coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

ओखलढुंगा - कक्षा २ मा पढ्ने खुसी राई मानेभन्ज्याङ गाउँपालिका–३ स्थित सानोजुरे आधारभूत विद्यालयमा नियमित आउने एक्ली विद्यार्थी हुन्। उनलाई पढाउने एक्ला शिक्षक हुन् बाबुराम राई। प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका राई चालू शैक्षिक सत्रमा तीनजना भर्ना भए पनि दैनिक विद्यालय आउने खुसी मात्र रहेको सुनाउँछन्।

त्यस क्षेत्रका बालबालिका डेढ घन्टाको पैदलयात्रामा पुगिने केत्तुके र उबुँमा रहेका निजी तथा सामुदायिक विद्यालयमा पढ्छन्। अंग्रेजी विषयको आकर्षणका कारण गाउँका बालबालिका निजी विद्यालयमा पढ्न गएकाले आफ्नो विद्यालयमा विद्यार्थी संख्या घटेको प्रधानाध्यक राई बताउँछन्। विद्यालयमा तीन वर्षदेखि एक शिक्षकको दरबन्दी रिक्त छ। सोही गाउँपलिकाको अर्को विद्यालयका प्रधानाध्यापकका आफन्तलाई त्यस ठाउँमा सरुवा गरी ल्याउन दरबन्दी खाली राखिएकाले नयाँ शिक्षक नियुक्तिको पहल नगरिएको जनाइएको छ। चार शैक्षिक सत्रको अन्तरालमा त्यस विद्यालयको विद्यार्थी संख्या घटेर एक जनामा आइपुगेको हो। कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा शैक्षिक सत्र २०७२ मा सात विद्यार्थी थिए।

यसैगरी मानेभन्ज्याङ–३ आहालेस्थित सन्देश आधारभूत विद्यालयको तथ्यांकमा ७ विद्यार्थी उल्लेख भए पनि सबै नियमित छैनन्। विद्यालयकी शिक्षिका सविता राईका अनुसार कक्षा १ र ३ मा दुई–दुई र कक्षा २ मा तीन विद्यार्थी भर्ना भएका थिए। यस विद्यालयमा एक जना कार्यालय सहयोगी र दुई जना शिक्षिका छन्। त्यस विद्यालय क्षेत्रका बालबालिकालाई पनि नजिकैको गाउँमा सञ्चालित निजी विद्यालयमा भर्ना गर्ने गरिएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्नुको साटो बर्सेनि घट्दो छ। शिक्षा नियमावलीमा पहाडका विद्यालयमा एक शिक्षकबराबर ४५ विद्यार्थी हुनुपर्ने व्यवस्था छ। मानेभन्ज्याङ गाउँपालिकामा रहेका ४५ सामुदायिक विद्यालयमध्ये आधारभूत तहका १२ विद्यालयमा शिक्षकको अनुपातमा विद्यार्थी संख्या न्यून छ।

कक्षा १ देखि ३ सम्मका १२ विद्यालयमा २० जनाभन्दा कम विद्यार्थी छन्। मानेभन्ज्याङ–१ मोलीस्थित ईश्वरी आधारभूत विद्यालय जम्मा ६ जना विद्यार्थी र तीन शिक्षक–कर्मचारी छन्। मोलीकै महाकाली आधारभूत विद्यालय पनि आठ विद्यार्थी मात्र छन्। यहाँ पनि तीन जना शिक्षक कर्मचारी छन्। कृषेपु आधारभूत विद्यालय वाक्सा तथा सिलबन्दी आधारभूत विद्यालयमा १२÷१२ र समाजसेवा आधारभूत विद्यालय जाक्मामा ११ विद्यार्थी छन्।

शिक्षा युवा तथा खेलकुद शाखाको तथ्यांकअनुसार सिद्धस्थान आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालय भालुखोलामा १५ विद्यार्थी छन्। कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक टेकप्रसाद बास्तोलाले दिएको जानकारीअनुसार भर्ना रजिस्टरमा १५ विद्यार्थी संख्या देखिए पनि परीक्षामा १० जना मात्र सहभागी भए। यसका साथै मानेभन्ज्याङ–३ स्थित जानकी आधारभूत विद्यालयमा २० र वडा ६ स्थित दूधकौशिका आधारभूत विद्यालय सोक्माटारमा १९ विद्यार्थी छन्। मानेभन्ज्याङ गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा रहेको तथ्यांकका आधारमा यो संख्या देखिए पनि स्थलगत रूपमा विद्यालयमै पुगेर हेर्ने हो भने अझ विद्यार्थी संख्या कम पाइन सक्ने शाखाका प्रमुख पेशल राई बताउँछन्। अभिभावकहरूमा अंग्रेजीको आकर्षणका कारण निजीमा आफ्ना सन्तानलाई पढाउनु तथा सामुदायिक विद्यालयको खस्कँदो पठनपाठनका कारण विद्यार्थी संख्या घटेको जानकारहरू बताउँछन्। कम विद्यार्थी संख्या भएका विद्यालयहरूको सुधारका लागि मानेभन्ज्याङ्ग गाउँपालिकाले कुनै नीति तथा कार्यक्रम बनाएको पाइँदैन।

गाउँपालिकामा कक्षा १ देखि ३ सम्मका १५, कक्षा १ देखि ५ सम्मका १२, कक्षा १ देखि ८ सम्मका १० वटा आधारभूत तहका विद्यालय सञ्चालनमा छन्। यसका साथै कक्षा १ देखि १० सम्म दुई र कक्षा १ देखी १२ सम्मका ६ माध्यमिक तहका विद्यालय छन्। यसअघि ओखलढुंगामा विद्यार्थी अभावले चारवटा आधारभूत तहका सामुदायिक विद्यालय बन्द भइसकेका छन्।

प्रकाशित: २८ माघ २०७५ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App