बौद्धनाथ क्षेत्र विकास समितिले सामाजिक योगदानका लागि बौद्ध टुसालमा लिएको धर्मशाला डेढ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन। आर्थिकरूपले विपन्न भई विभिन्न स्थानबाट बौदनाथ स्तुपमा आएका भक्तजनहरूलाई राख्ने उद्देश्यले २०७४ असार १६ गते उक्त धर्मशाला राख्नको लागि तीन तलाको भवन समितिले लिएकोे थियो।
समितिका अध्यक्ष राजकुमार लामाले धर्मशाला चलाउनको लागि कार्यविधि संस्कृति तथा पर्यटन उड्डयन मन्त्रालयमार्फत् सचिव नपठाएकोले धर्मशाला सञ्चालनमा ल्याउन नसकिएको बताए। ‘धर्मशाला सञ्चालनको लागि मन्त्रालयमा कार्यविधि पठाएको १२ महिना भयो,’ उनले भने, ‘अहिलेसम्म कुनै प्रतिक्रिया पाएका छैनौँ। सञ्चालनको लागि जिम्मा लिने सचिव नहुँदा समस्या भएको छ। यसमा पहल गरिरहेको छु।
धर्मशाला सञ्चालनको जिम्मा लिने सचिव पाएपछि सञ्चालनमा ल्याउने उनले बताए। ‘होटलमा बस्न नसक्ने बौद्ध दर्शनार्थीलाई राख्नको लागि धर्मशाला खोल्न लागेका थियौँ। मैले मात्रै सञ्चालन गर्न सक्दैन। सरकारको स्वामित्वमा रहेकोले सरकारले नै सञ्चालनको लागि सहयोग गर्नुपर्छ,’ उनले थपे। उनका अनुसार करिब १० आना क्षेत्रफलमा फैलिएको धर्मशाला तीन तलाको छ। अहिले त्यहीको ग्राउन्ड तलामा समितिको कार्यालय सञ्चालन गरिएको छ।
समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामाका अनुसार समितिले पाच करोड १० लाखमा धर्मशाला राख्नको लागि भवन किनेको थियो।
प्रकाशित: २८ माघ २०७५ ०२:५६ सोमबार