coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भेनेजुएला प्रकरणमा जिब्राे चिप्लँदा समस्या भयाे : नेता नेपाल

मकवानपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले भेनेजुएला प्रकरणलाई धेरै चर्काउनु उपयुक्त नहुने बताएका छन्। उनले समस्यालाई हल गरेर जानुपर्नेमा जोड दिँदै जिब्रो चिप्लँदा समस्या भएको बताए। उनले भने ‘मिडियामा धेरै बोल्नु हुँदैन, जिब्रो छिटो चल्दा चिप्लेर समस्या भयो।’

आइतबार हेटौंडामा पत्रकारसँग कुरा गर्दै नेता नेपालले कांग्रेसले चुनावमा व्यहोरेको पराजयका कारण निरास भएकाले आन्दोलन गरेको बताउँदै उनले भ्रष्टाचार, वाईडबडी प्रकरण, ३३ किलो सुन, सुशासनबारे कुरा उठाउनु उचित भएको बताए। ‘जायज कुरा सकारात्मक रुपमा उठाउनु ठिकै हो,’ उनले भने, ‘आफ्नो नेताले भ्रष्टाचार गर्दा चुप बस्ने तर अरुले सानो गल्ती गर्दा आकाश पाताल जोड्ने कुरा गर्नु हुँदैन।’

नेता नेपालले मधेशलाई छुट्टै देश बनाउने कुरा कुनैपनि सच्चा नेपालीलाई कहिल्यै स्वीकार्य नहुने बताए। ‘सीके राउतको धारणासँग आमजनताको धारणा पटक्कै मेल खादैन,’ मधेश पुगेर फर्किएका उनले भने, ‘देशभक्त र नेपाली रगत भएकाहरु नेपाल एकतामै एकजुट छन्।’ हिमाल, पहाड, तराई सधैं एकताबद्ध हुँदै आएको बताउँदै उनले थपे, ‘नेपालको अखण्डतामाथि कसैले औँला ठड्याउन खोज्छ भने त्यसलाई नेपाल र नेपालीले कहिल्यै स्वीकार गर्दैन।’ उनले नेपाललाई टुक्र्याउन र कमजोर बनाउन खोज्नेहरु नेपाल आमाको असल सन्तान नभएको तर्क गरे।

फरक प्रसंगमा बोल्दै नेता नेपालले पार्टीभित्र असन्तुष्टी र निरासा फैलिएकाे बताए। ‘पार्टी राम्ररी चलाउन संगठनात्मक निकायहरुलाई चुस्त दुरुस्त हुनुपर्दछ,’ नेतृत्वप्रति लक्षित गर्दै उनले भने, ‘त्यसकाममा धेरै ढिलाई भएकाले कार्यकर्तामा असन्तुष्टी र निरासा फैलिएको छ, अव धेरै ढिलाई गर्ने अनुमती छैन।’

पोलिटब्यूरो र राष्ट्रिय परिषदको गठन, केन्द्रीय सदस्यहरुको कार्यबिभाजन, केन्द्रीय निकायहरु र जनबर्गीय संगठनहरुको एकीकरण चाँडै गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेश कमिटीमा देखिएका समस्या समाधान गर्दै जिल्ला र तल्ला कमिटीहरुको एकीकरण गर्नुपर्ने बताए।

प्रकाशित: २७ माघ २०७५ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App