८ वैशाख २०८१ शनिबार
अर्थ

बगरमा केराखेती, लाखौं कमाइ

रौतहट – रौतहटको लालबकैया बगरमा केराखेतीबाट किसानले लाखौं आम्दानी गरिरहेका छन्। २०५० र २०५५ मा आएको दुई ठूला बाढीले लालबकैया नदी किनारका कैयौं बिघा उब्जाउ खेत बगरमा परिणत गरेको थियो। अहिले भने किसानले बगरभरी  केराखेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन्।

२०५० मा आएको विनाशकारी बाढीको समयमा खेतीयोग्य जग्गा कटान गरेपछि जिल्ला सदरमुकाम गौर नगरपालिकाको टिकुलियावासीको विजोग भएको थियो। सबै खेतमा बालुवा भरिएपछि अधिकांश किसान निराश भएका थिए। दुई–तीन वर्षपछि कटान भएको जमिन उकास भए पनि बालुवा नै बालुवा हुँदा कुनै पनि खेती गर्न सकिएको थिएन। जिल्ला कृषि विकास कार्यालयले केरा र परवल खेती गर्न सुझाव दिएपछि बगरमा अहिले सुनजस्तै पहेली देखिएको स्थानीय मनोज सहनीले बताएका छन्।

केराको बोट बाहिरबाट ल्याएर करिब दुई बिघा बलौटे जग्गामा केरा खेती सुरु गरेका किसान सहनीले पहिलो वर्ष मेहनत अनुसारको प्रतिफल पाएको बताउँछन्। सोही ठाउँमा थप दुई बिघा गरेर ०५५ देखि कुल चार बिघामा केरा खेती गर्दै आएको उनले बताए। थोरै मेहनतमा बढी आम्दानी हुने केराखेतीको मुख्य सिजन फागुनदेखि कात्तिकसम्म रहेको बताउँदै सहनीले वर्षमा सबै खर्च कटाएर १५ लाखको आम्दानी हुने बताउँछन्। 

थोरै मेहनतमा बढी आम्दानी हुने केराखेतीको मुख्य सिजन फागुनदेखि कात्तिकसम्म रहेको बताउँदै सहनीले वर्षमा सबै खर्च कटाएर १५ लाखको आम्दानी हुने बताउँछन् । 

मनोज सहनी त प्रतिनिधि पात्र मात्रै हुन्। दर्जनौं किसानले लालबकैया नदीको बगरमा केराखेती गरेर राम्रो आयआर्जन गरिरहेको गौर–४ टिकुलियाका स्थानीयको भनाइ छ। लालबकैया नदी बगरमा रहेको बलौटे जमिनमा धान, गहँु, दलहन लगायत अन्य खेती नहुने भएकाले वडा नं. ४ टिकुलियाका स्थानीय थोरै मेहनतमा केराखेतीबाट मनग्य आम्दानी गरेर जीविकोपार्जन गर्दै आएका छन्। टिकुलियाका चनरदेव सहनी, अनथ सहनी लगायत करिब चार दर्जन किसान बकैया नदीको बगरमा केराखेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन्। उनीहरु केराखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट देखिएका छन्।

बजारको कुनै अभाव नभएको र विभिन्न पर्वमा पनि माग बढ्ने भएकाले केरा बिक्री गर्न सजिलो भएको किसानको भनाइ छ। टिकुलियामा उत्पादन भएको केरा सीमावर्ती क्षेत्रका साथै विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पुग्ने गरेको स्थानीय बताउँछन्। बजारको मागअनुसार केरा उत्पादन अझै गर्न नसकिएको अनथ सहनीको भनाइ छ। बकैयाको बगरमा गुणस्तरीय केरा उत्पादन हुने गरेकाले यसको माग अत्याधिक रहेको किसानको दाबी छ। किसानका खेतमै पुगेर व्यापारी केरा किनेर लैजाने गरेको सहनी बताउँछन्।

प्रकाशित: २७ माघ २०७५ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App