मानिसलाई कहिलेकाहीँ चिन्ता पर्छ। सुर्ता हुन्छ। कहिलेकाहीँ मानिसका मनमा अनेक कुराहरू पनि खेल्छ। काम नबन्दा, काम बिग्रिँदा तथा समस्या आईपर्दा टेन्सन पनि हुन्छ। कहिलेकाहीँ मानिसलाई अचानक बैचनी हुन्छ। आफ्नो मनोआकांक्षा पूरा नहँुदा मानिस बेलाबेलामा हतास, उदास र खिन्न पनि हुन्छ। त्यस्तो अवस्थामा उसलाई कसैसँग बोल्न मन लाग्दैन, हाँसखेल गर्न रुचि लाग्दैन, भोकप्यास तथा निद्रा पनि लाग्दैन। सामान्यतया हरेक मानिसको जीवनमा बेलाबेलामा यस्ता लक्षण आउँछन्। र, केही समयपछि आफैँ हराएर जान्छन् पनि। तर, कतिपय मानिसहरूमा यस्ता लक्षण लामो समयसम्म रहिरहन्छन्। जसले गर्दा व्यक्तिको दैनिक क्रियाकलापमा नै प्रत्यक्षरूपमा असर पुग्छ। व्यक्तिले ठीक ढंगबाट आफ्नो दैनिक कार्यसमेत गर्न सक्दैन।
कतिपय मानिसको मन यति विक्षिप्त हुन्छ कि ऊ अर्धचेतमा कराउँदै र बर्बराउँदै सडकमा नांगै हिँड्छ। आफँैसँग कुरा गर्छ, एक्लै हाँस्छ, एक्लै रुन्छ। उसले अनौठा–अनौठा आवाज सुन्छ। आफूलाई म भगवान् हुँ पनि भन्छ। समाजमा यस्ता मानिस पनि धेरैले देखेको हुनुपर्छ। मानिसमा देखिने यस्ता लक्षणहरूलाई मनोविज्ञानले मानिसको असमान्य मनोविज्ञान भन्छ भने साइकाइट्रीले बिना ब्लड टेस्ट, बिना एक्सरे तथा बिनामस्तिष्क परीक्षण अनुमानको भरमा नै मस्तिष्क रसायन असन्तुलन भन्छ। र, सोहीअनुसार औषधीय उपचार अघि बढाउँछ। यहीँनिरबाट नै मस्तिष्क रसायन असन्तुलनका नाममा मानसिक रोगको व्यापार सुरु हुन्छ।
डायोग्नोस्टिक एन्ड स्टास्टिकल म्यानुअल अप मेन्टल डिसअर्डर(डिसिएम) नै मानसिक रोगको व्यापारको प्लेटफर्म बन्न गएको कतिपय प्रसिद्ध मनोचिकित्सकहरूको आरोप छ। हुन पनि विगत ७० वर्षदेखि डिसिएमले दिन प्रतिदिन नयाँ–नयाँ रोमाञ्चक मानसिक रोगहरू जन्माउने तथा पुरानो रोगहरूलाई नयाँ आकर्षक ब्रान्ड दिई बजारमा भित्र्याउने गरेको देखिन्छ। अनि बिग फार्मा कम्पनीहरूले सोहीबमोजिम औषधिहरू बनाउने र चिकित्सकहरूले व्यक्तिमा माथिका कुनै लक्षणहरू देखिनासाथ डिसिएमअनुसार मानसिक रोगको लेबल लगाई झोलाभरि औषधि पेल्ने गरेको कुरा आज लुकाउन खोजेर पनि लुक्न सकेको छैन। डिसिएम र बिग फार्माहरू बीचको यस्तो साँठगाँठले गर्दा मानसिक रोगको व्यापार तीव्र गतिमा ‘विस्तार र विकास’ भइरहेको छ।
पछिल्लो अध्ययनअनुसार अहिले साइकाइट्रिक मेडिसिनको वार्षिक व्यापार ३३० बिलियन डलर अर्थात् ३६७ खर्ब ५२ अर्ब १० करोड भन्दा माथि पुगेको छ। तर मानिसहरूको मानसिक समस्या भने झनै बढेर पहाड भएको छ। प्रा.डा. पिटर गट्स्चेले आफ्नो एक अध्ययनमा भनेका छन्, अमेरिका र युरोपमा मात्र हरेक वर्ष ६५ वर्षमाथिका ५ लाख मानिसहरू साइकाइट्रिक औषधिका कारण मर्ने गरेका छन्। यसबाट प्रस्ट हुन्छ कि हृदय रोग तथा क्यान्सरपछि मृत्युको तेस्रो कारण साइकाइट्रिक औषधि हो। यसको अतिरिक्त साइकाइट्रिक औषधिका कारण हरेक वर्ष १० लाख मानिसहरू विकलांग हुने गरेका छन्। साइकाइट्रीको यस्तो भयंकर डरलाग्दो रूप देखेर नै सिटिजन्स कमिसन अफ हुमन राइट्स, सिसिएचआरले साइकाइट्रीलाई मृत्युको उद्योग भनेको छ र सर्वसाधारणलाई साइकाइट्रीको असली रूप देखाउन अमेरिकाको लस एंजिलस, हलिउडमा साइकाइट्रीः अ इन्डस्ट्री अफ डेथ नामक