coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

१३ बैंकको नाफा अर्ब नाघ्यो

काठमाडौं - बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको वित्तीय विवरण अनुसार २४ मध्ये १३ वाणिज्य बैंकको खुद नाफा अर्बभन्दा माथि छ। त्यसमध्ये पनि राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको नाफा दुई अर्ब नाघेको छ। ६ नयाँ बैंक एनआइसी एसिया, ग्लोबल आइएमई, एनएमबि, सिद्धार्थ, प्रभु र एसबिआई अर्ब क्लबमा उक्लिएका छन्। सानिमा बैंक अर्ब क्लबमा पुग्न नसके पनि अर्ब क्लबको डिलमा पुगेको छ।

लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरुकोे नाफा भने बढेको पाइएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरुको भनाइ छ। पुस महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुको नाफा बढेको देखिएको हो। उनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नाफा गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्टिय वाणिज्य बैंक, नबिल, इन्भेस्टमेन्ट, नेपाल बैंक, एनआइसी एसिया, एभरेस्ट, हिमालयन, कृषि विकास बैंक, ग्लोबल आइएमई, एनएमबि, सिद्धार्थ, प्रभु र एसबिआई बैंकले अर्बभन्दा बढी नाफा गरेका छन्। अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा कमाउने सूचीको पहिलो नम्बरमा छ। उसले दुई अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले एक अर्ब ७८ करोड नाफा गरेको थियो।

चालु आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार दोस्रो बढी नाफा गर्नेमा नबिल बैंक छ। चालु आवको दोस्रो त्रैमाससम्ममा नबिल बैंकले दुई अर्ब १७ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा उक्त बैंकले एक अर्ब ८३ करोड नाफा गरेको थियो। यसैगरी, तेस्रो बढी नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट बैंक परेको छ। उक्त बैंकले चालु आवको पुस महिनासम्ममा एक अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले एक अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो।

हालसम्म सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार अर्बभन्दा बढी नाफा कमाउनेमा तीनवटा सरकारी स्वामित्वका र बाँकी १० वटा निजी बैंक छन्। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सातवटा बैंकले मात्र नाफा अर्ब पु¥याएका थिए। तर, चालु आर्थिक वर्षको सोही अवधिमा १३ बैंक अर्बभन्दा बढी कमाउन सफल भएका छन्। वित्तीय विवरण सार्वजनिक नगरेका बाँकी चार बैंकमध्ये केहीको नाफा अर्ब कट्ने अनुमान गरिएको छ।

सानिमा बैंक अर्ब क्लबमा नपुगे पनि डिलमा पुगेका छ। चालु आवको पुससम्ममा सानिमा बैंकले ९८ करोड २० लाख रुपैयाँ कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले ८३ करोड पाँच लाख रुपैयाँ नाफा गरेको थियो। अहिलेसम्म सावर्जनिक गरेको वित्तीय विवरण अनुसार सेन्चुरी बैंकको सबैभन्दा कम नाफा देखिएको छ। सबैभन्दा कान्छौ बैंक भएकाले पनि उसको नाफा कम भएको हो। सेन्चुरी बैंकले चालु आवको पुस मसान्तसम्म ५१ करोड ८१ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा ३६ करोड ६३ लाख रुपैयाँ उसले कमाएको थियो।

अन्य बैंक अर्ब क्लबमा पुग्न नसके पनि उच्च नाफा कमाउन सफल छन्। नियमित रुपमा गर्ने कमाइ र रकम फिर्ता (राइट ब्याक) गरेका कारण बैंकको नाफा उल्लेखनीय रुपमा बढेको हो। नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर कायम गर्नुपर्ने बाध्यता र लगानीयोग्य पुँजी कमीका कारण बैंकको नाफामा ठूलो वृद्धि गर्न नसकिएको बैंकरको भनाइ छ।

बिग्रेको ऋण उठेका कारण नाफा बढाउन सकिएको एक बैंकरले बताए। ‘खुद नाफा पनि अघिल्लो वर्षभन्दा बढेको छ,’ उनले भने, ‘सम्भावित जोखिम व्यवस्थाका लागि छुट्ट्याइएको रकम फिर्ता (राइटब्याक), ब्याज आम्दानीलगायतले बैंकको नाफा बढेको हो।’ नियमित कमाइका कारण पनि बैंकको नाफा बढेको छ। बैंकहरुको व्यवसायको आकार बढेकोले नाफा पनि बढेको बैंकरको भनाइ छ। खराब कर्जा उठेपछि बैंकको नाफामा उच्च सुधार भएको उनीहरुले बताए।

यसअघि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा वाणिज्य बैंकको चुक्ता पुँजी चार गुणासम्म पु-याउनुपर्ने प्रावधान ल्याइएको थियो। यस अनुसार धेरैजसो वाणिज्य बैंकहरुले पुुुस महिनाभित्रमै आठ अर्ब पुँजी पु-याइसकेका छन्। पुँजी वृद्धि र त्यही अनुसार लगानी गर्दा बैंकहरुको नाफा पनि बढ्दै गएको छ। नाफा बढाउन बैंकहरुले आक्रामक रुपमा लगानी गर्दैछन्, जसका कारण लगानीयोग्य पुँजी अभाव उनीहरुले खेपिरहेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App