coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

प्रधानमन्त्रीलाई पत्र

सम्माननिय प्रधानमन्त्रीज्यू
तपाईँलाई यो दुःखी अभागी जनताको तर्फबाट एउटा पत्र लेख्न लागेँ। खोइ कहाँबाट सुरु गरौँ ? नेपालमा जन्मन पाउनुमा मलाई गर्व लाग्छ किनकि मेरो देश कहिल्यै अरुको कब्जामा रहन पाएन तर अरुको कब्जामा नरहे पनि विकासमा फड्को मार्न सकेको छैन। सन् १९६२ तिर दक्षिण कोरिया र नेपाल आर्थिक हिसाबमा उस्तै थियो रे। तर अहिले दक्षिण कोरिया विश्वकै उदाउँदो अर्थतन्त्र भएको मुलुकमा परेका बेला मेरो देश भ्रष्टाचारीको उदाउँदो मुलुकमा परेछ। भ्रष्टाचारीलाई कहिलेसम्म आरक्षण दिने ?

दुःख लाग्छ प्रधानमन्त्रीज्यू, यहाँ विकास फेरिने होइन, प्रधानमन्त्री फेरिन्छन्। त्यो पनि वर्षैपच्छे। तपाईँको पालामा मात्र होइन, २०४६ पछि विकासको गति शून्य छ। हिजो चप्पल लगाएर सिंहदरबार छिरेका नेता आज एक लाखको जुत्ता पहिरेर विदेश जान्छ। यही हो त परिवर्तन ? मेरो हजुरबुबाले २००७ सालमा पढ्ने गरेको कपुरी ‘क’ मैले पढ्दा पनि परिवर्तन हुँदैन। विश्व टेक्नोलोजीमा यति अगाडि पुगेका बेला हामी यो घोकन्ते शिक्षाको भरमा कतिन्जेल रहने? म २०७१ सालमा काठमाडौँ छिर्दा भाइ काठमाडौँमा १०,००० को जागिर पाइन्छ भन्ने माडवारी दाइ आज पनि मैले जागिर खोज्दा त्यही १०,००० कै कुरा गर्छ। तर त्यतिबेला प्याज २० रुपियाँ केजी हो भन्ने पसले दाइ आज १४० रुपियाँ केजी भन्छ। के यही हो आर्थिक समानता ?

तपाईँ काठमाडाँैमा मोनोरेलको कुरा गर्नुहुन्छ प्रधानमन्त्रीज्यू। तर मेरो गाउँमा अहिलेसम्म सडक र बिजुली पुगेको छैन। नेपाल त काठमाडौँमात्रै हैन होला नि ? सक्नुहुन्छ भने काठमाडौँमा मोनोरेल होइन, मेरो गाउँमा थोत्रो बस पु-याइदिनूस्। मेरो गाउँको टुकी बत्ती हटाइदिनूस्। हो, परिवर्तन नभएको होइन तर सकारात्मक भन्दा नकारात्मक परिवर्तन धेरै भयो। स्वतन्त्रता धेरै भयो प्रधानमन्त्रीज्यू। १० कक्षा पढ्ने मेरी बहिनी सडकमा नाङ्गै हिँड्न थाली। सानो मेरो भाइ बाटोमै मेरैअगाडि दाइ यो मेरो गर्लफ्रेन्डहो भन्दै किस गर्छ। आज दसैंमा भन्दा बढी रौनक त प्रेम दिवसका दिन देख्न पाइन्छ। यही होला संस्कृतिको जगेर्ना। जनै पूर्णिमामा बिदा नदिने सरकार किन दिन्छ क्रिसमस डेमा बिदा?

