coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दाताको पर्खाइमा मिर्गाैलापीडित

दुवै मिर्गाैल फेल भएर थला परेका धादिङ नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटका सुर्जेन तामाङ  र  दिदी आइतीमायाका साथ

धादिङ - चार वर्षदेखि दुवै मिर्गाैल फेल भएर पीडित धादिङ नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट, पात्लेका २७ वर्षीय सुर्जेन तामाङ थला परेका छन्। २०७१ साल फागुनमा एक्कासी घरकै आँगनमा ढलेपछि उपचारका लागि अस्पताल जाँदा दुवै मिर्गौला फेल भएको चिकित्सकहरुले बताएका थिए। अहिले उनी उपचारकै क्रममा छन्।

चार वर्षको अन्तरालमा १६ लाखभन्दा बढी खर्च भइसकेको छ। आर्थिक अवस्था कमजोर र आर्थिक उपार्जनको बाटो कम हुँदा अहिले उपचारमा समस्या भएको उनले बताए। भारतको बनारस अस्पतालमा तामाङको दुवै मिर्गौला काम नलाग्ने गरी बिग्रिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उपचारमा धेरै खर्चिलो हुने अस्पतालले सिफारिस गरेको छ। कसैले उपचार खर्च जुटाइदिए अलि दिन बाँच्ने आशा रहेको तामाङले बताए।

‘सम्पत्तिका नाममा गाउँमा रहेको एउटा सानो घर र पाखो बारी मात्रै छ’, तामाङले भने, ‘कसैले मिर्गौला दिएमा करिब ८ देखि १० लाख रुपैयाँसम्म लाग्ने डाक्टरले बताएका छन्।’ अस्पताल प्रशासनले भनेजति रकम जुटाउन उनलाई मुस्किल छ। परिवारले आफूसँग भएका जायजेथा बेचेर उपचारमा लागि खर्च गरिसकेका छन्। गाउँबाट खोजेर ल्याएको ऋणसमेत सकिएपछि भने आर्थिक अवस्थाकै कारण बचाउन नसकिने हो कि भन्ने चिन्ताले परिवारलाई सताएको छ। हाल दिदीसँग नीलकण्ठ नगरपालिका–४ मा बस्दै आइरहेका तामाङलाई प्रत्येक महिना ५० हजार डाइलेसिसका लागि खर्च गर्नुपर्ने हुन्छ। हिँडडुल गर्नसमेत नसक्ने उनी उपचारको खोजीमा छटपटाइरहेका छन्।

गाउँमै ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनका आमाबुबा छोराको उपचारमा भाैँतारिरहेका छन्। भाइ बचाउने सपना बोकेर हिँडेकी दिदी आइतीमायालाई उपचार खर्च जुटाउने पिरलो छ। उनले भनिन्, ‘भाइको उपचारमा लाग्ने खर्च जुटाउन सकुँला जस्तो छैन। भाइलार्ई बचाउन पाए हुन्थ्यो।’गाँउकै स्थानीय स्कुलमा कक्षा १० मा पढेर कामको सिलसिलामा चार वर्ष भारत काम गरेर घर फर्किएलगत्तै उनी आँगनमै ढलेका थिए। सुरुमा उनलाई वीर अस्पतालमा उपचारका लागि लगिएको थियो। ढलेको नौ दिनपछि होसमा आएको तामाङले बताए।
 

प्रकाशित: २७ माघ २०७५ ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App