पुस्तक

किशोरीका दुःख

शनिबार, २६ माघ २०७५, ११ : ५५ नागरिक

103


शर्मिला न्यौपाने दाहाल

दउडैदउडा मिलेर बनेको गाउँ।  यो दउडो कति पुस्ताबाट यसरी मिलाएर बस्न लागेको हो थाहा छैन।  सबै एकै खाले छन्।  उही ढुंगाको बान्नु, उही सल्लाको दरभराइनाले बनेका छर।  कर्णाली सेरोफेरोमा लेखिएको बखतबहादुर शाहीको उपन्यास ‘छोट्टी’ विषयवस्तु, भाषाशैली र परिवेशका हिसाबले फरक स्वादको छ।  छोट्टी अर्थात किशोरीले भोगेका शारीरिक, मानसिक र सामाजिक पीडा उपन्यासका विषय हुन्।  

कर्णाली वरपर बोलिने शब्द ‘छोट्टी’, यसको अर्थ किशोरी हो।  मध्यपश्चिम र सुदुर पश्चिमका चेलीहरुले छुई अर्थात महिनावारी हुँदा भोगेका पीडालाई छोट्टीले उठाएको छ, त्यो पीडा पढ्दा मुटु काँप्छ।  एउटी किशोरीको पीडा हो यो उपन्यास।  कर्णालीको हुम्लामा जन्मि/हुर्केर अनेकौं संघर्ष गर्दै नर्स बन्न सफल पूर्णिमा मुल पात्र हुन्।  उनको डायरीलाई आधार बनाएर छोरी भएर विशेषगरी महिनावारी चक्र सुरु भएपछि उनले भोगेका दुःख छन् उपन्यासमा।  

शिखा बुक्सले छापेको छोट्टी आकारका हिसाबले २०० पृष्ठको छ।  यसमा अवतरणदेखि नयाँ मान्छेको आगमनसम्म २५ शीर्षक छन्।  एउटा बच्चा जन्मिँदा आमाले भोगेका पीडादेखि लिएर त्यही बच्ची आमा बन्ने समयसम्मको घटनाक्रम छ।  छाउपडी प्रथालाई लेखकले उठाएका छन्। 

गरिबी, अशिक्षा र राज्यको हेर्ने आँखाबाट टाढा हुम्लाको रहनसहन, भाषा, संस्कृति, परम्परा , चाडपर्व  र प्राकृतिक सम्पदालाई पनि छोट्टीले चिनाएको छ।  उपन्यासकी मुख्य पात्रले नारी भएका कारण भोग्नु परेका पीडा, त्यहाँको समाज, पुरुष प्रवृत्ति आदिको समिश्रण हो छोट्टी।   

वखतबहादुर शाहीको उपन्यास छोट्टीमा ‘राजनीतिक यात्रा’ शीर्षकमा धनदेवी पात्रका माध्यमबाट माओवादीले सुरु गरेको युद्धका समयमा रिसीइवी र बदलाको उद्देश्यले कति सोझा जनताले ज्यान गुमाउन पुगे, बाँच्नेहरूमा पनि कसरी वितृष्णा पैदा भयो भन्ने देखाइएको छ।  


हुम्ला सदरमुकाम सिमकोटबाट ३ घन्टाको पैदल दुरीको गाउँमा जन्मेकी पूर्णिमाका बाबाआमा खेतीपातीमा जानु पर्ने, घरमा हेरालु कोही नभएकाले स्कुल गएमा त्यही हेरचाह हुन्छ भनि उनका बाबाले सीता माविमा पढ्न पठाउँछन्।  पूर्णिमा त्यहाँकी पहिलो छात्रा हुन्छिन्।  उद्देश्य जे भए पनि उसका बाबाले स्कूलको ढोका खोलिदिए। 

छोरीले सानैदेखि घाँस दाउरा, मेलापात, घरधन्दासंगै पढ्नका लागि गरेको संघर्ष प्रेरणादायी छ।  पहिलोपटक पटक छुई अर्थात महिनावारी हुँदा उनका साथीहरु भन्छन्, ‘घाम नहेर्नु, बाबा दाजुभाइ नहेर्नु।  अब पोइको घर जाने भइस। ’ दुर्गम भुगोलमा अझै पनि चेतनाको कमि छ।  छाउपडी बस्नु पर्ने बाध्यता, त्यहाँ बस्दा भोग्नु पर्ने समस्या, छाउगोठमा रहँदा पुरुषबाट बलात्कृत भई तिनैसँग बाध्यताले बैवाहिक जीवन सुरु गर्नु परेका घटना पढेका सुनेका छौं।  छोट्टी पढिरहँदा यस्तो लाग्छ हामी सहरमा बस्नेहरु अधिकारका कुरा गर्छाैं तर कर्णालीमा खोई पुगेको अधिकार?