शिक्षा त कति राम्रो छ मेरो देशमा। ६५.९ प्रतिशत साक्षर जनसंख्या भएको देशमा दिनकै ४ जना दिदी÷बहिनी बलात्कारको सिकार हुन्छन्। कस्तो साक्षरता दर हो यो?अहिले म एउटा सरकारी क्याम्पसमा पढ्छु प्रधानमन्त्रीज्यू, म त्यहाँ शिक्षा लिन होइन दिनकै सयांै जनासँग हात मिलाएर स्वाइन फ्लु जस्तो घातक रोग लिन गएजस्तो लाग्छ। हप्ताको दुई दिन ताला लगाइन्छ क्याम्पसमा। यस्तै हो भने भोलि म पनि नेताभन्दा दोस्रो जनशक्ति बन्न सक्दिन। 
भुटान जस्तो सानो देशमा स्नातक गरेको मान्छे मात्र सांसद हुन्छ तर मेरो देश यस्तो देश हो जहाँ प्रधानमन्त्रीको योग्यतामा प्रश्न उठाइन्छ। अमेरिका जस्तो शक्तिशाली देशमा ५९ वर्षको मान्छे दुई कार्यकाल राष्ट्रपति हुन्छ तर मेरो देशमा ६५ वर्ष नभई प्रधानमन्त्री हुने संभावना नै छैन। के बोली नै नबुझिने बेलासम्म गर्ने हो राजनीति ? प्रधानमन्त्रीज्यू, समावेशी भन्ने शब्दले नि हद नाघ्यो। बोकेको कुकुरले मृग मार्दैन होला नि। जागिर अनुहार हेरेर होइन,योग्यता हेरेर दिने व्यवस्था गर्नूस्। सबै दलित,जनजाति गरिब छैनन् होला नि ? सबै क्षत्री, बाहुन नि धनी छैनन् होला? जातीयताको खुब कुरा उठेको छ। मलाई थाहा छ यो जातीयता भन्ने नै छैन तर यति धेरै बुझ्ने हुँदाहुँदै पनि पनि मैले अस्ति भर्खरै बाहुन दाइले कमिनी केटी बिहे गर्दा गाउँ छाड्नुपरेको पीडा र मैले गाउँमा नै बस्नु भन्न नसकेको पीडा आलै छ। सक्नुहुन्छ भने मलाई (बाहुन) दलित केटीसँग बिहे गरेर मेरै समाजमा बस्ने वातावरण मिलाइदिनूस्। होइन भने के जातीयताको कुरा उठाउनुप-यो ?

केही कुरा सुन्दा नि हाँसो लाग्छ प्रधानमन्त्रीज्यू। जग्गा बाँझो राख्नेलाई जरिवाना रे। मेरो घरमा बुबाको नाममा ९५ रोपनी जग्गा छ। त्यसमा खेती गर्ने हो भने १ लाख रुपियाँ लगानी लाग्छ तर चारजनाको परिवारलाई वर्षभर खान पनि पुग्दैन। बरु जरिवाना तिर्नुभन्दा जग्गा नै सरकारको नाममा गरेर हामी सुकुमबासी हुन तयार छौँ। अर्को कुरा दिनदिनै आन्दोलन भइरहेका छन्। तपाईँकै राजीनामा माग्छन् यहाँ। यस्तो वातावरण बनाइदिनूस् कि जहाँ आन्दोलन नै गर्न नपरोस्।त्यति हुँदा नि तपाईँको राजीनामा मागेर आन्दोलन भयो भने अनि दमन गरेर साम्य पार्न पनि सुहाउँछ।

यति धेरै कुरा छन् हजुरको सामु पोख्नलाई।जुन यो पत्रमालेखेर साध्य हुन्न, २–४ दिनै लाग्छ भट्याउन। तपाईँको साक्षर जनशक्ति अझ भनौँ दक्ष जनशक्ति भएर पनि बेरोजगारी बस्नुपरेको पीडा हो यो। तपाईँलाई त थाहा छ नि प्रधानमन्त्रीज्यू, देशको समस्या। भोलि आउने सन्ततिले हाम्रो जस्तोपीडा भोग्न नपरोस्। देशको आमूल परिवर्तन भएको हेर्न पाउँ। मेरो गाउँमात्र होइन, देशै उज्यालो भएको हेर्न पाउँ। छिमेकीको गिद्दे नजर अन्त्य  गर्दिनु। बरु नाकाबन्दी होस्, पानीमात्र पिउँला तर नझुक्नूस्। यो वीर गोर्खालीको छोरो हो भन्ने देखाइदिनूस्। 
सुशील ढुंगेल
काठमाडौँ

 

प्रकाशित: २७ माघ २०७५ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App