महाराजकी जय !

शुक्रबार, २५ माघ २०७५, १४ : २१ युवराज गौतम

 ‘महाराजकी जय ! महाराजकी जय !’ भन्दै बिहानै वीर शमशेरको जयजयकार भयो। मध्यरातमा सत्ता परिवर्तन भएको गाइँगुइँ ‘एक कान दुई कान मैदान’ भइसकेको थियो, बिहानसम्ममा। यसको ३९ वर्ष पहिले १९०३ असोज २ गते मध्यरातमा कोतपर्व भएपछि श्री ३ जंगबहादुर ‘महाराजकी जय’ भन्दै उफ्रिएका थिए, काठमाडौँका जनता। प्रधानमन्त्री र प्रधानसेनापति भएपछि (‘जंगे’ भनिएका सामान्य मानिस) जंगबहादर अर्थात वीरनरसिंह कुँवर श्री ३ महाराज भए। ‘वीर भोग्या वसुन्धरा’ (वीरले पृथ्वीको भोग गर्छ) भनेझैँ जसले जित्यो उही वीर ठहरिन्छ। हार्नेहरू, अरुलाई सलाम गरेर बस्छन्। पश्चातापका आँसु बगाउँछन्।

भण्डारखाल पर्व (१९०३ साल) सफल भएको भए जंगबहादुर मारिने सम्भावना थियो। गुप्तचरहरूबाट समयमै सूचना पाएर उनी बाँचे। चाणक्य भन्छन्– “संकट आउँदै छ भन्ने कुरा पहिले नै थाहा पाएर आत्मरक्षाको उपाय सोच्ने मानिसले मात्र सुख पाउँछ।” पहिले नै थाहा पाउँदा भ्यागुतासमेत भूकम्पका बेला सुरक्षित हुन्छ। थाहा नपाउनेहरू आफ्नै घरले पुरिन्छन्।

रावलपिन्डी जान लागेको पल्टनलाई प्रयोग गरेर वीर शमशेरले रणोद्दीप सिंहको प्राण लिएको १९४२ सालको पर्व इतिहासमा चर्चित छ। रणोद्दीपको हत्यापछि ‘महाराजकी जय’ भन्दै कुद्नेहरूमा अवसरवादीहरू नै धेरै थिए भन्छन् इतिहासकारहरू। सत्ताको आगो ताप्नेमा सहरबजारका मानिस अगाडि हुन्छन्। प्रमुख मन्त्री (मुख्तियार) दामोदर पाँडे भद्रकाली मन्दिर छेउमा काटिँदा जनता मौन बसे। भीमसेन थापा छट्पटाउँदै मर्दा कसैले एक अँजुली पानी दिएनन्। राजा रणबहादुर शाह मारिँदा कसले विरोध ग¥यो ? रणबहादुरलाई मार्ने शेरबहादुर शाह (शाही) का मतियार भन्दै भीमसेन थापाले झन्डै पचास जनाको प्राण लिएर एकतीस वर्ष एकछत्र शासन गरे। दाजु देव शमशेरलाई अपदस्थ गरेर चन्द्रशमशेर श्री ३ महाराज भए। साँझसम्म देवका सेवक रहेका भारदार, प्रियजन र कर्मचारीहरू सबै ‘चन्द्र शमशेर महाराजकी जय’ भन्दै बिहानदेखि कुद्न थाले। उनीहरूले देव शमशेरलाई बिर्सिए।

राजतन्त्र, राणातन्त्र, गणतन्त्र जे भए पनि शक्तिको पूजा गर्छन्, नेपाली। यो कटु सत्य हो। निष्ठा, आदर्श, सत्य र नीतिमा अडिग रहनेहरू घट्दै गएपछि नैतिक संकट बढ्दै जान्छ। गणतन्त्रको बाढी आएपछि राजाले पालेका धेरै मान्छे ‘गणतन्त्र सत्य हो’ भन्दै कुदे। राजतन्त्रवादी दलले पनि गणतन्त्रको संविधान शिरोधार्य गरेर संघीयता लागू गर्ने मन्त्रालयसमेत जिम्मा लियो। त्यसपछि जनताले त्यो अवसरवादी दललाई धुलो चटाए। ‘ताक परे तिवारी नत्र गोतामे’ चरित्रका अवसरवादी जताततै छन्। ‘महाराजकी जय’ भन्नेका सन्तान पुर्खाकै बिँडो थामिरहेका छन्। विवेकशून्य बनेका छन्। मुसा नपाउन्जेल बिरालो शाकाहारी हुन्छ। राजनीतिमा नीति, सदाचार, अनुशासन र मर्यादाको कुरा त्यस्तै रहेछ।

