coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'उम्लिएको सरकार एक वर्षमै सकिन्छ'

तस्बिर : रेखा/नागरिक

बुटवल - राज्यबाटै अपराधीलाई संरक्षण गरिँदा हत्या हिंसा, बलात्कारका घटना बढ्नुका साथै सुशासन कायम हुन नसकेको भन्दै नेपाल महिला संघले शनिबार बुटवलमा सरकार विरुद्ध वृहत प्रदर्शन तथा विरोध सभा गर्‍याे। विरोध सभामा बोल्ने नेताहरुले भ्रष्टाचारै भ्रष्टाचारले उम्लिएर एक वर्ष भित्रै कम्युनिष्ट सरकार सकिने दाबी गरे।

केन्द्रको वाइडबडी,फोरजी सेवा,प्रदेश ५ को गाडी खरीद प्रकरण लगायतका भ्रष्टाचार काण्डले कम्युनिष्ट सरकारको वास्तविक चरित्र जनता सामु उदाङ्गो भएको उनीहरुको दाबी थियो। केन्द्र र प्रदेश दुबै सरकारले दुई तिहाईको बहुमतलाई भ्रष्टाचार गर्ने र अपराधी जोगाउने लाइसेन्सको रुपमा प्रयोग गरीरहेको आरोप पनि कांग्रेस नेताहरुले लगाए।

कार्यक्रमलाइ सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य मिन विश्वकर्माले बहुमतको सरकारको मनपरीतन्त्रबाट आजित भएर जनताले नै कांग्रेसलाई सडकमा निस्कन आग्रह गरेको बताए। कम्युनिष्ट सरकारले गरेको अर्बौका भ्रष्टाचार, किसानमारा नीति,महङ्गी,महिला हिंसामा संलग्नलाई राज्यबाटै संरक्षण प्राप्त हुन थालेपछि सडकमा निस्कन जनताले कांग्रेसको साथ खोजेको बताए। भ्रष्टाचारको अर्बौ पैसाले उम्लेर धेरै जस्तो देखिएको नेकपा एक वर्ष भित्रै साइजमा आउने र कांंग्रेस सामु हार खाने उनले बताए। प्रधानमन्त्री ओलीले नै पर्यटन मन्त्री मार्फत वाइडबडीमा अर्बौ रकम भ्रष्टाचार गरेको र ३३ केजी सुन काण्डमा नेकपाका अर्का अध्यक्ष दाहालको संलग्नता रहेको आरोप नेता विश्वकर्माले  लगाए। निर्मला पन्त घटनामा गृहमन्त्री रामबहादुर थापाका छोरा, सम्बन्धित नगरपालिकका मेयरका छोरा लगायतको संलग्नता भएकाले गृहमन्त्रीकै निर्देशनमा अपराधी जोगाइएको आरोप विश्वकर्माको छ।

‘प्रधानमन्त्री  र गृहमन्त्रीले भ्रष्टाचारी र बलात्कारीको मुख हेर्दिन भनेका छन्। हेरुन् पनि कसरी भ्रष्टाचारी हेरेपनि आफनै मान्छे, बलात्कारी, हत्यारा हेरेपनि आफ्नै मान्छे’, नेता विश्वकर्माले भने। उनले प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले समेत प्रम ओलीको पदचाप पछ्याउँदै आफ्ना नेता तथा सभासद मार्फत गाडी किनाएर लाखौं भ्रष्टाचार गरेको आरोप लगाए।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय उपसभापती सरस्वती तिवारीले एउटी बालिकाको हत्या र बलात्कार गर्ने अपराधीलाई राज्यले नै संरक्षण गरेपछि देशभर महिला हिंसाका घटना बढेको बताइन। देश र जनताको सुरक्षा र संरक्षण गर्ने सामथ्र्य सरकारमा नभएको भन्दै उनले  भ्रष्टाचारी र अपराधी संरक्षण गर्ने सरकारलाइ नङ्गयाएरै छाडने दाबी गरीन।

जिल्ला सभापति  अब्दुल रज्जाकले सरकारका मन्त्री र सत्तापक्ष सभासदको संलग्नतामै प्रदेशको गाडी खरीदमा लाखौं भ्रष्टाचार भएको दाबी गर्दै दोषी उम्काउने प्रयास भए कांग्रेस चुप लगेर नबस्ने चेतावनी दिए। विरोध सभामा महिला संघका नेतृहरु पुष्पा थरुनी ,अनिता शाह,गंगा शाही, माया गौतम,रीता सेन,जमुना ढकाल,कोपीला एसी,लक्ष्मी जोशी, रीता केसी लगायतले बोल्दै सरकारले विकासमा चरम राजनीतिकरण गरेको, बालबालिका तथा महिला हत्या हिंसामा संलग्नलाइ संरक्षण गरेको,सरकारका मन्त्रीहरु आफै भ्रष्टाचारमा संलग्न भएको भन्दै सरकारको कडा विरोध गरेका थिए। विरोध सभा अघि बुटवलको राजमार्ग चौराहबाट र्याली निस्कीएको थियो। र्‍यालीमा महिलाहरुले सरकार विरुद्ध नाराबाजी गर्दै निर्मला पन्तका हत्याराको संरक्षण गरेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए।

 

तस्बिर : रेखा/नागरिक
तस्बिर : रेखा/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App