coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विधागत उत्कृष्टमा दुई टोलीको दाबी

काठमाडौं- सहिद स्मारक ‘बी’ डिभिजन लिगको अधिकांश व्यक्तिगत पुरस्कार शीर्ष दुई टोलीका खेलाडी र प्रशिक्षकले जितेका छन् । अघिल्लो दिन मंगलबार च्यासल युवा क्लबलाई ‘बी’ डिभिजन लिगको च्याम्पियन बनाउने चेतनारायण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । सोही क्लबका राजाबाबु थापा उत्कृष्ट गोलकिपर र चेतन थारु उत्कृष्ट रक्षक भए । यो वर्ष ‘ए’ डिभिजन लिगमा बढुवा हुने अर्को टोली न्युरोड टिम (एनआरटी) का सुशील लामा उत्कृष्ट मिडफिल्डर बने । शीर्ष दुई टोली बाहेक खुमलटारका कप्तान सुरज राउत उत्कृष्ट फरवार्ड छानिए । व्यक्तिगत विधामा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

मंगलबार बाँसबारी युवा क्लबमाथि ५–० को जित निकाल्दै च्यासल च्याम्पियन बनेको थियो । सोही दिन सातदोबाटो युवा क्लबलाई २–० ले हराएर एनआरटीले तीन वर्षपछि ए डिभिजन लिगमा पुनरागमन गरेको हो । २०७० मा विशेष साधारणसभामार्फत व्यवस्थापनका लागि लिएको ऋण तिरेपछि मात्र फुटबलमा फर्कने निर्णय गर्दै एनआरटी ए डिभिजन लिगबाट अलग भएको थियो । फुटबल खेलिरहँदा क्लबको १ करोड ७३ लाख ऋण तिर्न नसकिने ए डिभिजन लिगको पूर्व च्याम्पियन एनआरटीको निष्कर्ष थियो । एन्फाको प्रतियोगिता नियमावलीअनुसार ए डिभिजनमा भाग नलिएपछि एनआरटी स्वतः बी डिभिजनमा घटुवा भएको थियो । २०७० यता पहिलोपटक आयोजित बी डिभिजन लिगबाट नै आठ दशक लामो इतिहास बोकेको एनआरटी बढुवा हुन सफल भएको छ ।

समान २८ अंक जोडेको दुई टोली मध्ये गोलअन्तरका आधारमा च्यासल च्याम्पियन र एनआरटी दोस्रो भएका थिए । १३ खेलमा च्यासलले ९ जित १ बराबरी र ३ खेलमा हार बेहोरेको थियो । २२ गोल गरेको टोलीले ६ गोलको सामना गरेको थियो । एनआरटीले ८ जित, ४ बराबरी र १ खेलमा हार भोगेको  थियो । २४ गोल गरेको एनआरटीले ९ गोल खायो ।

बुधबार बी डिभिजन लिगको समापनका अवसरमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विजेता र उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

च्यासलले ट्रफीसहित ५ लाख र उपविजेता एनआरटीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो टोली रानीपोखरी कर्नर टिम (आरसिटी) ले १ लाख ५० हजार तथा चौथो टोली सातदोबाटो युवा क्लबले ७५ हजार पाए ।

लिगको अन्तिम दिन बुधबार भुवन बस्नेतको ह्याट्रिक मद्दतमा रेलिगसेनमा परिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा सामाजिकले मध्यपुर युथलाई ४–३ ले हराएको छ । पहिलो मिनेटमा गोलको खाता खोलेका भुवनले २४ र ६६ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । टोलीका सुरेश खत्रीले दोस्रो मिनेटमा अर्को गोल गरेका हुन् । मध्यपुरका लागि सविन डंगोलले ३५ औं, यमन राजबाहकले ८६ औं र सन्तोषसिंह ठकुरीले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए ।

भदौ ५ देखि एन्फा कम्प्लेक्स सातदोबाटो र हल्चोकस्थित एपिएफ मैदानमा सञ्चालित लिगमा १४ टोलीको सहभागिता थियो । च्यासल र एनआरटी बढुवा हुँदा महावीर र सामाजिक सी डिभिजनमा घटुवा भएका छन् ।

प्रकाशित: २० आश्विन २०७३ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App