coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

५३ वर्षपछि डिपिआर

काठमाडौं – धनकुटास्थित बेलहारामा विमानस्थल निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। विमानस्थल निर्माणको चर्चा सुरु भएको ५३ वर्षपछि डिपिआर तयार गरिएको हो। 

नागरिक उड्डयन प्राधिकरणका अनुसार डिपिआरको काम हालै सकिएको छ। ‘हामीले डिपिआर बनाएर इआइएको प्रक्रियामा गएका छौं,’ प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाले भने, ‘इआइएको प्रतिवेदनपछि विमानस्थल निर्माणको कार्य थाल्नेछौं।’ 

बढीमा अबको एक वर्षभित्र विमानस्थल निर्माण थालिने उनले बताए। डिपिआर प्रतिवेदन अनुसार विमानस्थल निर्माणको लागि करिब तीन अर्ब लाग्नेछ। तीनदेखि पाँच वर्षभित्रमा विमानस्थल निर्माण सम्पन्न हुनेछ। उक्त विमानस्थलको धावनमार्ग १३ सय मिटर लामो हुनेछ। विमानस्थलमा एटिआर ४७ लगायत मध्यम स्तरका जहाजले उडान गर्न सक्छन्। धावनमार्ग, पार्किङस्थल, टर्मिनल टावर, स्टाफ क्वार्टर, फ्युल स्टेसन र सुरक्षा निकायका पोस्ट समेत समावेश गरेर डिपिआर बनाइएको प्राधिकरणले जनायो।

धनकुटा जिल्लाका पूर्वसभासद् हेमराज भण्डारीका अनुसार विमानस्थल निर्माणको लागि २०२२ सालमा पहिलोपटक सर्वे भएको थियो। त्यसपछि आफ्नै पहलमा २०६५ मा मात्रै विमानस्थल निर्माणको काम थालिएको भण्डारीले दाबी गरे। २०६८ सालमा विमानस्थलको डिपिआर तयार गरिएको थियो। ‘सानो विमानस्थलको डिपिआर तयार गरिएको थियो,’ उनले भने, ‘हामीले त्यसलाई रोकेर ठूलोको योजना बनायौं।’ सोही अनुसार प्रक्रिया पूरा गरेर हाल ठूलो विमानस्थल बनाउने योजना अनुरुप डिपिआर बनाएको उनको भनाइ छ।

यो विमानस्थल पहाडी क्षेत्रमा भएकामध्ये उत्कृष्ट हुनेछ। यसमा दुवै साइडबाट उडान र अवतरण गर्न सकिनेछ। विमानस्थलको लागि धनकुटामा तीन ठाउँमा सर्भे गर्दा बेलहारा उपयुक्त ठाउँ देखिएको थियो। उक्त ठाउँमा मौसमको पनि कुनै बाधा नरहेको सम्भाव्यता अध्ययनले देखाएको छ।विमानस्थल बनाउँदा झण्डै ६० घर स्थानान्तरण गर्नुपर्नेछ। त्यसको लागि नमुना बस्ती बनाएर ठाउँ सार्ने सहमति भइसकेको उनले बताए। इआइएको प्रतिवेदन आएसँगै बस्ती स्थानान्तरण, मुआब्जा वितरण तथा विमानस्थल ठेक्काको प्रक्रियामा जानेछ।

विमानस्थल निर्माणको लागि आर्थिक वर्ष २०७४/०७५ मा दुई करोड रुपैयाँ विनियोजन भएको थियो। त्यही बजेटबाट डिपिआर तथा इआइएको काम भइरहेको छ। आवश्यक बजेट माग गरेर विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भण्डारीले बताए।  उनका अनुसार विमानस्थल निर्माणको लागि स्थानीय समेत तयार छन्। त्यसको लागि आवश्यक जग्गामा बाली समेत नलगाई बसेका छन्।

विमानस्थल निर्माणपछि धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी पहाडी जिल्लाका स्थानीयले सुविधा पाउनेछन्। यो विमानस्थल विराटनगर विमानस्थलबाट २२, तुम्लिङटार विमानस्थलबाट २४ र भोजपुर विमानस्थलबाट १७ नटिकल माइल टाढा हुनेछ।

प्रकाशित: २८ माघ २०७५ ००:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App