‘छोरी पढे बिग्रन्छन।  पोइ घर जाने जात’ भन्ने समाजलाई चेतनशील बनाउन हामी किन अघि सरेनौं ? राज्यका आँखा कहाँ गयो ? पूर्णिमा जस्ता पात्रले नर्स बन्ने सपना पूरा गर्न किशोर वयमै विवाह गर्नु परेको छ।  राज्य, शहरीया, एनजिओ र आइनजिओले कर्णालीलाई रोग, भोक र अशिक्षाका आँखाले मात्र हेरिरहे।  तर चेतना जगाउने काम गरेनन् भन्ने तथ्य शाहीले उपन्यास मार्फत छर्लंग पारेका छन्।  

बहुपति प्रथा हुम्लाका भोटे समुदायमा कायमै रहेको तथ्य पढ्दा छक्क परें।  एउटी नारी घरमा भएका दाजुभाइ सबैका लागि साझा भोग्या वस्तु ! नारी मनले एउटा पुरुषलाई अपनाउन सक्छे, जनावर त होइन नि ऊ।  छिरिङ डोल्मा पूर्णिमाकी साथी हुन्।   एसएलसीसम्म पढेकी।  मन पराएको केटासँग भागी विवाह गरेर जाँदा पनि त्यही घरका दाजु र भाइलाई पतिका रुपमा स्वीकार्नु पर्ने कस्तो बाध्यता ?

पूर्णिमाले नर्स बनेर समाजमा व्याप्त कुसंस्कार हटाउन गरेको संघर्ष पनि कम्ता पीडादायी छैन।  पढ्ने पैसा जोहो गर्न लेकमा जडीबुटी खोज्न पुगेकी छिन् उनी।  नर्स पढ्न पाउने आशामा कलिलैमा सहपाठी राजनसँग भागेकी छन्।  राजनले अन्य पुरुषले झैं पूर्णिमालाई विवाह गरेर गाउँमै राखेन।  आफुसँगै काठमाडौं लगेर नर्स बन्न सघायो।  कुसंस्कार चिर्न हुटहुटि जगाइरह्यो।  पूर्णिमा गाउँ फर्केर महिला स्वास्थ्य, प्रजनन, खोप आदीबारे चेतना जगाउने अभियन्ता बनिन्।  काठमाडौंबाट फकेर गाउँमै आफ्नो ज्ञान र सीपलाई पोख्नु छोट्टी उपन्यासको अर्को राम्रो पाटो हो।  
कर्णाली क्षेत्रमा अशिक्षा र कुरिति मात्रै छैन, प्राकृतिक र सांस्कृतिक सम्पदाको भण्डार पनि छ।  खार्पुनाथ मेला, रलिङ्ग गुम्बाको चर्चा छ यसमा।  मानसरोवर कैलाश पर्वत विगतमा कलेल राज्यका रुपमा नेपाली भूमिमै थियो भन्ने कुरालाई पनि जोडेका छन् उनले।  धार्मिक पर्यटनबाट कर्णालीको समृद्धिको ढोका खोल्न सकिन्छ भन्ने देखाएका छन्।  कर्णालीलाई  बुझ्न चाहनेका लागि छोट्टी आँखीझ्याल बन्न सक्छ।

उपन्यासकी मूल पात्र पूर्णिमालाई सुरुमा जति क्रान्तिकारी  देखाइएको छ अन्त्यतिर उनको  क्रान्तिकारी भावना सेलाउँदै गएको देखिन्छ।  धामी बाको मृत्यु भएपछि ‘कतै मैले छुई भएका बखत धामी बालाई औषधी दिएकाले मृत्यू भएको त होइन’ भन्ने दोधारमा परेको देखाइएको छ।  उपन्यासकारले पूर्णिमालाई दरोसँग उभ्याउन सकेका छैनन्।  
‘राजनीतिक यात्रा’ शीर्षकमा धनदेवी पात्रका माध्यमबाट माओवादीले सुरु गरेको युद्धका समयमा रिसिइवी र बदलाको उद्देश्यले कति सोझा जनताले ज्यान गुमाउन पुगे, बाँच्नेहरुमा पनि कसरी वितृष्णा पैदा भयो भन्ने देखाइएको छ। 

पढेलेखेका केही व्यक्ति गएर छाउगोठ भत्काउँदैमा छाउपडी प्रथा हट्दैन हट्दैन्।  यसका लागि चेतनाको खाँचो छ।  राज्यले जबसम्म शिक्षाका माध्यमबाट चेतना फैलाउने काम गर्दैन तबसम्म अझै कति छोट्टीहरुले ज्यान गुमाउने छन् भन्ने लेखेका छन् शाहीले।  विषयवस्तुका हिसाबले उपन्यास उत्कृष्ट लाग्यो।  भाषाशैली हेर्दा सुरुका शीर्षक जसरी सलल बगेका छन् पछिल्ला त्यस्ता छैनन्।  कुनैकुनै शीर्षकमा चाडैं फड्को मारिएको छ।  विषयवस्तु मिहिन रुपमा समेटिएको भए अझै प्रभावकारी हुन्थ्यो। 

अन्त्यमा, नारीका व्यथालाई नारीले मात्रै उठाउनु पर्छ भन्ने छैन।  पुरुषले पनि उठाउन सक्छन् भन्ने सन्देश यो उपन्यासले दिएको छ।  उपन्यासकार राजनीतिका विद्यार्थीका साथै पर्यटनकर्मी हुन् तर उनले आफ्ना दिदी बहिनीले भोगेका दुःखलाई उपन्यासमा उतारेर स्याबासी कमाएका छन्।







यसमा तपाईको मत


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...