पुस्तक चर्चा

इमानदार लेखनको प्रयास

शनिबार, २६ माघ २०७५, १० : ०२ जयदेव गौतम

जीवनको ऊर्जाशील समय राजनीतिमा बिताएका राधाकृष्ण मैनालीले लेखेको संस्मरणात्मक कृति हो– नलेखिएको इतिहास।  बहुचर्चित झापा विद्रोहदेखि सुरु गरेरर ०७२ सालसम्मको समकालीन राजनीतिक उथलपुथलपूर्ण परिदृश्य समेट्ने क्रममा पुस्तकमा मैनालीले आफ्नो पारिवारिक इतिहास, बाल्यकाल, युवावयका प्रसङ्ग उल्लेख गरेका छन्।  यति भएर पनि पुस्तक उनको आत्मकथा नभएर मैनाली प्रत्यक्ष संलग्न रहेका अथवा तत्कालीन समयमा उनका वरिपरि भएका घटना एवम् तीनमा संलग्न पात्रबारे धेरै प्रसङ्ग समेटेर तयार पारिएको संस्मरण कृति बन्न पुगेको छ।  
अल्केमी पब्लिकेसन्संले प्रकाशन गरेको ‘नलेखिएको इतिहास’ १७ वटा शीर्षक र अनेक उप–शीर्षक समेट्दै ३१२ पृष्ठ लामो बनेको छ।  यो पुस्तक पढ्ने र मैनालीलाई भेटेका वा केही संगत गरेका मानिसले सहजै भन्न सक्ने कुरा हो– मैनाली व्यक्तिगत र राजनीतिक जीवनमा जति सरल छन्, उनको लेखन र भाषाशैली पनि उत्तिकै सोझो र सरल छ।  उनी राजनीतिमा जसरी इमान्दार भएर लागिरहे, संस्मरण लेखनमा पनि उत्तिकै इमान्दार प्रतीत हुन्छन।  

झापा आन्दोलनको आरम्भदेखि पुस्तकको सुरुआत गरेर मैनालीले यसमा साथीहरू र आफ्नो गिरफ्तारी, जेलनेल, यातनादेखि लिएर रिहाइ, ०४६ सालको संयुक्त जनआन्दोलन र त्यसमा भूमिगत नेतृत्व, एमालेको गठन र संयुक्त वाममोर्चा निर्माण, महाकाली सन्धि, मन्त्री हुँदा र विकास अनुभव, राजाको सरकारमा बस्दाकोे अनुभव, माओवादी पार्टीमा प्रवेश गरिसकेपछिको अनुभव, फेरि एमालेमा फर्कँदाको अनुभव उल्लेख गर्दै सत्रौं र अन्तिम अध्यायका रूपमा मूल्याङ्कनको कसीमा आफ्नै मित्र नचिन्ने दरबार, वीपी र वामपन्थी, वामपन्थी आन्दोलन कुहिरोको काग, आफैँतिर फर्केर हेर्दा, पछुतो छैन आदि उपशीर्षक दिँदै जीवन के हो भन्ने अन्तिम उपशीर्षक राखेर पुस्तक समापन गरेका छन्।  
झापा विद्रोहमा लागेर सुखानीका सहिद भनी अमर भएका रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठबारे मैनालीले पुस्तकमा सविस्तार उल्लेख गरेका छन्।  एउटा बेग्लै अध्यायमा इमान्दार र निडर युवा रामप्रसाद प्रधानलाई ग्वालीभित्रै भाटा, भाला प्रहार गरेर बाहिरैबाट घोचीघोची मारेको पनि उल्लेख छ।  

मैनाली झलनाथ खनाल र माधव नेपालको जालझेलको सिकार बन्दछन्।  पुस्तकमा उनले माधव नेपालमा अत्यधिक पदलोलुपता रहेको उल्लेख गरेका छन्।  मनमोहन नेतृत्वको अल्पमत सरकारमा बलपूर्वक उपप्रधान तथा रक्षामन्त्री बनेको प्रसङ्गदेखि ज्ञानेन्द्रकालमा प्रधानमन्त्री बन्न दरबारको गेटमा पुगेर निवेदन हालेको प्रसङ्ग समेत उल्लेख गरेका छन्।  


