म पनि क्यान्सरको जोखिममा छु : डा. साेती

शनिबार, २६ माघ २०७५, ०९ : ४७ नागरिक

नेपालमा पनि क्यान्सरका कारण धेरैको मृत्यु हुने गरेको छ। कस्ता व्यक्ति क्यान्सरको जोखिममा छन् ? यसबाट बच्ने उपाय के हो ? प्रस्तुत छ– नागरिककर्मी पवित्रा सुनारले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. कमलराज सोतीसँग गरेको कुराकानीः

यो सेवामा लागेको कति वर्ष भयो ? 
१४ वर्ष भयो। वीर अस्प्ताल, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अलइन्डिया मेकिडलमा काम गर्दै डक्टर इन अन्कोलोजिस्ट गरेको हुँ। 

क्यान्सर भनेको के हो ? 
शरीरमा कोषहरू  हुन्छन्। कोष आफैं बन्दै–मर्दै गरिरहेका हुन्छन्। त्यही कोष अनियन्त्रित रूपमा वृद्धि हुने अवस्थालाई क्यान्सर भनिन्छ। 

कोष अनियन्त्रित बनाउने तत्वहरू के–के हुन् त ?  
शरीरमा नदेखिने जिन हुन्छ। त्यो जिन यसरी बनेको हुन्छ कि कोषलाई एकनासले काम गर्न दिँदैन। विभिन्न कोषमा ‘म्युटेसन’ भयो भने कोष रोकिँदैन र अनियन्त्रित रूपमा बढ्छ। विभिन्न विकिरण जुन एक्सरे, अणु बमबाट निस्कन्छन्। यी विकिरणबाट पनि कोषहरूमा प्रभाव परेमा कोष वृद्धि हुन थाल्छ। कतिपय अवस्थामा वंशाणुगत कारणले पनि क्यान्सर सर्छ। हाम्रो खानपान एवं भाइरसबाट पनि सर्छ। कतिपयलाई दुर्घटनावश आफैं  क्यान्सर उत्पन्न हुन सक्छ। 

क्यान्सर गराउने कारक तत्वहरू के–के हुन् ? 
पहिलो कारण हो, धूमपान एवं सुर्तिजन्य पदार्थ खानु। यस्तै शरीरमा आउने हर्मोनको परिवर्तन, मोटोपना, विकिरण, खानपान, धूवाँ, रासायनिक तथा वातवरणीय प्रदूषण सबै क्यान्सरका कारक तत्व हुन्। 
रक्सी,  धुमपान प्रयोगले स्तन, पाठेघर तथा ठूलो आन्द्राको क्यान्सर गराउँछ। मोटा मानिसमा पनि यो क्यान्सर बढी हुन्छ। विश्व स्वास्थ्य संगठनले वायुमा पार्टिकुलर म्याटर (पिएम) २० देखि ४० भन्दा बढी हुनु हुँदैन। तर हाम्रो सहरको हावामा १ सय २० भन्दा बढी पिएम भेटिन्छ। यसको असर अवश्य परेको हुन्छ। पछि गएर नयाँ पुस्तामा क्यान्सर बढ्ने सम्भावना बढी छ। 

नेपालमा कुन– कुन क्यान्सर बढिरहेका छन् ? 
अहिले नेपालमा फोक्सो, पाठेघरको मुखको, स्तन, पित्तथैली र पेटको क्यान्सर सबैभन्दा बढी देखिन्छ । यसमा पनि पुरुष र महिलामा हुने क्यान्सर फरक छन्। पुरुषमा फोक्सोको र महिलामा पाठेघरको मुखको र स्तन क्यान्सर बढी देखिन्छ। त्यसैगरी ओंठ, मुख, घाँटी र टाउकोको क्यान्सर पनि पुरुषमा बढी देखिन्छ। त्यसपछि प्रोस्टेट र ठूलो आन्द्राको क्यान्सर पनि  देखिन्छ। 

कुन्–कुन् कारणले क्यान्सर बढ्छ ? 
मुख्य कारण, सुर्तिजन्य पदार्थको अम्मल नै हो। नेपालमा महिलाका तुलनामा पुरुषहरू बढी धूमपान गर्छन्। ‘ह्युमन पेपिलोमा’ भाइरसले जिब्रो, मुख, ओंठमा पनि क्यान्सर गराउँछ। यो भाइरसले मलद्वार, पाठेघरको मुखमा पनि क्यान्सर गराउँछ। त्यसैगरी हेपाटाइटिस बी र सीले कलेजोको क्यान्सर हुन सक्छ। रातो मासु, पोलेका तथा ढुसीपरेका खानेकुराले पेटको क्यान्सर हुन्छ। यस्ता खानेकुरा लामो समय प्रयोग गरेमा पेटको क्यान्सर हुन्छ। 

