७ वैशाख २०८१ शुक्रबार
अर्थ

कम्तीमा चार वर्ष सुरुङ उपयोगहीन

भेरी बबई डाइभर्सनमा सुरुङ खन्ने काममा व्यस्त कामदार। तस्बिर : नागरिक

काठमाडौं – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सनमा निर्माण गरिएको सुरुङ करिब चार वर्ष उपयोगहीन हुने भएको छ।

सरकारी निकायले विकासका आयोजना सञ्चालन गर्दा सही योजना र सरोकारवाला निकायसँग समन्वय गर्न नसक्दा करिब १२ अर्ब रुपैयाँमा निर्माण भइरहेको सुरुङ उपयोगहीन हुने भएको हो। भेरी नदीको पानीलाई सुर्खेतको चिप्लेमा बाँध निर्माण र हात्तीखालमा विद्युत्गृह बनाएर बर्दियाको बबईमा झार्ने योजना छ।

निर्माण भइरहेको १२ किलोमिटर सुरुङ अबको दुई महिनाजतिमा सम्पन्न हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ। अबको दुई महिनाजतिमा सुरुङ निर्माणको काम सम्पन्न हुने भए पनि हेडवक्र्स लगायतको कामका लागि भने विभागले भर्खरै डिजाइनको काम सकेको छ। विभागकी महानिर्देशक सरिता दवाडीले भेरी बबई डाइभर्सनको हेड वक्र्स र विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायतका लागि भर्खरै डिजाइन तयार भएको बताइन्। ‘भर्खरै डिजाइनको काम सकिएकाले अब ठेक्काको प्रक्रिया सुरु गर्दैछौं,’ उनले भनिन्।

स्थानीयले सुरुङ खन्ने र बाँध निर्माणको काम सँगसँगै हुनुपर्ने विगतदेखि नै माग गर्दै आइरहेका थिए। दवाडीले सुरुङ निर्माणको काम सोचेभन्दा छिटो भएकाले हेडवक्र्स लगायतको डिजाइन तयार गर्न केही ढिला भएको बताइन्। यसअघि विभागले अर्को वर्ष सुरुङ निर्माणको काम सकिने योजना बनाएको थियो। सुरुङ निर्माणको काम २०७४ कात्तिकदेखि सुरु भएको थियो।

सुरु गर्दा करिब १६ अर्ब रुपैयाँको लागतमा निर्माण कार्य सक्ने लक्ष्य लिइएको उक्त आयोजनामा अब करिडोरसहित ३३ अर्ब १९ करोड रुपैयाँ लाग्ने गुरुयोजना बनाइएको छ


अब हेडवक्र्ससहित अन्य काम सम्पन्न नहुँदासम्म सुरुङ उपयोगहीन अवस्थामा रहेनछ। कतिपय व्यक्तिले लामो समयसम्म सुरुङ प्रयोगमा नआउँदा क्षतिग्रस्त हुन सक्ने अनुमान गरे पनि विभागका इन्जिनियरहरू भने उपयोगमा नआउँदैमा सुरुङ क्षतिप्रस्त नहुने दाबी गर्छन्।

उक्त आयोजनामा सुरुङ खन्न पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको हो। महानिर्देशक दवाडीले आयोजनाको १२ किलोमिटर लामो सुरुङमध्ये ११ किलोमिटर खनिसकेको र अबको दुई महिनामा सुरुङ ब्रेक थु्र भइसक्ने बताइन्। ‘नेपालमा टिबिएम पहिलोचोटी प्रयोग गरिएकाले अनुभवको केही कमी रह्यो,’ उनले भनिन्, ‘अब निर्माण हुने त्यस्ता ठूला आयोजनामा सुरुङ निर्माण र अन्य काम एकैसाथ सुरु गर्ने योजना बनाउँछौं।’ सुनकोशी–मरिन डाइभर्सन आयोजनामा सुरुङ निर्माण र हेडवक्र्स लगायतको काम एकैसाथ सुरु हुने गरी योजना बनाइने विभागले जनाएको छ। सुनकोशी–मरिन डाइभर्सन अर्को वर्ष सुरु गर्ने योजना छ।

२०६४ देखि सुरु भएको भेरी बबईलाई सरकारले अबको चार वर्षमा सक्ने लक्ष्य लिएको छ। विभागका इन्जिनियरहरू पछिल्लो डिजाइन अनुसार आयोजनाको बाँध निर्माण र अन्य काम सम्पन्न गर्न कम्तीमा चार वर्ष लाग्ने बताउँछन्। सुरुङ खन्दा सर्वसाधारणमा जुन उत्साह थियो, बाँकी निर्माणमा ढिलासुस्ती हुँदा एकातिर सर्वसाधारणले आयोजनाबाट लामो समयपछि प्रतिफल लिन पाउने र अर्कोतर्फ लागत वृद्धि हुनेछ। निर्माण सुरु गर्दा करिब १६ अर्ब रुपैयाँको लाग्ने अनुमान गरिए पनि  अब आयोजनामा करिडोरसहित अब ३३ अर्ब १९ करोड रुपैयाँ लागत लाग्ने गुरुयोजना बनाइएको छ।

भेरी नदीको पानीलाई सुर्खेतको भेरीगंगा–९ चिप्लेदेखि १२ किलोमिटर सुरुङ खनेर बर्दियाको बबईमा झारेर सिँचाइ र विद्युत् निकाल्ने योजना बनाइएको छ। आयोजनाबाट बर्दियाको ३६ र बाँकेको नौ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याइने र ४८ मेगावाट विद्युत् निकाल्ने लक्ष्य छ। सुरुङको गोलाइ ४.६ मिटर छ।  चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले सुरुङ निर्माण गरिरहेको छ। विभागका अनुसार सुरुङ खन्नका लागि टिबिएम चिनियाँ कम्पनी कोभेकले नै खरिद गरेको हो। र, टिबिएमले जति सुरुङ खन्छ, त्यसैको आधारमा भुक्तानीका लागि बिल बन्ने गर्छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कतिपय अधिकारीहरू भेरी नदी साँघुरो भएकाले नयाँ प्रविधि प्रयोग गर्नुपर्ने र स्थानीय भौगोलिकताका आधारमा डिजाइन तयार गर्नुपर्ने सुझाउँछन्।  भेरी नदीको पानी बबईमा मिसाएर खेतीयोग्य जमिनका लागि सिँचाइ र विद्युत् उत्पादन गर्न सकिने भन्दै पहिलो प्रतिवेदन सन् १९८० मा जापानको नियोनकोई कम्पनीले सरकारलाई प्रतिवेदन दिएको थियो। तर, सरकारी ढिलासुस्तीले त्यो प्रतिवेदन कार्यान्वयनमा नआउँदा अहिले त्यसको असर देखिएको हो।  अब भेरीको पानी बबईमा खसाल्न चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गरिने बताइएको छ। सोही स्थानमा १४ मिटर अग्लो र एक सय १४ मिटर लामो ब्यारेज निर्माण गरिनेछ।

प्रकाशित: २८ माघ २०७५ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App