आफू मन्त्री भएर काम गर्दा मैनालीले भोगेका अथवा आफू जेलमै हुँदा चिनेका केही असल, इमान्दार र सक्षम कर्मचारीहरूको खुलेर प्रशंसापूर्ण वर्णन गरेका छन्।  दानबहादुर शाही, डा. सुरेन्द्र श्रेष्ठ, माधवप्रसाद शर्मा, भोजराज पोखरेल आदि कर्मचारी यस पंक्तिमा छन्।  मैनालीले नेताहरूमध्ये डा. के.आई. सिंह, टंकप्रसाद आचार्य, शान्ता मानवी, जीवन घिमिरे, मोदनाथ प्रश्रित आदिलाई निष्ठावान नेताको कोटीमा राखेर वर्णन गरेका छन्।  उनले प्रश्रितबारे लेखेका छन्, ‘उनी मन्त्री हुनेतिर नलागेको भए नेपाली समाजमा उनको व्यक्तित्वले अहिलेको भन्दा बढी योगदान दिने थियो।  उनी धेरै सिर्जना गर्न सक्ने साहित्यकार हुन्।  प्राग वैदिक शास्त्र, वेदलगायतमा उनको गहिरो दख्खल छ।  सौन्दर्यमाथि मोदनाथले जति कलम चलाउन कसैले सक्दैन।  ... उनमा समानतावादीभन्दा नारीवादी चेत बढी छ।  ... उनले मन्त्री बनेपछि बदनामी कमाए।  बदनामीको पगरी भिराइयो पनि।  उनको सिर्जना भने छायामा पर्‍यो। ’

मैनालीले पुस्तकमा द्रोणाचार्य क्षेत्रीको कन्याप्रियताबारे पनि चर्चा गरेका छन्।  अनेक घटनामा रंगेहात भेटिँदासमेत विभिन्न बहाना गरेर उनलाई बचाएको, ०४४ सालमा मैनाली जेलबाट छुटेपछि पनि क्षेत्रीलाई कन्या काण्डबाट बचाएको, पुनः ०४८ सालमा पनि यस्तै काण्डमा मुछिएका बेला पनि जोसँग उनको अवैध सम्बन्धको आरोप लागेको थियो, ती महिलासँग द्रोणाचार्यको ‘चिनाजानी नै छैन’ भन्ने पारेर जोगाएको उल्लेख गरेका छन्।  शिक्षक द्रोणाचार्य झापामा लोकप्रिय थिए।  ०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा उनी झापाबाट जनपक्षीय उम्मेदवार बनेर विजयी बनेका थिए।  मैनाली लेख्छन्, ‘एमालेले झापामा पहिलो संसदीय निर्वाचन सबै क्षेत्रमा आफ्नो पक्षमा बनाउनुको एउटा कारण द्रोणाचार्यको पपुलर फिगर पनि थियो। ’ 

विसं २०२५ सालदेखि सक्रिय कम्युनिस्ट आन्दोलनमा लागेका मैनालीले आफ्नै अगुवाइमा मदन खपाङ्गी, बीरेन राजवंशी, मोहनचन्द्र अधिकारी, रामनाथ दाहाल आदि साथीहरूको सहयोगमा पटकपटकको बैठकपछि ‘सामन्तहरूविरुद्ध किसान आन्दोलन चलाउने’ निर्णय गर्छन् वैशाख ०२८ मा।  वैशाख ९ गते अर्थात् २२ अप्रिल लेनिन जयन्तीका दिन ‘वान एरिया वान युनिट, वान स्क्वाड वान एक्सन’ को कार्यक्षेत्रसहित पहिलो ‘गुरिल्ला स्क्वाड’ गठन गर्छन्।  स्क्वाड गठन गरेको २३ औँ दिन जेठ २ गते झापा विद्रोहको पहिलो एक्सन धावा ज्यामिरगढीका कर्णबहादुर गौतमविरुद्ध भयो।  दोस्रो एक्सन २०२९ वैशाखमा शनिश्चरे बुटाबारीका बुटन चौधरीविरुद्ध भयो भने तेस्रो असारमा गरामनीका विष्णुप्रसाद बिमली र ईश्वरीप्रसाद चुडालविरुद्ध, चौथो एक्सन कात्तिकमा गरामनीकै उद्रकान्त राजवंशीविरुद्ध, पाँचौँ पुस १० गते शनिश्चरेका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकालमाथि भएको थियो।  त्यसैगरी छैटौं एक्सन २०३० कात्तिक ४ गते दुवागढीका ज्ञानबहादुर बस्नेत र सातौं एक्सन बुधबारेका भक्तबहादुर कोइरालाविरुद्ध भएको थियो यद्यपि यी एक्सनमध्ये कोइरालालाई भने भौतिक सफाया गरिएनछ।  मैनाली लेख्छन्, ‘२०२८ जेठदेखि २०३० साल कात्तिकसम्म चलेको झापा विद्रोहमा सातजना सामन्त जमिन्दारमाथि (भौतिक) एक्सन भयो भने तत्कालीन शासकले हाम्रा ११ जना योद्धाको हत्या गर्‍यो। ’

