coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सडन डेथबाट क्यामरुनी टोली फाइनलमा

हेडिङको लागि संघर्ष गर्दै क्यामरुनी टोली (रातो) का खेलाडी र मनाङ मस्र्याङ्दी क्लबका खेलाडी । तस्बिर : उमेश पुन/नागरिक

पोखरा - लिग च्याम्पियन सिक्नेचर मनाङ मस्र्याङ्दी क्लबको चुनौतीलाई सडन डेथमा पन्छाउँदै पहिलो पटक सहभागी बनेको पाहुना टोली क्यामरुनको डफिन्स फुटबल क्लब परिवार मनकामना केवलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ। शनिबार पोखरा रंगशालामा सडन डेथमा क्यामरुनी टोलीले मनाङलाई ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि निकट पुग्यो। 

निर्धारित समय र थपिएको समयमा १–१ गोलको बराबरीपछि निर्णय पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा पनि ५–५ ले प्रहार गर्दा समान ४–४ गोल हुन पुग्यो। दुवैतर्फबाट १÷१ खेलाडीको पेनाल्टी चुकेपछि निर्णय फेरि सडन डेथतर्फ धकेलियो। सडन डेथमा मनाङका विमल रानाको प्रहार बाहिरिँदा क्यामरुनी टोलीका जो अंगोलोको प्रहार गोलमा परिणत भएपछि टोली फाइनल पुग्यो।

पेनाल्टी सुटआउटमा कप्तान सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ र हेमन्त गुरुङका प्रहार गोलमा परिणत भएपछि मनाङको आशा त्यति बेलासम्म जीवित रह्यो। तर सुरज विकको प्रहार खेर गएपछि केहीबेर टोली खिन्न हुन पुग्यो। क्यामरुनका लागि बिइक बिइक, इकुम, यान्निक ओवोना र गोलकिपर प्रिसो एनडिजान्गाले प्रहार गरे। समान गोलपछि केही उत्साहित बनेको क्यारुमनी टोलीका लागि विभ्लामको प्रहार खेर गएपछि सडन डेथ निश्चित बन्यो। 
क्यामरुनी टोलीले फाइनल निश्चित गर्दा पोखराको मैदानमा १४ वर्षपछि अफ्रिकन टोलीले फाइनल खेल्नेछ। आहा रारा गोल्डकपको तेस्रो संस्करणमा अफ्रिकन युनाइटेडले नेपाल पुलिस क्लबसँग फाइनल खेल्दै उपाधि उचालेको थियो। जुन झल्को आइतबार पोखराको मैदानमा देखिने पक्का छ। 

यसअघि खेलको ६६औं मिनेटमा इकुमको लङपासलाई उरेल इनामेले हानेको हेडिङ गोलमा परिणत भएपछि हिलाम्य मैदानमा क्यामरुनी टोलीले स्पष्ट अग्रता लियो। शारीरिक रूपमा निकै बलिया क्यामरुनी टोलीअघि केही छरितो प्रदर्शन गर्दै सम्हालिएको मनाङले ८०औं मिनेटमा गोल फर्काउँदै आफू उत्कृष्ट रहेको संकेत देखायो। विमल रानाको पासलाई अफ्रिकन खेलाडी ओलावालेको हेडबल गोलमा परिणत भएपछि मनाङले निर्धारित समय बराबरीमा टुंग्याउँदै दर्शकको मनोबल साथमा लिइरह्यो। 

क्यामरुनी टोलीले खेलको २१औं मिनेटमा मनाङविरुद्ध पोस्ट आक्रमण सुरु गरेको थियो। फ्रिकिकलाई ओको बोटाले सीधै मनाङका गोलकिपर विशाल श्रेष्ठकै हातमा पु-याइदिए। टोलीले ३५ औँ मिनेटमा फेरि अर्को आक्रमणको रणनीति बुन्यो। जो अंगोलोले हानेको बल डिफेन्सले क्लियर गर्न नसक्दा रिबाउन्ड भयो। सो बललाई नियोले पावर सट हान्दा बल क्रसबार माथिबाट बाहिरियो। जर्सी जुधेपछि टस हारेको क्यामरुनी टोली पोखराको जर्सीमा मैदान उत्रिएको थियो। 

३८औं मिनेटमा इकुमले पनि हानेको फ्रिकिक मनाङका गोलकिपरकै हातमा पुग्दा पहिलो हाफमा अग्रता लिने अवसर भने क्यामरुनी टोलीले गुमाउन पुग्यो। मनाङ पनि पहिलो हाफमा केही आक्रमण गर्ने अवसरको खोजीमा रह्यो। ३९औं मिनेटमा हेमन्त गुरुङको फ्रिकिक बल अग्ला कदका क्यामरुनी खेलाडीले जम्प गर्दै क्याच गरे। पहिलो हाफको अतिरिक्त समयमा प्रकाश भट्टराईले हानेको क्रस बललाई कप्तान सुजल श्रेष्ठले हेडिङ गर्दा क्रसबार माथिबाट बहिरियो। प्रतियोगिताको फाइनल आज आइतबार क्यामरुनी टोली डफिन्स फुटबल क्लब र सशस्त्र प्रहरी बलबीच हुनेछ।

प्रकाशित: २७ माघ २०७५ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App