coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोलकतामा ढुवानीकर्ताको हडताल

कोलकाता बन्दरगाहस्थित नेपाली कन्टेनर । तस्बिर : रितेश/नागरिक

वीरगन्ज - ‘कार्गो ह्यान्डलिङ एजेन्ट’ (सिएचए)ले गरेको हडताल स्थगित भएको एक हप्ता नबित्दै नेपाली कार्गो ढुवानी गर्ने कोलकाताका व्यवसायीले हडताल सुरु गरेका छन्। ‘यहाँहरु सबैलाई सूचित गरिन्छ कि शनिबार दिउँसो १ बजे जैनकुन्ज मैदान (कोलकाता) मा बैठक राखिएको छ,’ इन्डो नेपाल ट्रक एन्ड ट्रेलर ओनर्स वेलफेयर एसोसिएसनका अध्यक्ष मनोजकुमार तिवारीद्वारा जारी सूचनामा एसोसिएसनका सदस्यहरुलाई भनिएको छ, ‘उक्त बैठकमा ‘रेल रोको अभियान’ र भागलपुर ब्रिज बन्द हुँदा बाटो परिवर्तन भएको सम्बन्धमा छलफल हुनेछ। जुन गाडी जहाँ छ त्यहीँनिर खडा राखौं, जबसम्म कुनै निर्णय हुँदैन।’ 

एसोसिएसनको घोषणापछि शनिबार दिउँसोदेखि कोलकाताबाट सडकमार्ग हुँदै नेपाल आउन लागेका सबै कार्गो ठप्प भएको छ। ‘अचानक घोषणा भएको यो हडताल बिशुद्ध रुपमा ढुवानी समस्यासँग जोडिएको छ,’ कोलकाताका एक क्लियरिङ एजेन्टले भने, ‘वीरगन्जतिर आउने मार्गमा पर्ने भागलपुर ब्रिजमा लाग्ने जामको कारण नेपाली कार्गोलाई ‘डाइभर्सन’ गरिँदा तीन सय किलोमिटर लामो बाटो अहिले हिँड्नु परिरहेको छ, त्यस्तै उता विराटनगर जाने बाटोमा पर्ने फरक्का ब्रिज मर्मत गर्न लाग्दा समस्या भएको छ।’ 

यसरी वीरगन्ज र विराटनगर दुवै नाकाको लागि कन्टेनर ढुवानीमा यो हडतालले समस्या ल्याएको। यी दुई नाकाबाट नेपालका सबैजसो ‘रोड बैंड कार्गो’ आउने गरेका छन्। एसोसिएसनमार्फत सिएचएले नेपाली कार्गोलाई नियन्त्रण गर्दै आएको र ‘सिएचए’कै मिलोमतोमा यो हडताल गरिएको वीरगन्जका आयातकर्ताले आरोप लगाए। नेपाली आयातकर्ताको प्रतिनिधि भएर कोलकातामा काम गर्दै आएका सिएचएले यसअघि हडताल गरेका थिए। नेपाल–भारतबीचको औपचारिक सहमतिअनुसार आउँदो फागुन ३ देखि कोलकाताबाट ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम’ (इसिटिएस) जडान गरी सिधै कन्टेनर रेलमा लोड गरेर नेपाल पठाउने व्यवस्था लागू हुँदैछ। तेस्रो मुलुकसँगको व्यापारमा नेपाल अब सिधै गन्तव्य हुने भएपछि आफ्नो भूमिका आवश्यक नपर्ने देखेर कोलकातामा रहेका सिएचएले चार दिनसम्म गरेको हडताल भारतीय सरकारी पक्षको पहल र दबाबमा गत सोमबार फिर्ता भएको थियो। 

ढुवानी व्यवसायमा समेत सलग्न तिनै सिएचएले अहिले ढुवानीकर्ताको एसोसिएसनलाई अघि सारेको आयातकर्ताको भनाइ छ। यो हडतालबारे आफूलाई जानकारी नभएको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले बताए। साँझ ६ बजेसम्म ढुवानी व्यवसायीको एसोसिएसनको बैठक जारी रहेको एक सहभागीले बताए।

प्रकाशित: २७ माघ २०७५ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App