मैनाली ०३० साउन २० गते पक्राउ पर्छन्।  उनीसँगै नरेश खरेल, नारद गौतम, सीता खड्का, दिलबहादुर पनि पक्राउ पर्छन्।  प्रहरी घेरा तोड्न खोज्दा चन्द्र डाँगीले प्रहरीको गोली लागेर शहादत प्राप्त गर्छन्।  मोहनचन्द्र अधिकारी, केपी ओली, सीपी मैनाली, हर्क खड्का, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुँइकेल, नारायण श्रेष्ठ, बीरेन राजवंशी, मदन खपाङ्गी आदिसमेत झापा आन्दोलनका सबै अगुवा गिरफ्तार भइसकेका हुन्छन्।  त्यसपछि सुरु भएको थियो नेल, यातना, अथाह कुटाइ र हत्याको शृङ्खला।  यो बीचमा सीपी मैनाली आदि जेल तोडेर फरार हुन्छन् र बनारसमा बसेर काम गर्दै नेकपा माले पार्टी गठन गर्छन् जुन आज झ्याँगिदै एमाले हुँदै नेकपा बनेर दुई तिहाई जनमतसहित सत्तारुढ दल बनेको छ।  

झापाव्यापी को–अर्डिनेशन केन्द्र हुँदै अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन केन्द्र गठन भएपछि कालान्तरमा यसैलाई मालेको स्वरूप दिइएको थियो।  पछि मुक्ति मोर्चा समूह आदिसमेत अनेक वाम समूहहरू मालेमा मिसिँदै गएर नेकपा माले देशकै ठुलो कम्युनिस्ट पार्टी बनेर उदाउन सफल भएको थियो।  

मैनाली एकैपटक ०४३ मंसिर १७ गते रिहा हुन्छन्।  पछि फेरि छोटो समयका लागि पक्राउ पर्छन्।  यसरी उनले कुल १४ वर्ष केही महिना पञ्चायती जेलहरूमा बिताएका हुन्छन्।  रिहाइपछि उनी तीव्र राजनीतिक भेटघाट, देशभर जनउभारको लहर चलेका बेला त्यसमै पूर्ण तन्मयतासाथ होमिए।  अन्ततः ०४६ चैत्र २६ गते राति १० देखि ११ बजेसम्म राजा वीरेन्द्रसँग छलफल गर्न पुग्छन् नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाबाट अध्यक्ष सहाना प्रधान र मैनालीसहित चारजना आन्दोलनकारी नेता।  उनीहरूबीच वार्ता हुन्छ।  लगत्तै राजा वीरेन्द्रले दलहरूमाथिको प्रतिबन्ध फुकुवा भएको देशव्यापी घोषणा गरेका थिए।  फेरि जनलहर चर्कोगरी उठ्यो, जनदबाब ह्वात्तै बढ्यो र पञ्चायती शासन पनि समाप्त भयो।  

०४६ साल चैत्र २७ गते खुलामञ्चमा आन्दोलनकारी नेताहरूले भाषण गर्ने सन्दर्भमा पार्टीका सहयोद्धाहरूले मैनालीलाई भाषण गर्न दिँदैनन्।  प्रसङ्गवश मैनाली लेख्छन्, ‘मालेमा त्यतिबेला जेलबासी र भूमिगतबासीबीच ठुलै दरार बढ्दै थियो।  जेलबासीहरू आफ्नो नाम बेचेर भूमिगतबासीहरूले पार्टी बनाएको ठान्थे, अर्कोतिर भूमिगतबासीहरू भने जेलबासीहरूलाई आनन्दले बसेर खाएको देख्थे।  जेलमा कतिबेला मारिने हो टुंगो नभएको उनीहरूले बुझ्न त परै जाओस्, अनुभूतिसमेत गर्न सक्दैनथे।  भलै जेलबाहिरको भूमिगत अवस्था पनि सुरक्षित चाहिँ थिएन।  ... झापालीलाई उग्रपन्थी मात्रै देख्ने र पार्टी आफूले मात्र बनाएको ठान्ने अर्को धार पनि थियो मालेमा।  यस मामिलामा झापालीहरूबाहेक प्रायः सबै एक ठाउँमा उभिन्थे। ’

