७ वैशाख २०८१ शुक्रबार
अन्य

ताङतिङदेखि घोक्रेलासम्म

ओमप्रकाश गुरुङ

सिकाई कक्षाकोठाको साँघुरो घेरा भित्र सीमित राख्नु हुँदैन।  घोकन्ते सिकाई न्यूनीकरण गर्दै र दिगो सिकाइतिर लाग्नु नै आजको आवश्यक्ता हो।  सिकाइमा पर्याप्त शैक्षिक सामग्रीको प्रयोग अन्तक्र्रियात्मक जीवनोपयोगी ज्ञान तथा सिपको हस्तान्तरण, अध्ययन भ्रमण, अनुसन्धान मिसिनु पर्छ। 

आज विश्व साँघुरिएको छ, हामीले उत्पादन गरेको जनशक्ति अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने चुनौती छ।  हाम्रा शिक्षालयहरुले स्थानीय पाठ्यक्रमका साथै विश्व नागरिक सम्बन्धी शिक्षा दिनु पर्छ।  यसका लागि घर, विद्यालय, गाउँदेखि देश विदेशकाबारे चिनाउनु जरुरी हुन्छ।   
किताबमा पढेका ठाउँ, ऐतिहासिक महत्वका बोकेका धार्मिक स्थल, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, राजमार्गहरू, औद्योगिक क्षेत्र, पर्यटन क्षेत्र लगायतमा विद्यार्थीलाई घुमाउनु पर्छ।  यिनै कुरा मध्यनजर गरी हाम्रो हिमालय मिलन माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक गरी ४१ जनाको भ्रमण टोलीले पुस २९ देखि माघ ४ सम्म अध्ययन भ्रमण गर्‍यो।  

घोक्रेलाबाट पोखरा फर्कने क्रममा हाम्रो मानसपटलमा रमाइलो घोक्रेला गाउँ छाइरह्यो।  छुट्टिने बेला हामीले त्यहाँका आमा तथा दिदीबहिनीलाई अर्को साल घोक्रेला आउने बाचा गर्‍यौं।  र, उहाँहरूलाई हाम्रो ताङतिङमा घुम्ने निम्तो पनि दियौं।  

जाडोले काम्दै हामी पुस २९ गते बिहान ७ बजे ताङतिङबाट बस चढेर पोखरा झर्‍यौँ।  त्यो दिन पोखरा घुम्यौं।  भोलिपल्ट नोबेल टुरिष्ट बस चढी काठमाडौँतर्फ लागियो। हाम्रो ताङतिङ मादी नदीको शिरमा रहेको हुनाले हामी दमौली छेवैमा पुग्ने बेला बस रोकी ३६० मिटरको मादी पुल अवलोकन गर्‍यौं।  मादी नदीको मुहान अन्नपूर्ण हिमाल, लमजुङ हिमाल हाम्रो गाउँ छेउका हिमाल हुन्।  हामीले त्यहाँ आधा घण्टा हिमाल, हिउँनदी, मादी र महासागरबारे अन्तक्र्रिया गर्‍यौँ। 

हामीले सधैँ पढाउने पृथ्वीराजमार्गको बिषयमा पनि छलफल गर्‍यौ।  पृथ्वी राजमार्गले काठमाडौँ, पोखरा र समग्र नेपालको आर्थिक सामाजिक, पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानबारे कुराकानी गर्‍यौ। 

त्यसपछि तनहुँकै घाँसी कुवामा पुगेर घाँसीले कसरी अरूको सेवाका  लागि कुवा खन्नु भयो।  ‘भर जन्म घाँसतिर मन दिई कुवा खनायो, नाम क्यै रहन्छ भनेर कुवा खनायो’ यो कविताबारे छलफल गर्‍यौ।  परोपकारी मनका घाँसीलाई सम्झियौं।  कसरी भानुभक्तले घाँसीका बारेमा विवेचना गर्नुभयो यसमा पनि हामीले अन्तक्र्रिया गर्‍यौ।  शैक्षिक भ्रमणको दोस्रो दिन हामी काठमाडौँ पश्चिममा अवस्थित प्रसिद्ध स्वयम्भू बौद्ध चैत्य पुग्यौं।  १२ वैशाखको भूकम्पले क्षति पुर्‍याएको हुनाले पुनर्निमाण भैरहेको रहेछ।  चैत्य घुमेर हामी बेलुका काठमाडौँस्थित बसपार्कका होटलमा बस्यौं।  
कास्कीको सुदूर उत्तर पूर्वी हिमाली भेग ताङतिङको गुरुङ गाउँमा बस्ने हाम्रा बाबुनानीहरु काठमाडौँ जस्तो विशाल ठाउँ, मान्छेहरूको भिडभाड, हजारौँ सवारीसाधन, व्यस्त जीवनशैली, धुवाँधुलो, कोलाहल, गगनचुम्बी महल, अस्पताल, विश्वविद्यालय, वित्तीय सङ्घसंस्था, मठमन्दिर, चैत्य गुम्बा, मस्जिद देख्दा साथीहरुसँग ताङतिङ र काठमाडौँको तुलना गर्दै थिए। 

