७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटनमा राहत, किसानलाई आहत

एबिसी पदमार्ग अन्तर्गत पोथनामा हिउँ खेल्न पुगेको आन्तरिक पर्यटक। तस्बिर  : नागरिक

पोखरा – बाक्लो हिमपातले यस पटक किसानलाई अप्ठेरो पारे पनि ग्रामिण भेगको पर्यटन क्षेत्रमा भने आन्तरिक पाहुनाको घुइँचो लागेको छ। अफसिजनका बेला सुनसान रहेको पर्यटन क्षेत्रमा दुईदिनका लागि भएपनि आन्तरिक पाहुना ग्रामिण भेगमा पुग्दा चहलपहल बढेको थियो। हिउँमा रमाउन एकाएक आन्तरिक पाहुना पर्यटकीय क्षेत्र पुग्दा त्यहाँका व्यवसायीले केही राहत अनुभव गरेका छन्। 

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्ग क्षेत्रका नजिकका गन्तव्यमा हिउँमा रमाउन यो पटक धेरै आन्तरिक पर्यटक पुगेको त्यहाँका व्यवसायीले बताए। हिउँ परेको थाहा पाएपछि धेरै आन्तरिक पर्यटक एबिसी पदमार्ग अन्तर्गतका घान्द्रुक, लान्द्रुक, घोरेपानी, अस्ट्रेलियन बेसक्याम्प, पोथाना भेग घुम्न पुगेका थिए। पाहुना पुग्दा ती भेगका सबैजसो होटल शनिबार आन्तरिक पाहुनाले भरिएको पर्यटन व्यवसायीले जानकारी दिए। 

घान्द्रुकका पर्यटन व्यवसायी किसम गुरुङका अनुसार हिमपातपछि शनिबार राति १० बजेसम्म घान्द्र्रुकमा आन्तरिक पर्यटक उक्लिएका थिए। ‘शनिबार राति झन्डै १० बजेसम्म आन्तरिक पाहुना आउने क्रम जारी थियो। यो पटक हिउँ खेल्न धेरै आन्तरिक पर्यटक घान्द्रुक आएका थिए,’ उनले भने, ‘हिउँले पाहुनालाई गाउँसम्म उकालेको छ।’ उनका अनुसार घान्द्रुकमा राम्रो सेवा दिने झन्डै दुई दर्जन होटल छन्। ती सबै होटलमा एक रातमा झन्डै चार सय पाहुना अट्छन्। हिउँ परेपछि घुम्न पुगेका आन्तरिक पाहुनाले ती होटल भरिएको उनले बताए। घान्द्रुकमा यो पटका बाक्लो हिमपात भएको थियो।

‘अफ सिजनका कारण यो बेला आन्तरिक तथा बाह्य कोही पर्यटक थिएनन्। तर, हिमपातपछि एकाएक आन्तरिक पाहुना गाउँ उक्लेका छन्,’ उनले भने, ‘हिउँ खेल्नका लागि आइतबार दिउँसोसम्म पनि आन्तरिक पर्यटक आउने क्रम थियो।’ माथिल्लो भेगमा बाक्लो हिमपात भएका कारण अझै केही दिन हिउँ पग्लने सम्भावना छैन। त्यसैले पनि आन्तरिक पर्यटकलाई घोरेपानी, पुनहिल, घान्द्रुक जस्ता नजिकका गन्तव्यमा पुग्न सहज भएको उनले बताए। यतिबेला एबिसी क्षेत्रको नजिकका गन्तव्यमा बाक्लो हिउँ परेको र शनिबार बिदाको दिन परेकाले पनि आन्तरिक पाहुना एकाएक गाउँ उक्लेको गुरुङले सुनाए। 

अहिले पोखराबाट मोटरमा सिधै घान्द्रुकसम्म पुग्न सकिन्छ। तीनघन्टामै पोखराबाट गाडीमा घान्द्रुक पुग्न सकिन्छ। हिउँ परेपछि मोटरसाइकल र जिप चढेर युवायुवती भीडभाडका साथ घान्द्रुक पुगेका थिए। ‘हिउँ खेल्न आउने धेरै पाहुना युवा पुस्ताका छन्,’ गुरुङले भने, ‘शनिबार राति घान्दु्रक आएका पाहुना आइतबार दिनभर हिउँमा रमाएका छन्। केही पोखरा फर्के पनि कतिपय घोरेपानी, पुनहिलतिर लागेका छन्।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का घान्द्रुकस्थित संरक्षण अधिकृत कुँइकेलले हिउँमा रमाउन पुग्नेको भीड लागेको बताए। ‘आन्तरिक पर्यटक यो बेला हिउँ खेल्नकै लागि माथि उक्लेका छन्। बजारमा बसेर हिउँको अनुभव गर्न नपाएका युवापुस्ताका लागि यो पटकको हिमपात निकै नै नौलो भयो,’ कुँइकेलले भने, ‘शनिबार बिहानैदेखि आन्तरिक पाहुनाको भीड लाग्यो। आधारशिविर अहिलेका लागि जान नसके पनि तल्लो भेगमा रमाउनेको भीड लागेको छ।’

हिमपातले पर्यटनमा खुसी छाएपछि किसान भने मारमा परेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए। टनेलमा रोपिएको तरकारीमा पनि क्षति पुगेको उनले बताए। उनका अनुसार हिमपातले गर्दा बारीको रोपिएको तरकारीमा अधिक क्षति भएको छ। तरकारीको बोटमा हिउँ थुप्रिएपछि बोटै ढलेको कुवँरले बताए। त्यसबाहेक फूल्ने बेलाको गुँरासको बोटका हाँगा पनि भाच्चिएका छन््। ‘कृषि क्षेत्रमा मात्र झन्डै एक करोड रुपैयाँको क्षति पुगेको छ। पर्यटनमा क्षेत्रमा राहत दिएपनि कृषि क्षेत्रमा भने हिमपातले आहत दिएको छ,’ उनले भने। 

प्रकाशित: २८ माघ २०७५ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App