पर्ल एस. बकले लेखेको ‘द गुड अर्थ’ चीनका किसान वाङ लुङ्को कथामा आधारित सुन्दर उपन्यास हो। त्यसमा एउटा सरल वाक्य छ र त्यो कालजयी सत्य हो, “माटो बचाउन नसक्नेहरू विस्थापित हुन्छन्।” काबुलका ठग कम्युनिस्टहरूले क्रेमलिनको घुस खाएर सन् १९७३ मा जहीर शाहलाई अपदस्थ गरे। सेना, प्रहरी, निजामती, बुद्धिजीवी सबैले एउटा विवेकशील राष्ट्रनायकलाई हटाएर नयाँ–नयाँ शासक बदल्न थाले। राष्ट्र गृहयुद्धको आगोले जल्यो। लाखौँ जनता मरे, लाखौँ शरणार्थी भए। अफगान गणतन्त्रमा धेरै नयाँ राजा आए। तर जनताले सुख पाएनन्।

इथियोपियामा विदेशीले स्थापित गरेका क्रान्तिकारीहरू सत्तामा आए। एलेन्डेले चिलीमा गरेझैँ, इरानमा आयातोल्ला खुमेनीहरूले जनतालाई सताएझँै, कम्बोडियामा ‘जनसरकार’ बनाएर पोलपोटले लाखौँ मान्छे मारेझैँ शेख मुजीबुर रहमानले भारतको नुन खाएर देश टुक्र्याएझैँ, ग्वाटेमाला, मोजाम्बिक, पेरु, बोलिभिया र बुल्गेरियादेखि लिएर कैँयन् राष्ट्रमा विदेशी शक्तिका आडमा नयाँ महाराजहरूले राष्ट्रलाई बर्बाद बनाएका उदाहरण हुन्। “महाराजकी जय” भन्दा भन्दै कैँयन् देश मानचित्रबाट हराएका छन्। एउटा धोती च्यातेर सातवटा रुमाल बनाउने नेपालको संघीयतामा सयकडौँ महाराज थपिएका छन् आज। यिनीहरूले न देश सम्हाल्न सक्छन्, न प्रदेश। हरियाली मास्ने सलह बन्दै छ संघीयता तर ‘महाराजकी जय’ भन्दै पेट पाल्नेहरू भन्छन्, “हामी समृद्धिपथमा अग्रसर छौँ।”

एकपल्ट कसैको नुन खाएपछि गुन तिर्नैपर्छ। गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संविधानमा स्थापित गर्न दल, प्रेस, नागरिक समाज, बुद्धिजीवी सबैलाई प्रयोग गर्ने विदेशी शक्तिले किन हप्काउँछन् भनेर प्रश्न गर्ने अधिकार वा नैतिक हक कुनै पनि गणतन्त्रवादीलाई छैन। २०७५ साल जेठ महिनामा ‘आएनजिओका गतिविधि निगरानी गर्नू’ भनेर प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गर्ने गृह मन्त्रालय एक महिना नबित्दै लत्र्याकलुत्रुक्क भयो। विदेशीले भियग्रा खुवाउँदा क्रान्तिकारी बनेर राजासमेत हटाउन सक्ने ‘बलिया’ नेता किन नपुसंक भए ? दुई तिहाइको सरकार आज किन अनिर्णयको बन्दी बनेको छ ? किन राष्ट्र र जनतालाई बलियो बनाउन सरकार असमर्थ देखिन्छ ? जनताका जल्दाबल्दा समस्याका बारेमा सरकार किन बेखबर छ  ? किन परास्त देखिन्छ सरकार ?

नेपालमा लाखौँ व्यक्ति ‘राज्यविहीन’ (स्टेटलेस) छन् भनेर विदेशी दाताले लिपिबद्ध गर्दा पनि सरकार बोल्दैन। क्रिश्चियनलाई इंगित गर्दै ‘धार्मिक अल्पसंख्यक’ धेरै छन् भन्दा पनि सरकार मौन बस्छ। २०७५ साल मंसिरको दोस्रो हप्ता इसाई धर्मकी ‘गुरुआमा’ (युनिफिकेसन चर्चकी संस्थापक) हक जा हानले नेपाललाई क्रिश्चियन राष्ट्र बनाउन आह्वान गर्दा प्रधानमन्त्री केपी हर्षविभोर देखिए। समापन समारोहमा उनै ‘गुरुआमा’बाट प्रधानमन्त्री ओलीले लिडरसिप र गुड गभर्नेन्स अवार्ड (एक लाख अमेरिकी डलरको पुरस्कार) पाए। विपक्षी दल, सर्वसाधारण जनता र प्रेसबाट कठोर आलोचना हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले क्रिश्चियन भेलामा पचास÷साठी घन्टा बिताएको कुरा प्रेसमा आयो। नेपाललाई नयाँ महाराजहरूले किन धर्मनिरपेक्ष बनाएका रहेछन् भन्ने कुरा खुलस्त भयो।

