको सामूहिक व्रतबन्धमा सहभागी वटुक। तस्बिरः भगवती/नागरिक

नुवाकोट - जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५, देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्षझैं यस वर्ष पनि श्रीपञ्चमीका अवसरमा आइतबार वटुकहरूको सामूहिक व्रतबन्ध गराएको छ। एक सय ७ वटुकको कर्मकाण्ड गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले जानकारी दिए।

उनका अनुसार विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु परम्परा र संस्कृत भाषा संरक्षण गर्न २०५६ सालदेखि सामूहिक व्रतबन्ध गर्ने गरिएको हो। ‘प्रत्येक वटुकबाट विद्यालयले चार हजार रुपैयाँ लिएको छ। पूर्वांग, व्रतबन्ध गराउँदा हुने खर्च, वटुकसँगै आएका अभिभावकका लागि खानाको व्यवस्थासमेत विद्यालयले नै गर्ने गरेको छ। वटुकले लगाउने पोसाक, धोती, टोपी र गन्जी विद्यालयले नै उपलब्ध गराउँछ,’ उनले भने, ‘आर्थिक स्थिति कमजोर भएका परिवारले चलनअनुसार सन्तानहरूको कर्म चलाउन सकिरहेका हुँदैनन्। उनीहरूलाई नै मध्यनजर गरेर सामूहिक व्रतबन्ध आयोजना गर्ने गरेका हौं।’

यो वर्ष वटुकहरूसँग लिएको शुल्कबाट ४ लाख २८ हजार रुपैयाँ संकलन भएको छ। साथै भेटीस्वरूप प्राप्त रकमसमेत एकमुष्ट गरी खर्च कटाएर संस्कृत कक्षा सञ्चालनमा लगाइने विद्यालयका प्रधानाध्यापक हेमप्रसाद अधिकारीले जानकारी दिए। ‘विद्यालयको आर्थिक स्रोत जुटाउने यो वैकल्पिक खोजी पनि हो,’ उनले भने, ‘जिल्लामा संस्कृत पढाइ हुने एकमात्र विद्यालय हो यो। विद्यार्थीलाई धर्म–संस्कृतिका पाठहरू पढाइन्छ। सैद्धान्तिक मात्र नभई व्यावहारिक शिक्षा दिन पनि सामूहिक व्रतबन्धले सहयोग पुर्‍याउँछ। यसमा सबै पक्षको उत्तिकै साथ सहयोग पाइरहेका छौं।’ विद्यालयले आयोजना गर्ने सामूहिक व्रतबन्धले संस्कृतिका नाममा हुने खर्चको बोझ घटाएको बटुकका अभिभावकले बताएका छन्। घरमा गर्दा खर्च धेरै लाग्ने र अनेक थरीको बन्दोबस्ती गर्नुपर्ने तर सामूहिक व्रतबन्धमा सामेल हुँदा आफ्नो सन्तानको कर्म सहज तरिकाले चलाउन पाइएको तारुकाका शिवप्रसाद जमकट्टेलले बताए। उनले भने, ‘सामूहिक रूपमा व्रतबन्ध गराउँदा विधि पुगेन कि भन्ने त लाग्छ तर यहाँको राम्रो व्यवस्थापनले हाम्रो मन जितेको छ।’

आयोजकका अनुसार यस वर्ष ८ देखि २१ वर्षसम्मका वटुकहरूको सामूहिक व्रतबन्ध गरिएको छ। बर्सेनि गरिने सामूहिक व्रतबन्धको लोकप्रियता छिमेकी जिल्लाहरूमा समेत पुगेको छ। यसैकारण यस वर्ष नुवाकोटका साथै धादिङ, रसुवा र काठमाडौंका वटुकसमेत सामूहिक व्रतबन्धमा सहभागी भएको विद्यालयले जनाएको छ। वि.सं.२०५५ मा स्थापना भएको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ। हाल यहाँ आवासीय रूपमा २७ विद्यार्थीले संस्कृत भाषामा अध्ययन गरिरहेका छन्। संस्कृतसँगै अन्य विषयसमेत पढाइने विद्यालयले जनाएको छ।

प्रकाशित: २८ माघ २०७५ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App