७ वैशाख २०८१ शुक्रबार
खेल

वर्षाले बुढासुब्बा गोल्डकप प्रभावित, उद्घाटन खेल आइतबार हुने

प्रतियाेगिता हुने धरान रंगशाला। तस्बिर : राेहित/नागरिक

धरान - वर्षाका कारण शनिबार बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करण सुरु हुन सकेन। धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल अब आइतबार मात्रै हुने भएको छ। मौसम प्रतिकुल भएर निरन्तर वर्षा भएपछि आयोजक धरान फुटबल क्लबले शनिबार दिउँसो आकस्मिक बैठक बसेर उद्घाटन समारोह र खेल स्थगित गरेको थियो।

‘सम्पुर्ण तयारी पुरा गरेर भव्य उद्घाटन गर्ने तयारीमा थियाैं, तर मौसम प्रतिकुल भइदियो,’ क्लबका अध्यक्ष किसोर राईले भने, ‘उद्घाटन कार्यक्रम र आजको खेल स्थगित गरेर आइतबारलाई सार्याैं।'

वर्षाले रंगशालास्थित खेल मैदानमा पानी जमेपछि आयोजकले उद्घाटन कार्यक्रम र खेल स्थगित गर्ने निर्णय लिएको थियो। जमेको पानीमा खेल हुँदा मैदान हिलाम्य हुने भएकाले खेल स्थगित गर्नु परेको आयोजकको भनाई छ। आइतबार प्रतियोगिताको उद्घाटन पुर्वतालिका अनुसार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यमा नै हुनेछ। फागुन ४ गते हुने भनिएको फाइनल ५ गतेलाई सरेको छ।

प्रतियोगिताको उद्घाटन खेल पुर्वतालिका अनुसार नै संकटा क्लब काठमाडाैं र मेची नेत्रालय केएफटिसि, झापाबीच हुनेछ। बुढासुब्बाको २१ औं संस्करणसम्म आइपुग्दा दुबै टोलीको यो तेस्रो सहभागिता हो। संकटा बुढासुब्बाको १९ औं संस्करणमा उपविजेता भएको थियो। दुबै टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। संकटा यो सिजनको शहीद स्मारक ए डिभिजन लिगको उपविजेता टोली हो भने यो सिजनमा केएफटिसि झापाले पनि इटहरी गोल्डकप र खप्तड गोल्डकपको सेमिफाइनल खेलेको थियो। त्यसैले दुबै टिमको खेल निक्कै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। 

 

प्रकाशित: २६ माघ २०७५ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App