प्रदेश प्रहरी ऐनको मस्यौदा एसिया फाउन्डेसनको खर्चमा किन भयो भनेर प्रश्न उठाउने सञ्चारमाध्यमले नेपालको वर्तमान संविधान नै विदेशी लगानीमा तयार भएको कुरा लुकाएर लुक्दैन। ‘प्यार करना तो डरना क्या’ भन्दै संविधानसभामा सयौँ करोड रुपियाँको विदेशी सहायता भित्रिँदा चेतनशील र खोज पत्रकारिताका मूलभट्ट कहाँ थिए ? चौतारामा रक्सी बेचिरहेकी तरुनीलाई लाहुरे केटाहरूले आफ्नो बनाउन क्रिम, पाउडर, काँइयो, अत्तर आदि ल्याइदिए जस्तो कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैतिर विदेशी सहायता खुरुखुरु लिने, अहिले आएर विदेशीको हस्तक्षेप बढ्यो भन्ने ? साम्राज्यवादी र विस्तारवादीको शरीरमा तेल मालिस गरेर छोराछोरीलाई सित्तैमा पढाउने, घर बनाउने, करोडौँ रुपियाँको चलअचल सम्पत्ति जोड्ने अनि उनैलाई गाली गर्ने कुरामा द्वैध चरित्रको गन्ध आउँछ।

नेपाली कूटनीतिमा आज ‘भाँडाकुटी’ खेलिँदै छ। पछिल्ला दिनहरूमा सत्तारुढ दलकै नेताहरूले अमेरिका र उसका विरोधी राष्ट्रहरूबीचको विवादमा नेपाल कम्युनिस्ट राष्ट्रको कित्तामा पर्छ भन्ने प्रमाणित गर्न खोजिरहेको देखिन्छ। असंलग्न परराष्ट्र नीतिलाई उपेक्षा गरिएको स्पष्ट देखियो। सरकारले पञ्चशीललाई हाइड्रोशील जस्तो ठानेको छ। पश्चिमी शक्ति राष्ट्र तथा चीन वा रसियाजस्ता शक्तिबीच सन्तुलन कायम गर्न राजा महेन्द्रले कूटनीतिक मार्गचित्र बनाएका थिए। त्यसकै आधारमा नेपाली परराष्ट्र नीति पचासौँ वर्षसम्म विवादरहित भएर चलिरह्यो। त्यो राजमार्ग मासेर सरकार आज विदेश नीतिमा साम्यवादको बुल्डोजर चलाइरहेको छ।

जंगबहादुरले बेलायतको दोस्रो भ्रमण गर्ने इच्छा गर्दै बनारसमा बसेका राजगुरु विजयराज पाण्डेलाई सम्वत् १९२२ मा लेखेको पत्रमा “तिम्रा षिरको दुना पनि नघोप्टियोस्, मेरा दुदको दुना पनि नघोप्टियोस् भन्नुहुन्छ भन्या म ६ मैन्हा बिलायत गयेर आउन्ज्यालसम्म नेपाल पाल्नुहवस्” भनेका थिए। त्यसमा ठूलो सन्देश छ। कूटनीतिमा पनि यो अर्थपूर्ण देखिन्छ। “तिम्रा खिरको दुना पनि नघोप्टियोस्, मेरा दूधको दुना पनि नघोप्टियोस्’ भन्ने कुरा कूटनीतिमा हेक्का राखियो भने नेपालका कुनै पनि शासकले एलेन्डे, मार्कोस र दुभालियरको नियति भोग्नु पर्दैन। जेठी र कान्छी श्रीमतीले कपालमा अलग–अलग खालका तेल घसेझँै सरकार फेरिँदैपिच्छे परराष्ट्र नीति फेर्नु गलत हुन्छ भन्ने कुरा गणतन्त्रका महाराजहरूले बुझिदिए भने हामी अर्को सिरिया हुनबाट बच्न सक्छौँ।








यसमा तपाईको मत

अन्य समाचार

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

Ncell Footer Ad