नेपालमा क्यान्सर रोगी कति छन् ? 
पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार हाल नेपालमा क्यान्सर रोगी ४५ हजार जना छन्।  

यो वर्षको क्यान्सर दिवसको मर्म के थियो ?  
यो वर्षको क्यान्सर दिवसको नारा ‘म......हुँ र म क्यान्सरविरुद्ध लड्न सहयोग  गर्छु’ भन्ने थियो। यो नाराले मुख्यकुरा क्यान्सर रोकथाम, यसको उपचारमा समान पहुँच, उपचार सीप विकास, सरकारको भूमिका र क्यान्सर बिरामीको व्यवस्थापन, कम खर्चमा जीवन बचाउन सक्छौं कि सक्दैनौं भन्ने हो। तर समग्रमा हामी सबै क्यान्सर रोकथामको क्षेत्रमा योगदान दिन्छौं कि दिँदैनौं भन्ने हो। यो रोग डाक्टर, नर्सले उपचार गरेर मात्र सम्भव छैन। सबै मिलेमा मात्र सम्भव छ भन्नु नै यसको अर्थ हो। 

यो अस्पतालमा क्यान्सरका बिरामी कति आउँछन् ? 
प्रतिवर्ष चार हजार जनाले यस अस्पतालबाट उपचार लिने गरेको तथ्यांक छ। यो भनेको नेपालका कुल क्यान्सर रोगीमध्ये १२ प्रतिशतभन्दा बढी जनाको उपचार यस अस्पताल भइरहेको छ। 

कुनै पनि क्यान्सरको सुरुकै अवस्थामा लक्षण देखिँदैन । तसर्थ बिरामी आफैंले थाहा पाउन कठिन छ । तैपनि क्यान्सर बढ्दै जाँदा केही लक्षणहरू देखिन थाल्छन् । जस्तो, मुखमा घाउ आउनु, शरीरमा रक्तअल्पता देखिनु, निमोनिया भएर निको नहुनु, आन्द्रामा घाउ हुनु आदि । यस्तो अवस्थामा चुप लागेर बस्नु भएन । 

हेड एन्ड नेक (मुख, जिब्रो, ओंठ र घाँटी)को क्यान्सर बढ्नाको कारण के हो ? 
यो अस्पतालको रेकर्ड हेर्दा हेड एन्ड नेक(मुख, जिब्रो, घाँटी, ओंठको) क्यान्सर बढेको देखिन्छ। बढी चुरोट, सुर्ति, गुट्खा खानेहरूमा यो रोग बढी देखिन्छ। तराईका बासिन्दामा पान, गुट्खा खाने बानी बढी देखिन्छ। सहरबजारका युवामा पनि पछिल्लो समय हुक्का तान्ने चलन बढेको देखिन्छ। जसका कारण पनि  मुख, घाँटी र ओंठको क्यान्सर बढेको हो। अल्कोहल, चुरोट, गुट्खा, पानजस्ता सुर्तिजन्य पदार्थ सजिलै पाउने कारण पनि क्यान्सर बढेको छ। 

‘पेपिलोमा’ भाइरसले मुख र मलद्वारमा कसरी क्यान्सर गराउँछ ? 
धेरै जना यौनसाथी भएका व्यक्तिलाई पेपिलोमा भाइरसले आक्रमण गर्छ र जसले मुख र मलद्वारमा क्यान्सर गराउँछ। यौन सम्पर्क गर्ने क्रममै यी अंगमा  पेपिलोमा भाइरस पुग्छ र पछि क्यान्सर हुन्छ। यसकारण उमेर १३ वर्ष हुनुभन्दा अघि नै र पहिलो यौन सम्पर्क नहुँदै महिलालाई उक्त भाइरसविरुद्धको खोप दिएर पनि यस्तो क्यान्सर रोक्न सकिन्छ। 

नेपालमा क्यान्सरले बढी मृत्यु हुनाको कारण ? 
नेपालमा क्यान्सरबाट प्रभावितमध्ये ५० प्रतिशतभन्दा बढी बिरामीको मृत्यु हुन्छ। यसको कारण हो– ढिला गरी उपचारमा आउनु। विदेशका मानिस क्यान्सरको सुरुवाती अवस्थामै उपचारका लागि अस्पताल जाने चलन छ। जसका कारण नेपालको तुलनामा त्यहाँ क्यान्सरका कारण मृत्यु हुनेको संख्या कम छ। 

