coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘हरित क्रान्ति अभियानले जलवायु अनुकूलनमा सार्थककता’

महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति भण्डारी तस्बिरः चुमन बस्नेत/नागरिक

इटहरी - वातावरण प्रदुषणलाई शुद्धीकरण गर्ने उद्देश्य राखेर सुनसरीको चतराधाममा शनिबारदेखि श्रीराम तारकब्रह्म महायज्ञ तथा प्रदेश १ लाई हरित क्रान्ति अभियान बनाउने घोषणा गरिएको छ। फागुन ७ गतेसम्म चल्ने महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्। महायज्ञ उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले धार्मिक तथा पर्यटकीय हिसावले अगाडि रहेको ठाउँ त्यसमा पनि प्रकृति र पर्यावरण हरित क्रान्तिसँग लक्षित कार्यक्रम भएकाले गर्दा महŒवपूर्ण रूपमा लिनुपर्ने बताइन्। ‘विश्वमा प्रकृति र पर्यावरण संरक्षणमा चिन्ता बढिरहेको बेला महायज्ञ र हरित क्रान्ति अभियानले जलवायु अनुकूलनमा सार्थककता पुग्ने विश्वास गर्न सकिन्छ,’ उनले भनिन्। उनले प्रकृति स्वच्छ भएमात्र पर्यावरण स्वच्छ हुने धारणा राखिन्। ‘जब प्रकृति र पर्यावरण स्वच्छ रहन्छ। मानिसको जीवन पनि स्वास्थ्य रहन्छ। मानिसको जीवन स्वास्थ्य रहेमा जीवन सुखी रहन्छ। स्वास्थ्य जीवन नै समृद्ध नेपाल र सुखी नेपालीको आधार हो,’ भण्डारीले भनिन्।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान र जगतगुरू श्रीरामानन्दाचार्य सेवापीठ चतराको आयोजनामा सञ्चालन भएको महायज्ञकै अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हरित क्रान्ति अभियान घोषणा गरे। उनका अनुसार पाँच वर्षभित्र प्रदेश १ लाई आत्मानिर्भर बनाउने उद्देश्य राखेर हरित क्रान्ति अभियानको घोषणा गरिएको हो।मुख्य मन्त्री राईले प्रदेश १ लाई हरित क्रान्ति अभियान घोषणा गरेपछि महायोगी सिद्धबाबा डाक्टर श्रीवैष्णव कृष्णदासजी महाराजले सहभागीलाई अब हरेकले आत्मानिर्भर हुने ढंगले काम गर्न प्रतिबद्धता व्यक्त गराए। सो अवसरमा सहभागी प्रत्येकलाई घरमा रोप्न एउटा–एउटा विरुवा पनि प्रदान गरियो।

महायज्ञ उद्घाटनका क्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका प्रदेश १ का नेता राजीव कोइरालाले हरित क्रान्ति अभियान सफल भए आर्थिक उन्नति हुने बताए। कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा नेकपा नेता भीम आचार्यले धार्मिक पर्यटकीय क्षेत्रको विकासमा हुँदा आर्थिक गतिविधिको विकासमा सघाउ पुग्ने बताए। उनले प्रदेश १ को चतरालाई आयूर्वेदिक विश्वविद्यालय बनाउन सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने बताए।

महायज्ञमा १ सय २ सय साधकद्वारा श्रीराम तारकब्रह्म मन्त्रराजको १ अर्ब ६० करोड पूर्ण जप र १६ करोड हवनार्चन गरिनेछ। महायज्ञमा खाने र बस्ने निःशुल्क व्यवस्था गरिएको छ। बस्नका लागि श्रीरामानन्दाचार्य पीठले चतरामा एक सय ३६ वटा कोठा भएको पक्की भवन निर्माण गरेको छ। भवन एक सय २० दिनको अवधिमा निर्माण पूरा भएको हो। महायज्ञको मण्डप नौतले नै निर्माण गरिएको छ । नौ कुण्ड, नौ ग्रह र नौ दिनसम्म सञ्चालन हुने महायज्ञका लागि नौतले नै मण्डप निर्माण गरिएको हो।
महायज्ञमा ६० टन तिल, ३० टन चामल, १५ टन जौ, १० टन घिउ, १० टन जडीबुटी र २ सय ४० टन समिदाको हमन गरिनेछ । महायज्ञमा १ सय ८ कुण्डमा १ हजार २ सय साधकले हवन गर्ने छन । सबै खर्च साधकले स्वतःस्फूर्त जुटेको आयोजकले जानकारी दिए।

यज्ञपछिको संकल्प पूरा राष्ट्र मात्र नभएर विश्वको जनसमुदायलाई नै महत्व दिने कृष्णदासजी महाराजको दावी छ। ‘यज्ञद्वारा वर्षात् हुन्छ, वर्षातद्वारा अन्न उपज विशेष हुन्छ। वनस्पति विशेषरूपले हुन्छ। मानिस साकाहारी होस् वा मांशाहारी, सबैको जीवन वनस्पतिमै आधारित छ,’ उनले यज्ञको महत्व दर्शाउँदै भने, ‘वनस्पतिको जीवन पानीमा आधारित छ। वनस्पतिको जीवन यज्ञमा आधारित छ।’ उनले वातावरण प्रदूषणलाई सन्तुलित राख्न पनि यज्ञको महत्व रहेको प्रस्ट्याए।

‘वातावरण प्रदुषणको कुरालाई विश्वका अध्यक्षहरू एक ठाउँमा बसेर मिटिङ गर्ने गरेका छन्। विभिन्न प्रकारका तर्क चलिरहेको छ। वातावरण प्रदूषणको क्रम र ओजनको तह घटनेक्रम चल्ने हो भने अब आउने दुई सय वर्षमा धर्तिको जनजीवन खतरा भनेर वैज्ञानिकहरूको चिन्ता छ, मनुस्यको पनि चिन्ता छ,’ उनले भने, ‘वातावरण प्रदुषणलाई सन्तुलित राख्नुपर्छ।’ उनका अनुसार पुर्खाहरूले पहिलेदेखि हावा र पानी स्वस्थ्य हुनुपर्छ भन्ने कुरामा पूर्ण सावधानी राखे। ‘आकाशलाई स्वच्छ राख्नुपर्छ भन्ने दर्शका साथ हाम्रा पुर्खाहरू हिँडेको तथ्यप्रमाण छ। किन आकाशलाई स्वच्छ राख्ने त पृथ्वी तत्व स्थुल हो। बाँकी तत्व सुक्ष्म। यसलाई शुद्धिकरण गर्ने कार्य पृथ्वीले गर्छ,’ उनले भने।
आकाशमा रहेको परमाणुलाई पृथ्वीले आफूतिर तानेर त्यसलाई शुद्धीकरण गर्दा वातावरण प्रदुर्षणलाई सन्तुलित राख्न सकिने उनले दावी गरे। ‘वातावरण प्रदुर्षणलाई शुद्धीकरण गर्ने अनेक उपाय अन्तर्गत यज्ञ महत्वपूर्ण हो भनेर तथ्य पत्ता लागेकैले गर्दा गर्न लागिएको हो। यज्ञ मात्र भरपर्दो र विवेकशील उपाय हो,’ उनले भने। यज्ञमा नेपाल तथा अमेरिका, अष्टे«लिया, बेलायत, भारत, बर्मा, थाइल्याण्डदेखि श्रद्धालुजनको ठूलो जमघट हुनेछ बताइएको छ।

प्रकाशित: २७ माघ २०७५ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App