बेलुका गोंगबु बसपार्कमा रहेको होटल दुधकोशी लुम्बिनीको सभाहलमा उनीहरु गुरुङ गीतमा नाचे।  कुनै समूहले ताङतिङदेखि काठमाडौँसम्मको यात्रा वृत्तान्त सुनाए।  शैक्षिक भ्रमणको तेस्रो दिन हामी बुढानीलकण्ठ गयौं।  त्यहाँ भगवान् विष्णुको र अन्य कलात्मक मूर्ति हेर्‍यौं।  शिवपुरी पहाडको तल रहेको बूढानीलकण्ठ परिसरमा अनुशासित पूर्वक वेद अध्ययन गरिरहेका विद्यार्थी र पूजा गर्न आएका भक्तजन देखेर विद्यार्थी प्रभावित भए।  
यसपछि हामी बागमती किनारको २४० हेक्टर जमिनमा फैलिएको पशुपतिनाथ पुग्यौं।  सन् १९७९ मा युनेस्कोले पशुपतिनाथलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।  हामी माघ १ गते मकर संक्रान्तिका दिन पुग्दा भिडभाड थियो। 

विद्यार्थीले मन्दिरमा पूजा गरे।  पशुपतिनाथ मन्दिर परिसर र बागमती नदीको सूक्ष्म अध्ययन गरे।  ताङतिङको बाजेबैकुको मन्दिरसँग  पशुपतिनाथको तुलना गरे।  यस्तै ताङतिङको घट्टेखोला र बागमती नदीसँग तुलना गरी छलफल चलाइयो।  हाम्रा विद्यार्थी जीवनमा पहिलोपटक पशुपतिनाथ दर्शन गर्न पाउँदा दंग थिए।  
विहानको खानापछि हामी सांस्कृतिक, ऐतिहासिक, प्राचीन कला एवम् हस्तकलाका लागि ख्याती कमाएको भक्तपुर दरबार क्षेत्र पुग्यौं।  प्राचीन दरबार, कलाकौशल, राजा भूपतिन्द्र मल्लको सालिक, पचपन्न झ्याले दरबार, गोल्डेन गेट र गल्लीहरुको भ्रमण गर्‍यौं।  सधैँ किताबमा मात्र पढिरहेका ठाउँ प्रत्यक्ष देख्न पाउँदा विद्यार्थीमा ऊर्जा बढ्यो।   
भक्तपुर यात्रापछि हाम्रो बस जावलाखेलको चिडियाखाना पुग्यो।  विसं १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले निजी चिडियाखानाका रूपमा खोलेको यसलाई १९५० मा नेपाल सरकारले स्वामित्वमा लियो।  अनि विसं  १९५६ बाट मात्र सर्वसाधारणका लागि खुल्ला गरियो।  

चिडियाखानाका चरा, जङ्गली जनावर लगायत पार्क, पोखरी सबैको अध्ययन गर्‍यौं।  त्यसपछि पाटन दरबार स्क्वायर पुग्यौं।  पाटन क्षेत्रको भ्रमण पछि साँझ बासस्थान फर्कियौ।  माघ २ गते हामी सन् १९७३ मा स्थापना भई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत ९३२ किमिमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज मध्य तराईस्थित चितवनमा पुग्यौ।  त्यहाँको सौराहा पुगेर पर्यटन विकासका साथै पर्यटन उद्योगले ल्याएका सकारात्मक र नकरात्मक प्रभावबारे बुझ्यौं।  निकुञ्जमा रहेको वन्यजन्तु आखेटोपहार प्रदर्शनी तथा सूचनाकेन्द्रमा जनावरका छाला र अस्थिपञ्जर हेर्‍यौं।  राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र, हात्ती प्रजनन केन्द्र, बन्यजन्तु र चरा हेर्‍यौ।  हाम्रो विद्यालय अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पनि हामीले संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रका बारेमा पनि समूह समूहमा छलफल चलायौं। 

