६ वैशाख २०८१ बिहीबार
खेल

नेपालको खराब सुरुआत


काठमाडौं – साफ र ओलम्पिक छनोटको तयारीमा रहेको नेपाली महिला  फुटबल टोलीले भारतमा जारी हिरो गोल्डकपको सुरुआत हारबाट गरेको छ। भारतको उडिसास्थित कलिङ्ग रंगशालामा शनिबार नेपालले म्यानमारसँग ३–० को नतिजा सुम्पिँदै हारबाट प्रतियोगिताको सुरुआत गरेको हो। म्यानमारले खेलको सुरुआतदेखि नै दबाब बनाए पनि गोलकिपर एन्जिला तुम्बाम्पोले केही उत्कृष्ट प्रहार जोगाएपछि नेपाल लज्जापूर्ण हारबाट जोगियो। 

म्यानमारकी किन मो वाइले २ र विन थिङ्गी टुनले १ गोल गरेपछि नेपालको ३–० को हार भने टर्न सकेन। त्यो पराजयसँगै नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीलाई ठूलो झड्का लागेको छ। पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि थप दुई गोल बेहोरेपछि प्रतियोगितमा खराब सुरुआत ग-यो। 

४४औं मिनेटमा म्यानमारकी किनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। त्यसपछि दबाबमा परेको नेपालले खेलमा फर्किन संघर्ष गरे पनि पहिलो हाफमा १–० ले नै पछि प-यो। दोस्रो हाफपछि खेलमा फर्किने लक्ष्य बनाएको नेपालले उल्टै दुई गोल खाएपछि म्यानमारलाई खेल सुम्पियो। 

५२औं मिनेटमा विन थिङ्गीले गोल गरेपछि म्यानमारले २–० को अग्रता बनायो। ७७औं मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानमारले अग्रता तेब्बर बनायो। थप दबाबमा परेको नेपालले त्यसपछिको बाँकी समयमा गोल फर्काउन नसकेपछि ३–० ले स्तब्ध हुनुको विकल्प रहेन। त्यससँगै फिफा वरीयतामा आफूभन्दा ६४औं स्थान माथि रहेको म्यानमारसँग नेपालले  महत्वपूर्ण ३ अंक गुमायो। राउन्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछ। प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन्।

नेपालले दोस्रो खेलमा २८ गते आयोजक भारतको सामना गर्नेछ। साफ र ओलम्पिक छनोटको तयारी स्वरूप भारतले प्रतियोगिताको आयोजना गरेको हो। नेपाली टोलीका प्रशिक्षक हरि खड्काले यस प्रतियोगिताअघि भारतसँगको खेलमा नै साफ च्याम्पियनसिपको वास्तविक तयारी  देखिने बताएका थिए। त्यसैले घरैमा साफको उपाधि जित्ने लक्ष्य बोकेको नेपाली चेलीका लागि यो महत्वपूर्ण मानिएको छ। नेपालले फागुन १ गते इरानसँग खेल्नेछ। नेपाली टिम झापामा ५ दिने क्लोज क्याम्पपछि भारत पुगेको हो। फाइनल खेल फागुन ३ गते हुनेछ। 

 

प्रकाशित: २७ माघ २०७५ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App