यसरी नेपालमा सुरुवातकै अवस्थामा उपचार गर्ने चलन नहुनुमा दोषी को ? 
यसमा बिरामीको मात्र दोष हो भन्न मिल्दैन। यसो हुनुमा धेथोर सबै पक्ष जिम्मेवार छन्। एकातिर समाजमा जनचेतना अभाव छ भने अर्कातिर हाम्रो देशमा स्वास्थ्य उपचारमा सबैको पहुँच समान छैन। स्थानीय तहसम्म क्यान्सर पहिचान तथा उपचारका लागि आवश्यक प्रविधि र जनशक्ति पुग्न सकेको छैन। जसले गर्दा पनि समयमै क्यान्सर पत्ता लगाउन ढिलाइ हुने गरेको छ। विकसित मुलुकहरूमा प्रविधिको पहुँचले गर्दा क्यान्सर समयमै पत्ता लाग्छ। 

साथै नेपालमा बिरामी स्वयं नियमित स्वास्थ्य जाँच गर्न जाने चलन पनि कम छ। कतिपय क्यान्सरका बिरामी लामो समयसम्म आयुर्वेदिक उपचारको भरमा पर्छन् र अन्तिममा मात्र अस्पताल आएको देखिन्छ। यस्तो प्रवृत्तिले गर्दा पनि क्यान्सर छिप्पिने गरेको देखिन्छ। उपचारमा समान पहुँच नहुनुले पनि नेपालमा क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लाग्न नसकेको हो। जस्तै, पोखरामा यो रोगको उपचार एउटा तरिकाले हुन्छ  भने नेपालगन्जमा अर्को तरिकाले। क्यान्सरको समयमै र सही उपचारका लागि समान मापदण्ड हुनु जरुरी छ। कस्तो उपचार गर्ने भन्ने विषयमा चिकित्सकबीच  आपसी सल्लाह हुनुपर्छ। उपचारको भिन्नताले पनि क्यान्सरबारे राष्ट्रिय तथ्यांक सही आउन सकेको छैन। 

कुनै पनि किसिमको क्यान्सर छिटो पहिचान गर्न नेपालमा सम्भव छ कि छैन ? 
कुनै पनि क्यान्सरको सुरुकै अवस्थामा लक्षण देखिँदैन। तसर्थ बिरामी आफैंले थाहा पाउन कठिन छ। तैपनि क्यान्सर बढ्दै जाँदा केही लक्षणहरू देखिन थाल्छन्। जस्तो, मुखमा घाउ आउनु, शरीरमा रक्तअल्पता देखिनु, निमोनिया भएर निको नहुनु, आन्द्रामा घाउ हुनु आदि। यस्तो अवस्थामा चुप लागेर बस्नु भएन। 

चिकित्सकले पनि कुनै गम्भीर समस्या देखिएमा त्यसको निक्र्योल हुने किसिमको परीक्षण  अघि बढाउनुप-यो। क्यान्सर पत्ता लगाउने परीक्षण प्रविधि स्थानीय तहहरूसम्म पु-याउनुप-यो। जस्तो, प्याथोलोजी नभएका ठाउँहरूमा भिआइए (पाठेघरको मुख परीक्षण) जाँच गर्न सकिन्छ। यसका लागि उच्च तहको प्याथोलोजिस्ट नै हुनुपर्छ भन्ने छैन। पाठेघरको प्याप स्मेयर टेस्ट– स्थानीय तहका स्वास्थ्य संस्थामा पु-याउन सकिन्छ। यी जाँचहरू ३० देखि ६५ वर्षभित्रका महिलालाई नियमित रूपमा गर्नुपर्छ।

स्तन क्यान्सर पत्ता लगाउन पनि हरेक वर्ष पाका महिलाहरूको मेमोग्राफी गर्न सकिन्छ। दिसा या पिसाब जाँच गरेर आन्द्राको अवस्था पत्ता लगाउन सकिन्छ। यसैगरी फोक्सोको क्यान्सर पत्ता लगाउन यसको जोखिममा रहेकाहरूको विकिरणरहित सिटिसक्यान गर्न सकिन्छ। तर नेपालमा फोक्सोको क्यान्सरको स्क्रिनिङ हुन सकेको छैन। अल्ट्रासाउन्ड गरेर पनि कतिपय क्यान्सर पत्ता लगाउन सकिन्छ। 

