८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय तह बलियो पार्नुपर्छ : डा. भट्टराई

नुवाकोट – नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकलाई देश संघीयतामा गएको आभाष दिलाउन स्थानीय तहलाई बलियो पार्नुपर्ने बताएका छन्। ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ भन्ने अवधारणासहित नुवाकोट आएका पूर्वप्रधानमन्त्री भट्टराईले दुई दशकसम्म नेतृत्वविहीन भएको स्थानीय तहले जनप्रतिनिधि पाएकाले त्यसलाई नागरिकको नजिकको सरकार बनाउन प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई सघाउनुुपर्ने उनले बताए।

‘संघको अधिकार प्रदेशलाई र प्रदेशको अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गर्दै लोकतन्त्रको जग बलियो बनाउने लक्ष्य सफल हुन सकिरहेको छैन। स्थानीय सरकारलाई अधिकार नदिएर संघीय सरकारको अधिकारमा नै हामी रुमल्लिरहेका छौँ,’ उनले भने, ‘सिंहदरबार गाउँगाउँमा भनेर जति कुर्लिए पनि नागरिकले सेवासुविधा गाउँबाट नै प्राप्त गर्न नसक्दा सरकारप्रति अविश्वास बढ्दै गएको छ।’ देशको लागि त्याग र बलिदान दिएका व्यक्तिहरू सरकारमा भए पनि सोचे जति उपलब्धि हुन नसकेको उनको भनाइ थियो।

‘पहिले जेलनेल जान, दुःख कष्ट व्यहोर्न र पुरानो व्यवस्था भत्काउन शक्ति प्रदर्शनले सकिन्थ्यो तर विकास र समृद्धि ल्याउन छुट्टै खाकाको आवश्यक पर्छ। खाका निर्माणसँगै कार्यान्वयनतर्फ लाग्नुपर्छ। अर्थशास्त्र र समाजशास्त्रको नियमअनुसार चल्नुसक्नुपर्छ, डा. भट्टराईले भने, ‘विकास निर्माणको काममा राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशको व्यापक विश्लेषण गरेर लगानी गर्नुपर्नेमा सरकार चुकेको छ। सरकारले प्रयास त गरेको छ तर परिणाम शून्य छ।’

पहाडमा जनसङ्ख्या घट्दै र कृषि अर्थत्रन्त्रमा ह्रास हुदै जान थालेपछि गाउँमा मानिसलाई टिकाउन र विकासको प्रत्याभूति दिलाउन मध्यपहाडी लोकमार्गको परिकल्पना गरिएको उनले बताए। पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको मध्यपहाडी लोकमार्गको निर्माण कार्यको अवलोकनसँगै स्थानीय तहको समस्या र संभावना, विकास र समृद्धिको मार्गचित्र, असल राजनितिका गुणहरू, संघियता कार्यान्वयनमा देखा परेका चुनौतीलगायतका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रमअन्तर्गत ५७ औँ कार्यक्रम लिएर पूर्वप्रधानमन्त्री भट्टराई शनिबार नुवाकोट आएका थिए।

प्रकाशित: २७ माघ २०७५ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App