coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सुन्तला हाइकिङ

सुनौला सुन्तला। लटरम्म फलेका !  
आँखाले भ्याएसम्म चारैतिर  सुनौला सुन्तला। बाटोबाटै सुन्तला देख्दा दंग प-यौं हामी। ‘सुन्तला किन्न आउनु भको हो नानी ?’, कौसीबाट आवाज आयो। घरबेटी हजुरआमैको आवाज। ‘सुन्तला देखेर आको, किन्छौं’ भन्यौं। उहाँ कौसीबाट तल झर्दा हामी आँगनमा पुगिसकेका थियौं। उहाँले छोरालाई सुन्तला टिपिदिन भन्नुभयो। हामी सबै मिलेर १० किलो सुन्तला टिप्यौं। बोटबोटै टिपेर खायौं पनि। अहा, कति गुलियो ! 

आँगनै सुन्तलाले ढकमक्क। सुन्तला मात्र होइन, बगैंचामा सागसब्जी र अरू फलफूल पनि। उनका छोरा केदारले केसीले भने, ‘सुन्तला खेती गरेको ३० वर्ष जति भयो। वर्षको दुई लाखसम्म सुन्तला व्यापार गर्छौं।’ उनका हजुरबुबाले पहिला केही बोट रोपेका रहेछन्। त्यो राम्रो भएपछि सुन्तला खेती गरिएको रहेछ। हाल १२ रोपनीमा छ सुन्तला बगान। सुन्तलाको मुख्य सिजन कात्तिकदेखि माघसम्म। रोप्ने समय असारसाउन। उनीहरूको सिको गर्दै गाउँमा सुन्तला खेतीको लहर चलेको छ। 

हामी प्रकृतिप्रेमी समूहको १३९ औं पदमार्ग रेकी गर्ने क्रममा काठमाडौंको फर्पिङ पावर हाउस नजिकैको सेतीदेवी भएर स्वखेल गाउँको सुन्तलाबारीमा रमायौं। हाम्रो समूहले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ नलिई स्वस्थ हुन सकिँदैन र उचित आहार, विहार र विचार लागु गरेमा निरोगी र आनन्दित रहन सकिन्छ भन्ने स्वास्थ्यको मूलमन्त्र गाउँगाउँमा फैलाउन र स्वस्थ पर्यटन विकासमा सघाउ पु-याउन हरेक महिनाको चौथो शनिबार हाइकिङ गराउँदै आएको छ। गत पुस २८ मा हामीले खोकनाबाट फर्पिङ पावर हाउस, पानीपोखरी, शिखरेश्वर महादेव, वनगणेश हुँदै गोपालेश्वर वन र त्यहाँबाट गाउँको बाटो हुँदै फेरिर पानी पोखरी, स्वखेल सुन्तलाबारी, सातमुल हुँदै दक्षिणकाली बाँसबारीसम्म पदयात्रा गरेका थियौं।

वनमा उहिल्यै भगवान् कृष्ण आफ्ना ग्वालासँग आएका थिए। त्यतिबेला कामधेनु गाईले वनमा दूध चढाएको देखेर ‘के रहेछ’ भनेर हेर्दा महादेवको मूर्ति भेटियो। र, त्यहाँ मन्दिर बनाइयो। भगवान् कृष्ण ग्वालासँग आएकाले र महादेव भेटिएकाले वनलाई गोपालेश्वर भनियो। 

खोकना
मल्लकालीन नेवार संस्कृतिको खुला संग्रहालय–ललितपुरको खोकना। स्वस्तिक आकारको बस्ती। खोकना ७५० वर्ष पुरानो मानिन्छ। पहिला डेढ किमी पर्तिर ‘कुदेश’मा थियो खोकना, पछि जितापुर मण्डप बनाएर वर बस्ती बसालियो।  
ज्यापू समुदायको बसोबास छ। बस्ती बीचमा रुद्रायणी मन्दिर छ। वास्तुकलाअनुसार बसालिएको बस्ती विश्व सम्पदा सूचिमा प्रस्तावित छ। त्यहाँ पुराना घर, मन्दिर, चैत्य, पोखरी आदि छन्। 