नेपालमा क्यान्सर उपचारको अवस्था कस्तो छ ? 
नेपालमा क्यान्सर उपचार गर्ने निजी र सरकारी दुवै किसिमका स्वास्थ्य संस्था छन्। तर एउटै छातामुनि विभिन्न क्यान्सर विशेषज्ञ मिलेर उपचार गर्ने संरचना भने अझै बनिसकेको छैन।
शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी सबै किसिमका उपचार सेवा दिइरहेका छौं। क्यान्सरको अवस्था थाहा पाउने उपकरण पेटस्क्यान निजी अस्पतालमा मात्र छ। यो सरकारी अस्पतालमा हुनुपर्छ। विशेषज्ञ पनि पर्याप्त छैनन्। हामीकहाँ क्यान्सर उपचार उपेक्षामा परेको छ। क्यान्सर उपचार केन्द्र र विशेषज्ञ दुवै पर्याप्त छैनन्।  अन्कोलोजी नर्स, चिकित्सक पनि पर्याप्त छैनन्। क्यान्सर उपचारको पछिल्लो प्रविधि टोमोथेरापी पनि दिन हामी सक्षम छौं। तर यो अत्यन्त महँगो र बिरामी आफैंले खर्च गर्नुपर्ने कारण प्रयोगमा ल्याउन सकेका छैनौं। 

यो अस्पतालमा चाहिँ क्यान्सर उपचारको अवस्था कस्तो छ त ? 
यस अस्पतालमा सबैजसो क्यान्सरको उपचार हुन्छ। सार्कोमा, माइलोमाजस्ता दुर्लभ क्यान्सर, बच्चालाई हुने  क्यान्सर, रक्त क्यान्सरको उपचार यहाँ हुन्छ। सर्जरी,  लिन्याक नामक नयाँ रेडियोथेरापी पनि आउँदैछ। जुन उपकरण हाल भरतपुर क्यान्सर अस्पताल र दुई निजी अस्पतालमा मात्र छ। बोनम्यारो प्रत्यारोपणको तयारी पनि भइरहेको छ। पेटस्क्यान मेसिन भएमा उपचार सहज हुनेथियो। दुवै खालका किमोथेरापी सेवा पनि छ। 

कुनै पनि क्यान्सर लाग्दैछ भनेर कसरी थाहा पाउने त ?
यो सजिलै थाहा पाउन गाह्रो छ। यसका लागि जनचेतनाको कुरा महत्वपूर्ण छ। चुरोट र रक्सीले मात्र क्यान्सर हुन्छ भन्ने सोंच राख्नु भएन।  बिरामीलाई कुनै पनि लक्षण लगातार दुई हप्ताभन्दा बढी देखियो भने, मुखमा घाउ आएर निको भएन भने, लामो समयदेखि पिनास छ, खाना निल्न समस्या छ, आँखा पहेंलो भएको छ, हड्डी दुखेको छ भने, पायल्स भयो भने, स्तनमा गिर्खा भेटियो भने, तल्लो पेटबाट फोहोर पानी आयो तथा रगतमा खराबी देखियो भने यी क्यान्सरका लक्षण पनि हुन सक्छन्। यस्तो अवस्थामा अस्पतालमा गइहाल्नुपर्छ। परिवारमा कसैलाई क्यान्सर भइसकेको छ भने सबै सदस्यले नियमित स्वास्थ्य परीक्षण गराएमा सुरुकै अवस्थमा पत्ता लाग्छ र उपचार सम्भव हुन्छ। 

नेपालमा क्यान्सर रोगको नियन्त्रणका लागि कसले के गर्नुपर्छ ? 
स्थानीय तहमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई पनि क्यान्सरसम्बन्धी तालिम, उपकरण तथा प्राविधिको पर्याप्त व्यवस्था गर्नुप¥यो। टेलिमेडिसिनबाट पनि दुर्गमलाई यसको पहुँचमा ल्याउन सकिन्छ। क्यान्सरलाई जितेकाहरू पनि जनचेतना अभियानमा अगाडि आउनुप-यो। सामुदायिक रूपमा क्यान्सर संस्थाहरू सक्रिय हुनुप-यो। क्यान्सरको राष्ट्रिय तथ्यांक राख्ने गर्नुप-यो। क्यान्सरमा काम गरिरहेका संस्थाले पनि उपचारमा सहयोग गर्न जरुरी छ।

तपाईं त आफैं डाक्टर, सचेत मान्छे, आफू चाहिँ क्यान्सरको जोखिममा छु जस्तो लाग्छ कि लाग्दैन ? 
म पनि क्यान्सरको जोखिममा छु। किनकि दैनिक हुने व्यस्तताका कारण मैले पनि दैनिक पर्याप्त व्यायाम तथा समयमा सही खानपान गर्न पाइरहेको हुन्न। अर्काे कुरा, हामी त्यस्तो वातावरणमा बाँचिरहेका छौं जुन प्रदूषित छ। हामीले खानेकुराहरू पनि स्वस्थकर छैनन्। यी लगायतका कारणले गर्दा म डाक्टर भए तापनि, सचेत व्यक्ति हुँदाहुँदै पनि क्यान्सरको जोखिममा पक्कै छु। तर म आफ्नो स्वास्थ्य नियमित जाँच गराइरहेको छु। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad