८ वैशाख २०८१ शनिबार
समाज

काष्ठमण्डपको मुलखम्बा उठाइयो

काठमाडौं– काठमाडौं महानगरको पहिचानको रूपमा रहेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणका क्रममा आइतवार काष्ठमण्डपका चार मूलखम्बा उठाउने कार्य सम्पन्न भएको छ। काष्ठमण्डप पुनर्निर्माणमा यो खम्बा उठाउने कार्यलाई सबैभन्दा महत्वपूर्ण कार्यको रुपमा लिइएको छ।

काष्ठमण्डपको प्रमुख अंग भएकाले यो खम्बा उठाउने कार्य आइतवार एक सांस्कृतिक उत्सवका रूपमा सम्पन्न गरिएको थियो। काष्ठमण्डपको काठ सम्बन्धी कार्य भइरहेको कालभैरव क्षेत्रमा तान्त्रिक एवं वैदिक विधिबाट संकल्प पूजा गरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक साथै प्रदेश ३ का सांसद राजेश शाक्यले काष्ठमण्डपका काठ सम्बन्धी कार्य गरिरहेका मुख्य नाइके लक्ष्मीभक्त राजचलालाई सबै खम्बाहरू हस्तान्तरण गरेका थिए। त्यसपछि मुख्य खम्बाहरू बोकेर काष्ठमण्डप क्षेत्रसम्म पु-याइएको थियो।

मुख्य खम्बा उठाउने उक्त कार्यमा काठमाडौं महानगरका सम्पूर्ण जनताको प्रतिनिधिका रूपमा महानगरका ६३ वटा परम्परागत टोलका ज्यापु नायः, १८ वटा बहाल र १८ वटा बहीका चक्रेश्वरहरू लगायत महानगरका सम्पूर्ण जातीय गुठीका नायःहरूको उपस्थिति रहेको थियो। 

साथै काठमाडौं महानगरका जीवित देवीकुमारी, मखनकुमारी, गणेश र भैरव लगायत पञ्चबुद्धलाई पनि कार्यक्रममा उपस्थित गराइएको थियो। कार्यक्रममा काठमाडौंका सांसद लगायत विभिन्न वडाका वडाध्यक्ष र स्थानीय भाषा, धर्म, जातिक्षेत्रका विशिष्ट अगुवाहरूको पनि उत्साहपूर्ण उपस्थिति रहेको थियो। मुख्य खम्बाको संकल्प पूजा हुँदा स्थानीय नेवाः परम्परा अनुसार सहभागी सबैले अक्षेता छर्किने (कीगःतीगु) कार्य पनि गरेका थिए।

काष्ठमण्डपको मूलआधारका रूपमा उठाउनु पर्ने यी चार वटा खम्बामध्ये तीन वटा नयाँ नै बनाइएको थियो भने एउटा पुरानै प्रयोग गरिएको थियो। पुरानो खम्बा वैज्ञानिक परीक्षणबाट प्रयोग गरे पनि हुन्छ भन्ने ठहर भएपछि त्यसलाई पनि प्रयोग गर्ने निर्णय पुनर्निर्माण समितिले गरेको थियो। ती चार वटा खम्बाहरू स्थानीय मरु टोल, तःब्व भिमसेन टोल, ओमबहाल टोल रमखन टोलका स्थानीयवासीले बोकेर लगेका थिए। काष्ठमण्डप महानगरपालिकाका चार वटा वडाहरू (१९, २०, २३ र २४) अन्तर्गत रहेको हुनाले ती चार वटै वडाको प्रतिनिधिका रूपमा चार वटा टोलले बोक्ने कार्य गरिएको थियो। खम्बा बोकेर लैजाँदा परम्परागत नाय्खिं, धाः, धिमे, बाँसुरी रदाफा बाजाका साथ अगाडि बढाइएको थियो।

पुनर्निर्माण समितिका अध्यक्ष शाक्यका अनुसार यो मूलखम्बा उठाई सकेपछि अब काष्ठमण्डपको पहिलो तल्ला बनाउने कार्य आरम्भ हुनेछ। समितिले यही आउँदो असार मसान्त सम्ममा काष्ठमण्डपको पहिलो तल्ला उठाइसक्ने लक्ष्य राखिएको छ।

प्रकाशित: २७ माघ २०७५ १६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App