सौराहामा राप्ती खोला नजिकै रेष्टुरेन्टमा कफी खाँदै बगरमा सुस्ताएका गोही अवलोकन गर्‍यौ।  सौराहामा पर्यटकको चाप देखेर ज्यादै मोहित भयौँ।  बेलुका थारु सांस्कृतिक कार्यक्रम लठ्ठी नाच, मयुर नाच र अन्य नृत्य हेर्‍यौँ।  थारु जातिको कला, संस्कृतिका बारेमा नृत्य र गीतबाट जान्न पायौँ।  हाम्रो ताङतिङ गाउँमा पनि पर्यटकका लागि गुरुङ संस्कृतिमा आधारित समूह गठन गर्नुपर्ने हाम्रो ठम्याइ रह्यो।

ताङतिङ  पर्यटकीय गाउँसमेत रहेकाले हामीले कम्तिमा पनि एक रात आदिवासी दिदीबहिनीहरुले सञ्चालन गरेको घरबास (होमस्टे) चितवन जिल्लास्थित खैरहनी नगरपालिका–१२, घोक्रेलामा बस्ने निर्णय गर्‍यौ।  त्यसैले त्यही बेलुका घोक्रेलातिर लाग्यौ।  घोक्रेला पुग्दा रात परिसकेको थियो।  हामीलाई स्वागत गर्न राती पनि दराई महिला लाम लागेर उभिएका थिए।  पाहुनाको स्वागत गर्न ज्यादै सिपालु उनीहरुको सम्मानले हामीलाई भावुक बनायो।  त्यहाँका ११ घरमा ०७१ पुस ११ गतेदेखि होमस्टे सञ्चालन गरिएको रहेछ।   

रातीको खानामा हामीले हाँस, लोकल कुखुराको मासु र दालभात खायौँ।  घरमा बाँडिएर बास बस्यौं।  प्रत्येक घरमा दराई संस्कृति, भाषा, रहन सहनबारे अन्तक्र्रिया गर्‍यौँ र दराई जातिको भाषा, रहन सहन, संस्कृतिबारे जान्ने अवसर पायौँ।बिहानै दराई समुदायले सञ्चालन गरेको एकीकृत माछापोखरी, कृषि फर्म र बन्यजन्तु चराचुरुङ्गीको अवलोकन गर्‍यौँ।  पोखरीबाट निकालिएको ताजा माछा चाख्यौँ।  सौराहाबाट करिब ५ किलोमिटर दुरीको होमस्टेमा पुग्न जीपबाट ३० मिनेटमा लाग्छ।  घोक्रेला गाउँबाट विहान खान खाइ विदावारी भएर हामी पोखरा  फर्कियौं।  हाम्रो मानसपटलमा रमाइलो घोक्रेला छाइरहेको थियो।  ताङतिङबाट घोक्रेला गाउँमा अर्काे साल आउने बाचा हामीले त्यहाँका आमा तथा दिदीबहिनीसँग गर्‍यौं।  उहाँहरुलाई ताङतिङ गाउँमा घुम्न निम्तो पनि दियौँ। 

यसरी माघ ३ गते राति आफ्नै शहर पोखरामा बसी माघ ४ गते  काहुँखोलाबाट ताङतिङ जाने बस चढ्यौं।  हामी ताङतिङ पुग्दा अन्नपूर्ण र लमजुङ हिमालले मुस्कुराइरहेका थिए।  उर्दूको गौडामा ताङतिङे आमा लाइन लागेर मालासहित आफ्ना मुटुका टुक्राहरु (बालबालिका)को स्वागतमा उभिएका थिए।  
यसरी किताबमा पढेर प्रायः घोकिने थुप्रै ठाउँ पुगेर फर्केका हाम्रा विद्यार्थीमा छुट्टै उत्सुकता, ऊर्जा थपिएको छ। 

प्रकाशित: २६ माघ २०७५ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App