coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धमाधम ‘कोसी कोरिडर’ निर्माण

पाँचथरको हिलिहाङ गाउँपालिकाको माझिटारस्थित कोसी कोरिडर सडक। तस्बिर :गिरिराज/नागरिक

पाँचथर - पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने दु्रतसडक मार्गका रुपमा लिइएको ‘कोसी कोरिडर’ को काम धमाधम अघि बढेको छ। पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्म तमोर र कोसी नदी तिरैतिर १ सय ४८ किलोमिटर डबल लेनको बाटो बनाउने कामले तीव्रता पाएको हो।

६ अर्ब १५ करोड १४ लाख रुपैयाँ लागतमा सात प्योकजमा सडक ठेक्का लागेको थियो। पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटाका बासिन्दालाई तराई पुग्न सहज मार्गका रुपमा यसलाई लिइएको छ। ‘कोसी कोरिडर सडक विस्तार योजना–२’ अन्तर्गत मध्यपहाडी लोकमार्ग आयोजनामार्फत यो सडकको काम अघि बढेको हो। कतै ट्र-याक खन्ने त कतै स्तरोन्नतिको काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ। हालसम्म २२ प्रतिशत काम सकिएको आयोजना प्रमुख अभिमान मुल्मीले जानकारी दिए।

‘पूर्वी पहाडबाट तराई र काठमाडौं जोड्ने छिटो बाटोको रुपमा यसलाई लिइएको छ। काम धमाधम अघि बढेको छ। निर्धारित समयमै काम सकिनेमा आशावादी छौं’, मुल्मीले भने, ‘अहिलेसम्म ठेकेदारहरुले राम्रै काम गरेका छन्। स्थानीय स्तरमा पनि उत्साह देखिन्छ। यो सडक बनेपछि यातायतमा सहजतामात्र हैन व्यापार–व्यवसायमा पनि राहत पुग्छ।’ सडक निर्माण गर्दा करिब ४० प्रतिशत पुरानो ट्र-याकलाई प्रयोग गरिने बताइएको छ। फराकिलो सडक बन्न थालेपछि आसपासका बासिन्दा पनि उत्साहित देखिन्छन्।

३० महिनामा काम सक्ने गरी ठेक्का लागेको हो। पाँच प्योकजको गत वर्ष फागुन र दुई प्याकेजको वैशाखमा ठेक्का सम्झौता भएको थियो। पहिलो प्याकेज रसुवा/टुडी जेबी, दोस्रो प्याकेज श्रेष्ठ/एफएक्स/थेगिम, तेस्रो प्याकेज लामा÷पिएस÷विरुवा र चौथो प्याकेजअन्तर्गत रौताहा÷सन्तोषी जेबीले काम गरिरहेका छन्। यसैगरी पाचौं प्याकेज शर्मा एन्ड कम्पनी, छैटौं प्याकेज कालिका÷थोदुङ÷महालक्ष्मी जेभी र सातौं प्याकेजको ठेक्का रौताहा÷ सन्तोषी जेभीले पाएका छन्।

यसरी भयो सडक परिकल्पना
पूर्वी पहाडलाई छोटो बाटोबाट तराईका जिल्ला जोड्ने गरी कोसी कोरिडरको परिकल्पना भएको हो। मध्यपहाडी लोकमार्गलाई छोट्याउने सडकको रुपमा यसलाई विकास गरिएको छ। चिनसँगको सिमाना ताप्लेजुङको ओलाङ्चुङगोलाको तिप्तलादेखि मूलघाटसम्म जोड्ने उत्तर दक्षिण लोकमार्गअन्तर्गतको सडकलाई सुनसरीको चतरादेखि पाँचथरको गणेशचोकसम्मा मध्यपहाडी लोकमार्गसँग जोड्ने गरी कोसी कोरिडर अघि बढाइएको हो। यो सामरीक महत्वको सडक भएको धनकुटाका पूर्वसांसद हेमराज भण्डारी बताउँछन्। ‘नागरिकको आर्थिक स्तर उकास्नदेखि लिएर तराईसँग पहाड जोड्ने छोटो सडकको रुपमा कोसी कोरिडरको परिकल्पना गरिएको होे। २०६५ सालमा चार जिल्लाका १७ जना माननीय भएर सरकारलाई दबाब दियौं’, भण्डारीले भने, ‘यो सडकले आर्थिक, पर्यटकीय महत्व बोकेको छ।’