मैनाली झलनाथ खनाल र माधव नेपालको जालझेलको सिकार बन्दछन्।  पुस्तकमा मैनालीले माधव नेपालमा अत्यधिक पदलोलुपता रहेको उल्लेख गरेका छन्।  मनमोहन नेतृत्वको अल्पमत सरकारमा बलपूर्वक उपप्रधान तथा रक्षामन्त्री बनेको प्रसङ्गदेखि ज्ञानेन्द्रकालमा प्रधानमन्त्री बन्न दरबारको गेटमा पुगेर निवेदन हालेकोसम्मका प्रसङ्गहरू उल्लेख गरेका छन्।  

कालान्तरमा मैनालीलाई एमाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिन्छ।  त्यो खाली समयमा उनी राजा ज्ञानेन्द्र नेतृत्वको राजावादी सरकारमा मन्त्री बन्न पुग्छन्।  एक प्रसङ्गमा उनी दरबारमा भएको बैठकमा खाजाको सन्दर्भमा अनौठो घटना उल्लेख गर्छन् र लेख्छन्, ‘बैठकमा खाजा पानीको समेत व्यवस्था नहुने हो भने कसरी बैठक बस्न सक्छ सरकार ?’ मेरो कुरा सुनेर टाउको हल्लाउँदै राजाले भने, ‘मन्त्री, त्यस्तो हो भने केही पाकेट बिस्कुट किन्ने र गोजीमा राख्ने।  बैठक कक्षको यसो छेउमा सानो पर्दा लगाइएको छ, त्यहाँ पानी राखिएको हुन्छ।  त्यहीँ छिरेर स्वाट्ट पानी र बिस्कुट खाने। ’ राजाको जवाफले म तिनछक परेँ। ’

मैनालीले दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले नै गरेको ठहर गरेका छन्।  उनी खासमा राजा वीरेन्द्रलाई मात्र मार्न गएकोमा परिस्थितिवश भिषण संहार हुन पुगेको लेखेका छन्।  उनले पारस शाह प्रजातान्त्रिक सोच भएका उदार व्यक्तित्व रहेको भन्दै प्रशंसा गरेका छन् भने ज्ञानेन्द्रलाई अहंकारी, हठी र निरकुंश उल्लेख गरेका छन्।  मैनाली लेख्छन्, ‘बाबु राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा युवराज पारसको सहमति थिएन।  राजा नै प्रधानमन्त्री भएर सबै अधिकार हातमा लिनु गलत हो भन्ने उनको अडान थियो।  पुराना पञ्चहरूलाई आफ्ना बाबुले साथमा लिएपछि ‘लामो समयसम्म शासन सत्ता चल्दैन, बाबुले कहाँ लगेर डुबाउने हुन्’ भन्नेमा उनी चिन्तित थिए। ’ 

पुस्तकमा गणेशमान सिंहको उच्च प्रशंसा गरेका मैनालीले कतिपय नेताहरूको मूल्याङ्कन गरेका छन् संक्षिप्तमा।  उनले सबैभन्दा बढी प्रशंसा मनमोहन अधिकारी, सहाना प्रधान र मदन भण्डारीको गरेका छन्।  दासढुंगा दुर्घटनामा भण्डारीको मृत्युलाई नेपाली राजनीतिकै ठुलो दुर्भाग्यका रूपमा लिएका मैनालीले भण्डारीलाई विचित्रका व्यवहारवादी, राष्ट्रवादी, दूरदर्शी, चट्टानजस्तो अडान भएका, अरूका कुरा नसुन्ने, विकासप्रेमी तर घरमा श्रीमतीका सन्दर्भमा सामन्ती सोच अर्थात् घरको काम श्रीमतीले नै गर्नुपर्छ भन्ने सोच भएका व्यक्ति भएको उल्लेख गरेका छन्।  उनले प्रचण्ड र वामदेव गौतमलाई अन्य सकारात्मक पक्षका अलावा अत्यन्त अस्थिर चरित्रका भएको र दीर्घकालीन योजना र अडानमा नहिँड्ने व्यक्तित्व बताएका छन्।  

केपी ओली झापाकाल, जेलबसाईं र रिहाइपछि पनि धेरै कालसम्म मैनालीका मन मिल्ने साथी थिए।  पछि उनीहरूबीच दूरी बढ्न गयो।  केपीले उग्रवादको डटेर विरोध गर्ने र आफ्ना विश्वासपात्रलाई राम्रैसँग च्याप्ने, प्रधानमन्त्री बनेपछि देश विकास र समृद्धिको सपना देखाएको अनि सपना पूरा भएको दिन नेपालीले अवश्य केपीलाई सम्झने उल्लेख गरेका छन्। 

मैनालीले भाइ सीपी मैनालीबारे भनेका छन्– सीपीलाई आफ्ना कमजोरी सुधार गर्नुपर्दा न्यूनतम छ महिना लाग्छ।  रेल घुमेजस्तै ठुलो चक्कर काटेपछि मात्र उनी आफ्नो  विचारमा परिवर्तन महसुस गर्न तयार हुन्छन्।  त्यतिबेलासम्म परिस्थिति प्रतिकूल बनिसकेको हुन्छ।  ... सीपी बाहिर उदार नेता भनेर चिनिएका छन् तर भित्रचाहिँ संकीर्ण।  संकीर्ण भएकै कारण उनी जनताका नजरबाट ओझेल छन्।  

जेलमा बस्दा आफूलाई भेट्न आएको किशोर छोरालाई चिन्न नसकेर ‘ऊ को हो’ भनी सोधेको मार्मिक प्रसङ्ग उल्लेख गरेका राधाकृष्ण मैनालीले आफूले बिताएको जिन्दगीप्रति कुनै पछुतो नरहेको उल्लेख गर्दै लेखेका छन्– ‘मरे पनि जनताकै लागि, बाँचे पनि जनताकै लागि भन्ने आदर्शले वशीभूत गरेकै कारणले सन्त्रासबीच जेलजीवन गुजारेँ।  ... म जहिले पनि यथार्थ कुरो रुचाउँछु।  जे गर्न सकिन्छ त्यसलाई मात्र बोकेर हिँड्छु।  पूरा गर्न नसक्ने सपनाहरू बाँडेर जनतालाई भ्रममा पार्न नहुने मान्यता बोक्छु। ’ 
‘नलेखिएको इतिहास’ संस्मरण नेपाली राजनीतिक इतिहासको एउटा लामै कालखण्डको आँखीझ्याल हो।  विसं ०२५ सालदेखि ०७२ सम्मको लगभग पाँच दशकको राजनीतिक इतिहासको झल्को पुस्तकमा पाउन सकिन्छ।  यस मानेमा यो एक महत्वपूर्ण पुस्तक हो  ।  

यो पुस्तक आफैँमा भने व्यवस्थित लेखन होइन।  धेरैभन्दा धेरै प्रसङ्गहरूलाई खाँदेर राखिएको प्रतीत हुन्छ।  मानौं मैनाली आफ्ना सारा कुराहरूलाई यसै एउटै पुस्तकमा पस्किन चाहन्थे।  वास्तवमा यो पुस्तकलाई मैनालीले आत्मकथाका रूपमा दुई खण्डमा लेखेको भए उत्तम हुने थियो।  पहिलो खण्डमा पारिवारिक वर्णन, विद्यार्थी काल, झापा आन्दोलन र जेल जीवनदेखि रिहाइसम्मका प्रसङ्गहरू दिँदा राम्रो हुन्थ्यो भने दोस्रो खण्डमा रिहाइपछिको सक्रियतादेखि पछिल्लो कालखण्डसम्मको सविस्तार वर्णन दिन सकेको भए दुइटा उम्दा कृति नेपाली वाङ्मयले प्राप्त गर्ने थियो।  

‘नलेखिएको इतिहास’मा झापा आन्दोलनदेखि अन्य धेरै प्रसङ्ग क्रमबद्ध छैनन्।  कुन प्रसङ्ग कता लगेर जोडेजस्तो पटकपटक महसुस हुन्छ।  तर साँचो कुरा के पनि हो भने मैनालीले यो पुस्तक हृदय खोलेर, मन फुकाएर र छाती मजबुत बनाएर लेखेका छन्।  त्यसकारण पुस्तक पढ्दै जाँदा एक किसिमको आनन्द आउँछ र लेखकलाई धन्यवाद दिन पनि मन लाग्छ।  

जेलमा बस्दा अनेक प्रमुख कांग्रेसी नेतासित संगत गरेको भए पनि मैनाली आजीवन वामपन्थी राजनीतिमा होमिएका हुँदा पुस्तक मूलतः वामपन्थी र राष्ट्रिय राजनीतिक घटना–परिघटनाहरूमा केन्द्रित रहेको तथ्यलाई अन्यथा मान्नु हुँदैन।  यो नितान्त स्वाभाविक हो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad