८ वैशाख २०८१ शनिबार
अन्य

अँध्यारो रहेन बेलका

‘बेलका’ शब्दै अँध्यारोसँग सम्बन्धित त। त्यसैले बेलकाको भेट उज्यालोसँग करिब करिब असम्भवै छ भन्दा हुन्छ। ‘हामी नदीका दुई किनारा, हाम्रो मिलन असम्भव छ’– गीतको बोलजस्तै दुई किनाराका बसोबासी हुन् बेलका र उज्यालो। तर यो ध्रुवसत्यलाई चुनौती दिँदै अघि बढेको छ यतिबेला बेलका। अर्थात बेलका नगरपालिका। हो, उदयपुरको पूर्वी भागमा अविरल बहने सप्तकोशीको किनारमा अवस्थित बेलका नगरपालिका यतिबेला उज्यालो यात्रामा छ, विकासको उज्यालो। 

यसरी अँध्यारोको पर्यायका रूपमा चिनिने बेलकालाई उज्यालोमय बनाउने अभियानमा दीप बनेर लागेका छन् नगर प्रमुख दुर्गाबहादुर थापा (स्वस्ती)। भाषण गर्ने, अरुलाई उपदेश दिने र सबैलाई खराब पात्रका रूपमा चित्रण गरी आफू अग्लो बन्न खोज्ने नेपाली राजनीतिको विशेषतै हो। तर यी थापा अपवाद भेटिए। किन ? किनकि उनी कत्ति न जान्ने भएर अरुलाई सिकाउनुअघि त्यो काम आफैँ गर्छन्। अरुलाई देखाउँछन्। अनि गर्न प्रोत्साहित गर्छन्। उनले नगरपालिकाको  कार्यालय परिसरमै ‘डेमोस्ट्रेसन प्लट’ बनाएका छन्। विभिन्न कामले नगरपालिका आउने सर्वसाधारणले त्यहाँ प्रदर्शन  गरिएका  माछा पालन,  थोपा सिँचाइ विधि, मौरी पालन, मेवा खेती, टनेल खेती, गँड्यौला पालन आदि हेरेर मनोरञ्जनमात्र लिँदैनन्, आफू पनि त्यस्तै गर्ने अठोटसमेत बोकेर फर्कन्छन्। ‘वास्तवमा यसको उद्देश्य पनि यही त हो’– दुर्गा मुस्कुराउँदै प्रतिक्रिया व्यक्त गर्छन्।

उदयपुरको पूर्वी भागमा बग्ने सप्तकोशीको किनारमा अवस्थित बेलका नगरपालिकामा यतिबेला विकासको सूर्योदय भएको छ। निर्वाचित भएलगत्तै मेयर दुर्गाबहादुर थापाले नगरबासीलाई  यसो गर, उसो गर भन्ने उपदेश र भाषण हैन, यसरी गर्ने भनेर आफैँ कामको श्रीगणेश गर्ने सूत्र कार्यान्वयनमा ल्याएका छन्। 

‘मुखले भनेको भन्दा पनि गरेरै देखाएपछि धेरैले सिक्दा रहेछन्’, उनले थपे– ‘यहाँ विभिन्न काम लिएर आउनेले थप नयाँ कुरा सिकेर लैजान थालेका छन्।’ उनले मल बनाउने, पानी जम्मा गर्ने, नर्सरी हुर्काउने जस्ता तरिका पनि पालिकाकै करेसाबारीमा तयारी गरेका छन्। जसका कारण सेवाग्राहीले दोहोरो फाइदा लिन सकेका छन्। 

‘आर्थिक समृद्धि, सामाजिक न्याय र भौतिक पूर्वाधार, सुशासन र सामाजिक परिचालन दिगो विकासको आधार’– यो नगरपालिकाको मन्त्र हो। ‘जहाँ अवसर त्यहाँ नगर’– यो नगरपालिकाको सिद्धान्त हो। अनि ‘उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात’ यसको अठोट हो। त्यसैले त  नगरपालिकाले समृद्धि परियोजनाअन्तर्गत चक्लाबन्दी खेती पनि सुरु गरेको छ। विकासबाट प्रभावितहरूका लागि विकास कार्यक्रम सञ्चालन गरेको छ अनि परम्परागत प्रणाली र वैज्ञानिक विधिबीच अन्तरघुलनको माध्यमबाट नगरको विकासको गति अगाडि बढाउने मार्ग पनि तय गरेको छ। 

पर्यटकीय हिसावले पनि निकै महत्वपूर्ण छ– बेलका। त्यसैले यी मेहनती नगर प्रमुखले आफ्नो गाउँपालिकामा इच्छुक किसानलाई फूल रोप्ने तालिम दिलाए। ‘हामीले फूल फुलाउने तालिम दियौँ, उनीहरूले आआफ्नो क्षेत्रमा सिप फुलाए’– निकै हौसिएका प्रमुख दुर्गाबहादुरले सुनाए।  कृषि उत्पादन आधार वर्ष पनि मनाइसकेको छ यो गाउँपालिकाले। यस क्रममा जमिन व्यवस्थापन गर्ने काम जारी छ। ‘नगरको प्रोत्साहनकै कारण तरकारी खेतीतर्फ स्थानीयको रुचि बढेको छ’, वडा नम्बर ९ का तेजबहादुर कार्कीले भने– ‘लामो समयसम्म बाँझो रहेको जमिनमा मैले पनि यसपटक   ब्रो काउली लगाएँ।’ भूमिहीन किसानका लागिसमेत बाँझो र अतिक्रमणमा परेका जमिन उपलब्ध गराएर खेतीपातीतर्फ प्रेरित गराउने उनको सोच साँच्चै पृथक लाग्छ। 

रैथाने अनुभव, क्षमता, ज्ञान र सिपलाई यहीँका समस्या समाधानका लागि प्रयोग गर्नु उनको प्राथमिकता हो। भनाइको मतलव उनी सबै आयातीत वस्तु राम्रै हुन्छ भन्नेमा विश्वास गर्दैनन्। अनि ज्ञान र क्षमता आफ्नै गाउँठाउँमै छ भन्ने ज्ञान पनि राम्रैसँग छ उनलाई। कृषिप्रधान मुलुकको उन्नति कृषि क्षेत्रबाटै हुन सक्छ भन्ने राम्रैसँग बुझेका उनले नगरमा सिँचाइका लागि बोरिङ र कुलो निर्माणमा जोड दिएका छन्। त्यसमा पनि स्वास्थ्यबर्धक तरकारी उत्पादनमा उनको ध्याउन्न छ। ‘विषाद कट्’, स्थानीय प्रविधिमा आधारित औषधि प्रयोगमा जोड दिन थाले। ३ सय १५ वटा त कृषि समूह नै गठन गरेका छन् उनले। जसमा तालिम लिएका २ सय ४ जना छ। तालिमेलाई आफ्नो सिप बाँडचुँड गरेर अघि बढ्न पनि बेलाबेला हौस्याइरहन्छन् उनी। 

बेलकालाई उज्यालोसँग साक्षात्कार गराउने उनको सक्रियता यतिमा सीमित छैन। उनी जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्छन। सातामा एकपटक जनताको घर दैलो पुग्छन्। उनीहरूका समस्या ध्यान दिएर सुन्छन्। अनि सक्ने भए समाधान सुझाउँछन्। नसक्ने भए बाटो देखाउँछन्। नगरले कृषि बालीमा बिमाको अभियान पनि सुरु गरेको छ। बैङ्किङ सेवा सजिलो बनाएको छ। किसानद्वारा उत्पादित सामग्री सङ्कलनका लागि सङ्कलन केन्द्र बनाइरहेको छ। ती  उत्पादन स्वदेशका बजारमा मात्र हैन, विदेशसमेत निर्यात गर्ने महत्वाकाङ्क्षा छ उनमा। 

नगरपालिकाले विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर उत्पादित सामग्री कतार निर्यात गर्ने योजनासमेत बनाएको छ।। यसका लागि कतारको सरकारी निकायसंँ सम्झौतासमेत भएको उनले खुसीसाथ सुनाए। त्यसैगरी कोशी नदीमा डुङ्गा सञ्चालन थालेका छन्। यसका लागि तालिम लिन चालकलाई चीन तथा भारत पनि पठाए। यात्रुको सुरक्षाको चासो पनि उत्तिकै छ उनमा। त्यसैगरी पर्यटक आकर्षित गर्न कोलुङ झरना र रानी छाँगोमा ‘क्यानोनिङ’ गराउने योजना पनि छ उनको। 
उनका आँखाले सकारात्मकता मात्र देख्छ। मनले सम्भावनामात्र देख्छ। हृदयले विकासमात्र महसुस गर्छ। त्यसैले त उनी चम्पाकोटमा प्याराग्लाइडिङको सम्भावना देख्छन्। नदीमा सिँचाइमात्र हैन, माछा पालन र बोटिङको बहार ल्याउन सकिने ठान्छन्। अनि बाँझिएको र प्रयोजनहीन जमिन भूमिहीनलाई दिएमा सुन फल्ने सपना बुन्छन्। त्यसैले त यी सबै सम्भावनालाई वास्तविकतामा उतार्न अनि सपनालाई विपनामा रूपान्तरण गर्न उनले स्थानीयलाई तालिम दिनुपर्ने ठानेका छन्। यही ठम्याइको नतिजा हो कि– गाउँमा तालिमे स्कुलै सञ्चालनमा ल्याएका छन्। त्यतिमात्र कहाँ हो र ? छिट्टै  विभिन्न दृश्य नियाल्दै नगर परिक्रमाका लागि पदमार्ग बनाउने योजनामा पनि उनको दिमागमा झल्झल्ती आइरहन्छ रे। 

कुरा सुन्दा लाग्छ, उनी विकास निर्माण र रचनात्मक कुरा अनि कामको सिर्जनाकै लागि जन्मेका हुन्। नत्र ज्येष्ठ नागरिकलाई  दिनभर समय बिताउने आकर्षक घर बनाउनेमात्र हैन, युवा पिँढीलाई समय कटाउने प्रीति चौतरी बनाउने योजनासमेत किन बुन्थे र ? ‘समयको मागअनुसार दुवै जरुरी हुन्’ भन्ने किन ठान्थे र ? यो योजनाको पुष्टि यसरी गर्छन् मेयर थापा– हामी परम्पराको ख्याल गर्दै आधुनिकताको पनि भरपुर स्वाद लिने अभियानमा छौँ। 

त्यसैले परम्परागत राजनीति उनको रोजाइको विषय हैन। सामाजिक विकासको सिद्धान्त बोकेर अगाडि बढिरहेका छन्। उनको यो सोचकै कारण हो कि नगरका विपक्षी पार्टीका नेता÷कार्यकर्तासमेत विकासका काममा हातेमालो गर्दै अघि बढेका छन्। ‘मैले पार्टीको सिद्धान्तअनुसार गर्न खोजेको भन्नेबित्तिकै हुने काम पनि भाँडिन्छ’, विरोधीलाई समेत साथ लिने उनको सिद्धान्त सुनाउँदै भन्छन्– ‘हाम्रो ठाउँ र आवश्यकताअनुसार सबैलाई समेटेर अगाडि बढ्दा सबैको सहयोग पाइन्छ।’ नगरमा विकासले गति लिन सक्नुको मूल कारण पनि यही देखिन्छ। 

उनको कार्यालयमा प्रत्येक महिनाको ७ गते नगरपालिकाको नियमित बैठक हुन्छ। त्यसैगरी महिनाको ५ गते विपक्षी पार्टीहरूसँग बैठक हुने गरेको छ। ६ गतेलाई चाहिँ आफ्नै पार्टीसँग बैठकका लागि छुट्याएका छन् उनले। उनको नगरपालिका यस्तो नमुना बनेको छ जहाँ विपक्षी दलका लागिसमेत कार्यालयको व्यवस्था छ। नगरमा रहेका हरेक विद्यालयमा मन्टेश्वरीको कक्षा सुरु गरिएको छ। अति विपन्न परिवारका बालबालिकालाई सरकारी स्कुलमा ल्याउन एउटा उपाय लगाएका छन्। जसका लागि आमा समूह गठन गरेर स्कुल पठाउने अभियानमा आमाहरूलाई परिचालन गरिएको छ। नीतिगतरूपमा राजनीति गरेका जनप्रतिनिधिका छोरा÷छोरीसमेत सरकारी विद्यालयमा पढाउन उनले दरिलै आह्वान पनि गरेका छन्। 

नाम बेलका रहे पनि विकासको ज्योतिद्वारा चौबीसै घण्टा नगरलाई उज्यालो पार्ने अभियानमा लागेका मेयर थापा भन्छन्– स–साना कुराको परिवर्तन हामी आफैँबाट गर्ने हो। त्यसो गर्न सकिए त्यसको प्रतिविम्ब सिङ्गो नगरमा देखिनेछ। 

प्रकाशित: २६ माघ २०७५ ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App