खोना शब्दबाट अपभ्रंश भएर खोकना भनिएको भनाइ छ। नेवार भाषामा खोनाको अर्थ रुनु हो। उहिल्यै पचलीभैरवका पूजारी शीत ज्वरोबाट मूर्छित भएछन् र उनलाई मरेको ठानी बागमतीको किनार टेकुमा दाहसंस्कारको तयारी गरिएछ। चितामा राखी आगो झोस्न लाग्दा हावाहुरी सहित पानी परेछ। मलामी ओत लाग्न थाले। ज्वरोले बेहोस पूजारी  ब्यूँतेछ। सती जान छेउमा बसेकी उनकी श्रीमतीबाट कुरा सुनेछ पछि चितामा राखेको मान्छे फर्काउन मिल्दैन भनेर दम्पत्तीलाई त्यहाँबाट बाहिर लखेटिएछ। दम्पती रुँदैरुँदै कुदेशमा आए बसेछ। रुँदै आएर बसेको ठाउँ भएकाले खोनाखोना भन्दाभन्दै खोकना भएको किंवदन्ती छ। 

खोकनाबासी दसैं मनाउँदैनन्। दसैंका बेला उनीहरू रुद्रायणी जात्रा मनाउँछन्।  सिद्धिकाली (रुद्रायणी) जात्रा। जात्रा आश्विन शुक्लपक्ष तृतीयाका दिन सुरु भई नवमीसम्म चल्छ। रुद्रायणी मन्दिर खोकनाको मुख्य मन्दिर हो। बस्तीको चारैतिर बाटो, ठाउँठाउँमा चोक, मन्दिर, पाटीपौवा, ढुंगेधारा, इनार आदि छन्।  

चारैतिर हरियाली फाँट बीचको खोकना मल्लकालीन बस्ती हो। नेवारी कला, संस्कृितको खुल्ला संग्रहालय। खोकनामा फर्पिङ जलविद्युत् गृहबाट ल्याइएको बिजुलीबाट पहिलोपल्ट बत्ती बालेको घरसमेत छ।  तोरीको तेलका लागि खोकना प्रख्यात छ। परम्परागत शैलीमा कोलबाट तेल निकालिन्छ। बस्तीमा कलात्मक घर छन्। कृषि र मूर्ति कलामा निपुण गाउँले। गाउँमा धान, मकै, गहुँका साथै आलु, साग र काउली उत्पादन हुन्छ। बुढापाकाहरू हाकुपटासी र दौरा सुरुवालमा भेटिन्छन्। 

खोकनामा होटल, लज छैनन्। तर, खानाको समस्या छैन। बस्तीमा नेवार परिकार बेच्ने पसल छन्। योमरी मिठाई पाइन्छ। पिठोभित्र चाकु वा खुवा राखेर बफाइन्छ जुन शक्तिबद्र्धक हुन्छ। जाडोमा खाँदा न्यानो हुन्छ। साइक्लिङका लागि पनि खोकना राम्रो गन्तव्य हो। बर्सेनि हेरिटेज राइडमा १५ किमी लामो साइकल यात्रा गरिन्छ। जसमा तीन वटा सम्पदा वसन्तपुर, वुङमती र खोकनालाई जोडिएको छ। वसन्तपुरबाट बल्खू चोभार, चाल्नाखेल, बुङमती हुँदै खोकना पुग्न १५ किमी। 

विद्युतगृह
नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत आयोजनाको पावर हाउस। विसं १९६८ सालमा बनेको गृह काठमाडौंबाट १५ किमी दक्षिणमा पर्छ। पुरानो शैलीको घर। सिमेन्टको ठाउँमा बज्र र सुर्कीले बनाइएको छ। १२ वैशाखको भुइँचालोले पनि त्यति क्षति नभएकोे १०७ वर्ष पुरानो भवन अहिले पनि जस्ताको तस्तै देखिन्छ।

करिब १२ सय मिटर उचाइमा छ गृह। चन्द्र शमशेरको पालामा बनाइएको विद्युतगृह देशकै एतिहासिक सम्पदा हो। उहिले राणकालमा बेलायत जाँदा त्यहाँ बत्ती बलेको देखेर चन्द्र शमशेरले यो विद्युतगृह बनाएका हुन्। भित्र दुइटा टबाइन मेसिन छन्। ५ सय वाट विजुली उत्पादन गर्ने क्षमता छ। तर, पानीको समस्याले बिजुली उत्पादन बन्द छ। यहाँको पानी खान मात्र प्रयोग हुन्छ। हाल मेसिनलाई सुचारु गर्न र घुमन्तेलाई देखाउन दिनमा १ घण्टा मात्रै चलाइन्छ। त्यसबाट उत्पादन हुने १३० वाट ललितपुरमा वितरण गरिन्छ।   