म्युजियम नै स्थापना गरेको छ। सो म्युजियममा साइकाइट्रिक औषधिहरूद्वारा को–को मानिस कसरी मारिए भन्ने फोटो प्रदर्शनीसमेत गरिएको छ। साइकाइट्रीका पायोनियर मानिने डा. बेन्जामिन रसले सुझाएअनुसार ब्लडलेटिङ टेक्निकबाट अमेरिकाका राष्ट्रपिता जर्ज वासिंगटनको हत्या भएको कुरा समेत त्यहाँ उल्लेख छ। यसका अतिरिक्त यस म्युजियममा मानसिक रोग उपचारका नाममा हुने गरेका यातनाका भयावह तस्बिरहरू समेत प्रर्दशन गरिएको छ। जसले हरेक अवलोकनकर्ताहरूलाई स्तब्ध बनाउँछ।
मनोवैज्ञानिक डा. डेविड रोजन्हेनले एउटा अध्ययनले मानसिक अस्पतालले को मानसिक रोगी हो वा को मानसिक रोगी होइन भन्ने कुरा छुट्टाउन नसकेको निचोड निकाल्दै मानसिक रोगको निदानमाथि नै प्रश्न चिन्ह खडा गरेको छ। साइकाइट्री यहीँनिर नै चिप्लिएको छ। साइकाइट्रीले अहिलेसम्म मनको अस्तित्वलाई स्वीकारेको छैन। साइकाइट्रीको नजरमा माइन्ड (मन) भन्नु र ब्रेन (मस्तिष्क) भन्नु एउटै कुरा हो। तर मनोवैज्ञानिक यथार्थ के हो भने मानिसको मन र मस्तिष्क एउटै कुरा होइन, फरक फरक कुरा हुन्। मस्तिष्क शरीरको एक प्रमुख भौतिक अंग हो भने मन भौतिक अंग होइन। मन मस्तिष्क जस्तो दृश्य पनि छैन। मन अदृश्य छ। जहाँ मस्तिष्कको सम्बन्ध भौतिक शरीरसँग छ भने मनको सम्बन्ध मानसिक शरीरसँग छ। यहाँ उल्लेखनीय कुरा के भने मनको रोगलाई मानसिक रोग भनिन्छ (मानसिक रोग भन्नु पनि ठीक छैन, मानसिक समस्या भन्न ठीक हुन्छ) भने मस्तिष्क (स्नायुप्रणाली)को रोगलाई स्नायुरोग भनिन्छ।हो, स्नायुप्रणालीका रोगहरूको उपचारका लागि औषधिहरू आवश्यक पर्न सक्छ। तर मनका समस्याहरू समायोजन गर्न औषधिको आवश्यता पर्दैन। औषधिले काम पनि गर्दैन। के मानसिकको दुःख हटाउने कुनै औषधि छ ? के कुनै औषधिले मानसिको डर हटाउन सक्छ ? के कुनै औषधिले पारिवारिक तथा सामाजिक मनमुटाव तथा झैँझगडा मिलाउन सक्छ ? वास्तवमा मानिसको मानसिक समस्याहरू हटाउन मनको उपचार आवश्यक छ। तर साइकाइट्रीले मनको उपचार होइन, मस्तिष्कको उपचार गर्दै आएको छ। उपचारको नाउँमा साइकाइट्रिक औषधिहरू दिएर गाँजा, चरेस तथा हिरोइनले जस्तै मानिसलाई एडिक्ट बनाउने गरेको छ। परिणामस्वरूपमा साइकाइट्रिक ड्रग्सले मानिसको मस्तिष्क तथा शरीरमाथि कुप्रभाव पारेको छ। अकालमा मान्छे मार्ने काम गरेको छ। साइकाइट्रीको तस्बिर यति छर्लंग हुँदा पनि आर्थिक तथा राजनीतिकरूपमा शक्तिशाली बिग फार्मा कम्पनीहरूका अगाडि एन्टिसाइकाइट्री आन्दोलन दबेकै दब्यै छ। यो नै मानसिक स्वास्थ्य क्षेत्रका लागि विडम्बना हो भने मानसिक रोगका व्यापारीहरूका लागि मालामाल।
साइकाइट्री औषधिको फाइदा एकदमै न्यून छ, तर बेफाइदाहरू कहालीलाग्दो छ। त्यसैले अत्यावश्यक केही औषधिबाहेक लगभग सबै साइकाइट्री औषधिहरू बन्द गर्नुपर्ने र साइकाइट्रीलाई पुनर्संरचना गर्नुपर्ने डा. पिटर आर. ब्रेगिनजस्ता मनोचिकित्सकहरूको सुझाव छ। होइन भने मानसिक रोगको व्यापार यसरी नै बढ्ने छ, साइकाइट्रिक औषधिका कारण मानिस मारिने र विकलांग हुने क्रम झनै बढेर जाने छ र निकट भविष्यमा नै संसारका हरेक मानिस साइकाइट्रिक औषधिको नियमित उपभोक्ता बन्ने पक्का छ। (लेखक मनोविद् हुन्)
प्रकाशित: २७ माघ २०७५ ०२:३८ आइतबार