coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सुशील र दिवाना सर्वाेत्कृष्ट खेलाडी

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

वीर गणेशमान फाउन्डेसनको आयोजनामा वसन्तपुरस्थित डबलीमा भएको च्याम्पियनसिपअन्तर्गत आआफ्ना तौलसमूहमा स्वर्ण विजेताद्वय सुशील र दिवाना सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। सर्वोत्कृष्ट घोषित भएसँगै बक्सिङको इतिहासमै पहिलो पटक सुशीलले टिभिएस मोटरसाइकल र दिवानाले टिभिएस स्कुटर प्राप्त गरे। दुवैलाई वीर गणेशमान फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रकाशमान सिंह र प्रतियोगिता संयोजक राजीव श्रेष्ठलगायतले पुरस्कृत गर्दै मोटरसाइकल र स्कुटरको साँचो हस्तान्तरण गरेका थिए। सुशीलले पुरुष ४९ केजी तौलसमूह र दिवानाले महिला ४८ केजी तौलसमूहमा स्वर्ण जितेका थिए। 

पुरुषतर्पm उत्कृष्ट सुशीलकै क्लब आर्मी प्रतियोगिताको अन्तिम दिन पुरुषतर्फ टिम च्याम्पियन बन्यो। शनिबार भएका ८ फाइनलमध्ये आर्मीले ५ स्वर्ण जित्दै दुवै महिला र पुरुषको टिम च्याम्पियन उपाधि हासिल गरेको हो। यसअघि शुक्रबार नै महिला टिमले पनि च्याम्पियनको ट्रफी उचालिसकेको छ। शनिबारको पुरुष ४९ केजी तौलसमूहमा आर्मीका सुशीलले एपिएफका प्रदीप महर्जनलाई पराजित गर्दै स्वर्ण पदक जितेका थिए। 

सेमिफाइनलमा पराजित भएका कर्णाली प्रदेशका मोहन गुरुङ र सुदूरपश्चिम प्रदेशका भानु विष्टले कांस्य पदक हात पारे। ५२ केजीमा आर्मीका प्रेम चौधरीले चिरपरिचत प्रतिद्वन्द्वी एपिएफका विक्रम परियारलाई स्तब्ध बनाउँदै स्वर्ण जिते। सोही तौलसमूहमा पुलिसका चन्द्रबहादुर थापा र प्रदेश १ का सुलभराज तुलाधरले संयुक्त रूपमा कांस्य पदकमा चित्त बुझाए। 
आर्मीकै विमल रोकाले ५६ केजीको उपाधि भिडन्तमा एपिएफका पुरन राईलाई स्तब्ध बनाए। प्रदेश २ का गणेश थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दले संयुक्त रूपमा कांस्य पदक जिते। पुलिसका दिनेश श्रेष्ठले ६० केजी तौलसमूहमा आर्मीका एकबहादुर घलेलाई हराउँदै गत एसियाडको छनोटमा बेहोरेको हारको बदलासमेत लिए। 

त्यसै समूहमा प्रदेश ५ का गणेश थापामगर र एपिएफका प्रकाश लिम्बु तेस्रो भए। पुलिसका भूपेन्द्र थापाले एपिएफका सोनाम सार्कीलाई ६४ केजी तौलसमूहको फाइनलमा स्तब्ध बनाउँदै स्वर्ण पदक प्राप्त गरेका छन्। सोही तौलमा आर्मीका सुरेश नेपाली र कर्णाली प्रदेशका इन्द्र सुनारले कांस्य पदकमा चित्त बुझाए। ६९ केजीमा एपिएफका विकास लामाले आर्मीका विष्णुप्रसाद घलेलाई हराउँदै स्वर्ण पदकमा आफ्नो नाम लेखाए। सेमिफाइनलमा पराजित प्रदेश १ का राजेश गुरुङ र प्रदेश ३ का मनीष डंगोल कांस्यमा सीमित भए। पुरुषकै ७५ केजी समूहमा एपिएफका सुमन कार्कीले आर्मीका दीपक श्रेष्ठलाई वाकओभर दिए। 

प्रदेश २ का दिवस गुरुङ र प्रदेश ३ का दिवेश भूमिलाल तेस्रो भए। आर्मीका रवि सुनारले ८१ केजीको फाइनल भिडन्तमा प्रदेश ५ का केशर खत्रीलाई पहिलो राउन्डमा नै नकआउट गर्दै सहजै स्वर्ण पदक आफ्नो बनाए। सुदूरपश्चिम प्रदेशका हिक्मतबहादुर शाही र गण्डकी प्रदेशका सुशन पुन कांस्य प्राप्त गर्न सफल भए। प्रत्येक तौलसमूहका स्वर्ण विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे। वीर गणेशमान फाउन्डेसनको आयोजना तथा माइसको व्यवस्थापनमा माघ २२ देखि २६ गतेसम्म सम्पन्न प्रतियोगितामा विजयी खेलाडीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरे। सर्वोत्कृष्ट घोषित भएसँगै बक्सिङको इतिहासमै पहिलो पटक सुशीलले टिभिएस मोटरसाइकल र दिवानाले टिभिएस स्कुटर प्राप्त गरे। 

प्रकाशित: २७ माघ २०७५ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App