हाम्रो जलस्रोको धनी देश। तर, गलत व्यवस्थापनका कारण अहिले खानेपानी र विजुलीको कमी छ। यसलाई व्यवस्थित गरेर पावरहाउस संचालनमा ल्याउन सके उपत्यकालाई राहत दिन सकिने त्यहाँ कार्यरत इन्जिनियर राजेश श्रेष्ठ बताउनु हुन्छ। यसमा खानेपानी संस्थान र विद्युत प्रधिकरण मिलेर काम गर्नुपर्छ।

विजुली उत्पादन भएको सय वर्ष नाघिसक्यो। पावर हाउस आफैंमा सुन्दर छ। त्यहाँ राम्रा होटल र होमस्टे हुने हो भने एक रात बिताउन र अध्यय भ्रमण गर्न सजिलो हुने थियो।  यहाँको अधिकांश पानी ललितपुरमा वितरण भैरहेको छ। पानीको सही व्यवस्थापन गरी विजुली उत्पादन गर्नु पर्ने देखिन्छ। ऐतिहासिक गढी पनि हो पावर हाउस क्षेत्र। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा बनाएको गढीको भग्नावशेष छ। नजिकै कोट देवी छन् जुन जीर्ण भैसक्यो। यसको जतिसक्दो चाँडो संरक्षण हुनु पर्छ।  

पानीपोखरी
नीलो पोखरी। चिसोचिसो हावा अनि नीलै आकाश। चारैतिर खेतीयोग्य जमिन। सफा खेतका गरा, तलतल काठमाडौ र ललितपुरका दृश्य। फर्पिङ पावर हाउस (१४,००मिटर)बाट देखिने दृश्यले सबैको मन र मस्तिष्कलाई  शितल बनाउँछ।  
विद्युतगृहमाथि पानी संकलन गरिएको पोखरी छ। त्यहाँ दुई ठाउँबाट पानी ल्याइन्छ, शेषनारायण र सातमुलबाट। 
पोखरी हाताबाट काठमाडौं र ललितपुरका दृश्य मात्र होइन, पश्चिमदेखि उत्तरपूर्वसम्म हिमालका लस्कर पनि देखिन्छ। हरेक दिन यहाँ फिल्म सुटिङ हुन्छ। पानी पोखरी वरपर घुम्न आउने घुमन्तेको भिड लाग्छ। स्कुल र कलेजका विद्यार्थी अध्ययन भ्रमणका लागि आउँछन्। 

पोखरी वरपर खाजा पसल छन्। पोखरीभन्दा मुनि विद्युतगृह सय वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बनेको टावर छ। जहाँबाट चारैतिरको राम्रो दृष्य देखिन्छ। बाटोमा हिँड्दा भने मनमा एउटा कुराले नराम्रो लाग्यो। ठाउँठाउँमा चुहिएर पानी  खेर गएको। यसको व्यवस्थापन गरेर सदुपयोग गर्नु पर्ने देखिन्छ।  

गोपालेश्वर वन
पानीपोखरीबाट ३ किमी दुरीमा रहेको गोपालेश्वर धार्मिक वन हो। स्थानीय केदार केसीका अनुसार वनमा उहिल्यै कृष्ण भगवान ग्वालासँग आएका थिए। त्यतिबेला कामधेनु गाईले वनमा दूध चढाएको देखेर ‘के रहेछ’ भनेर हेर्दा त्यस ठाउँमा महादेवको मूर्ति भेटियो। र, मन्दिर बनाइयो। भगवान कृष्ण ग्वालासँग आएकाले र महादेव भेटिएकाले वनको नाम गोपालेश्वर रहन गएको भनाइ छ। 

वनको चौरमा बसेर खाजा खान सकिन्छ। वनमा गणेश छन्। वनमा बसेका हुनाले वन गणेश भनिएको। गणेश मन्दिर नजिकै कुण्ड र पाटी छ। कुण्डमा पानी छैन। गणेश मन्दिरबाट २ किमी मुनि शिखरेश्वर महादेव छन्। ठूलो चट्टानको कापमा छन् महादेव र त्रिशुल। महादेवथानबाट सिंढी बनाइएको छ। गोपालेश्वर महादेव भने भुइँचालोले भत्केकाले पुनः निर्माण हुँदैछ। वन गणेश र शिखरेश्वरलाई सफा गरेर गोपालेश्वर वनमा पिकनिक स्पट बनाउन सके चहलपहल बढ्न सक्छ। 