छोटो सडक
यो सडक तराई जोड्न छोटो मानिन्छ। सडक बनेपछि फिदिमबाट एकै दिनमा विराटनगर, इटहरी पुगेर फर्किन मिल्छ। चीन–भारत जोड्ने छोटो सडकको रुपमा समेत यसलाई लिइन्छ। चीनको तिम्पतलादेखि रानी भन्सारसम्म करिब २ सय ८० किलोमिटर जोडिने इन्जिनियर कुबेर नेपालीले जानकारी दिए। चार जिल्लाकै सदरमुकामदेखि यो सडक नजिक भएको उनको भनाइ छ। यो सडक पाँचथरको गणेशचोकबाट सुभाङखोला, माझिटार, रानीगाँउ, स्याबरुम्बा, आङ्ना मौवा हुँदै धनकुटा जोडिन्छ। धनकुटाको चौबिसे, साधुरे, मूलघाट, त्रिवेणी हुँदै चतरा पुग्छ। गडतिर आसपासका बासिन्दाले बढी राहत पाउने बताइन्छ। यो सडकलाई काठमांडौंसम्म जोड्ने वैकल्पिक राजमार्गको रुपमा यसलाई विकास गर्न खोजिएको छ। यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छोटो बाटोका रुपमा कोसी कारिडोरलाई रोजिएको हो। निकै ठूलो बजेट भएकाले राम्रो काम हुने जनस्तरमा अपेक्षा छ। धनकुटाको मूलघाटदेखि सुभाङ खोलसम्मको तमोर कोरिडरको बाटो कोसी कोरिडरमा समायोजन गरिएको छ। यो सडक जोडिए पनि ताप्लेजुङ र पाँचथरवासीलाई तराई झर्न छिटो हुनेछ। अहिले पाँचथर सदरमुकाम फिदिमदेखि झापाको चारआलीसम्म १३९ किलोमिटर र चारआलीदेखि इटहरीसम्म ८१ किलोमिटर दुरी छ। यो दुरी पार गर्न करिब ८ घण्टा लाग्छ। तर यो करिडोरको बाटो बनेपछि ३ घण्टामा इटहरी पुग्न सकिने स्थानीयको भनाइ छ।

आर्थिक सम्बन्ध
यो सडकले आर्थिक विकासमा महŒपूर्ण योगदान दिने पूर्वसांसद भण्डारीको भनाइ छ। यसबाट कृषिसँगै पर्यटन तथा बजारीकरणमा योगदान पुग्ने उनको विश्वास छ। गडतिरको आर्थिक समृद्धिमा पनि योगदान पुग्ने उनले बताए। कृषि उपज निर्यात तथा औद्योगीकरणलाई समेत योगदान गर्ने बताइन्छ। तराई झर्न सजिलोभात्र नभई यो क्षेत्रको समृद्धिमा समेत योगदान पुग्न्ने हिलिहाङ गाउँपालिकाका बासिन्दा तथा जिल्ला सहकारी संघ पाँचथरका अध्यक्ष इन्द्रनारायण ढकाल बताउँछन्। यसले व्यापार–व्यवसायमा सहजता ताथ स्थानीय उत्पादन बिक्रीमा सहयोग पुग्ने उनको भनाइ छ।

‘यातायात सुविधाका साथै उद्योग, व्यापारमा योगदान पुग्ने देखिन्छ’ पाँचथरको तुम्बेवा गाउँपालिकाका प्रमुख होमनाथ थाापाले भने, ‘यसबाट पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने छ।

प्रकाशित: २७ माघ २०७५ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App