यति मात्र होइन, फर्पिङ क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। चारैतिर हरिया डाँडा,  खेतका गरा अनि गाउँले जीवनशैली। यी सबैलाई समेटेर होटल, होमस्टे र पिकनिक स्पट बनाउन सके पर्यटकको भिड लाग्छ। हामी खोकनाबाट पदयात्रा सुरु गरेर विद्युत गृह हुँदै पानी पोखरी पुगेका थियौं। पानीपोखरीबाट सिधा दक्षिण लाग्यौं। त्यहाँ दुई बाटा छन्। माथिल्लो र तल्लो। हामी तल्लोबाटो लाग्यौं। तल्लोबाटोबाट सिँढी ओर्लंदै शिखरेश्वर हुँदै गोपालेश्वर वनको उकालो लाग्यौं। वन गणेशको चौरमा बसेर स्वास्थबद्र्धक आहार खायौं र केही बेर अन्तरक्रिया गरेर वनको टप (१,६०० मिटर) पुगेर फेरि गाउँको बाटो भएर पानी पोखरीतिर लाग्यौं। पोखरीबाट स्वखेलको सुन्तलाबारी पुग्यौं। 
सबै पदयात्रीले सुन्तला किने। सुन्तला बोटबाटै सुन्तला खान र किन्न पाउदा सबै रमाए। सुन्तला किनेर हामीले सातमुल हुँदै दक्षिणकालीको मुल बाटोसम्म पदयात्रा ग-यौं। त्यहाँबाट खोकना भएर फेरी छ्यासीकोट हुँदै नख्खुखोलाबाट सातदोबाटोसम्म पदयात्रा गर्न सकिन्छ। 

यहाँबाट फर्पिङका दक्षिणकाली र चम्पादेवी पदयात्रा गर्न सकिन्छ। गोपालेश्वर वन हाइकिङलाई मात्र होइन, साइक्लिङका लागि पनि उपयुक्त छ। वनमा भ्यू टावर र पिकनिक स्पट बनाउन जरुरी छ। हामी त पुग्यौं ऐतिहासिक पावर हाउस अनि सुन्तला बारीमा। तपाईहरू पनि सुन्तला खान जान होइन त ?

कसरी पुग्ने : लगनखेलबाट सातदोबाटो हुँदै खोकनासम्म गाडीमा। खोकनाबाट गाउँको बाटो हुँदै विद्युतगृह, पानीपोखरी हुँदै गोपालेश्वर वन र त्यहाँबाट फेरि पानीपोखरी, सुन्तलाबारी, सातलमुल हुँदै दक्षिणकाली रोडसम्म पदयात्रा गर्ने। खोकना–पानीपोखरी ४ किमी, पानीपोखरी–गोपालेश्वर वन ३ किमी, वन–दक्षिणकाली रोड ६ किमी। जम्मा पदयात्रा दूरी १३ किमी। समय : ५ घण्टा। सबैतिर मोटर बाटो छ। 

जन बोली 
ज्ञानभक्त डंगोल अधिवक्ता हुनुहुन्छ। स्वास्थ्य राम्रो हुने र नयाँ ठाउँ देख्न पाइने भएकाले हाइकिङ गर्नु पर्नेमा उहाँको जोड छ। ‘आफ्नो गाउँमा रहेका मिल्ने ठाउँमा पहिला हामी आफैं हिँड्नु पर्छ’, ज्ञानभक्त भन्नुहुन्छ, ‘अब हाइकिङ चेतना जगाउँछु।’ 

सर्वज्ञा अवाले सेन्ट मेरिजमा ६ कक्षामा पढ्नु हुन्छ। उहाँ आमाबाबासँग बेलाबेलामा हाइकिङ गर्नु हुन्छ। ‘टिभी र मोबाइल फोन हेरेर बस्नुभन्दा घुम्दा धेरै कुरा सिक्न सकिन्छ’, सर्वज्ञा भन्नुहुन्छ, ‘सुन्तला बारीमै पुगेर सुन्तला किन्दा झन् रमाइलो भयो।’ 

प्रकाशित: २६ माघ २०७५ ०५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App