८ वैशाख २०८१ शनिबार
समाज

असुरक्षित स्कुल बस

फाइल तस्बिर

चितवन - चार वर्षीय अमन अर्याल द फ्युचर मन्टेश्वरीका विद्यार्थी थिए। धादिङ बैरेनीका अर्याल भरतपुर महानगरपालिका– १५, रामबागस्थित मामाघर बसेर उक्त मन्टेश्वरी स्कुलमा पढ्थे। स्कुल आउन जान उनी स्कुलकै बस चढ्थे। गत पुस ११ गते उनलाई आफूले पढ्ने स्कुलका विद्यार्थी बोक्ने ना१क ६८४३ नम्बरको बसले ठक्कर दियो। बसबाट ओर्लेर घर जानेक्रममा बाटो काट्न लाग्दा उनलाई बसले ठक्कर दियो। ठक्करबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भयो।

विद्यार्थीलाई स्कुलकै विद्यार्थी बोक्ने बसले ठक्कर दिएको घटना यो मात्र होइन। चालु आर्थिक वर्षको छ महिनामा यस्ता तीनटा दुर्घटना भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार तीनटा दुर्घटनामा तीनजना विद्यार्थीको ज्यान गएको छ। भदौ १८ गते भरतपुर महानगरपालिका–१४, भावनाचोकमा पनि स्कुलका विद्यार्थी बोक्ने बसले ठक्कर दिँदा सनराइज बोर्डिङ स्कुलकी ५ वर्षीया सम्झना मिजारको ज्यान गयो। घर फर्कने क्रममा बेलुका स्कुल बसबाट ओर्लेेकी उनलाई सोही बसले ब्याक गर्ने क्रममा ठक्कर दियो। घाइते भएकी भरतपुर महानगरपालिका–२१ बस्ने उनको पुरानो मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भयो।

विद्यार्थी बोक्ने बसले ठक्कर दिँदा छ महिनामा तीन विद्यार्थीको ज्यान गयो।

यसैगरी भावनाचोक घटनाको १० दिनअघि रत्ननगर नगरपालिका–६, सौराहास्थित बुद्धज्योति इंग्लिस स्कुलका विद्यार्थी लुमा लामाको पनि बाटो काट्ने क्रममा विद्यार्थी बोकेको बसको ठक्करबाट मृत्यु भयो। ३ वर्षीय लामा बसबाट ओर्लेर घर जान बाटो काट्दै थिइन्। बाटो काट्न लाग्दा उनलाई बसले ठक्कर दियो। गम्भीर घाइते उनको पनि चितवन मेडिकल कलेजमा उपचार क्रममा ज्यान गयो। त्यसदिन स्कुलले स्कुलको बस बिग्रिएकाले ना३ख ६११४ नम्बरको बस भाडामा लिएर विद्यार्थीलाई घर पु¥याउन लगाएको थियो।

एउटै प्रकृतिका दुर्घटना दोहोरिनुमा बसचालक तथा सहचालकको समेत लापरबाही देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम बताउँछन्। स्कुल बसबाटै स्कुलका विद्यार्थीको ज्यान गएका तीनटै घटना स्कुल छुट्टीपछि घर फर्किने क्रममा भएका हुन्। विद्यार्थीलाई ‘ड्रप’ गरेर फर्कन हतार गर्दा विद्यार्थीको ज्यान गएको उनले बताए। ‘एउटै वर्षमा लगातार यस्ता घटना हुनु गम्भीर हो’, उनले भने, ‘हतार गर्ने बानीले हानि मात्र गर्छ।’ यातायात व्यवस्था विभागले शिक्षण संस्थाले विद्यार्थीलाई बोक्न ल्याएका बसलाई सुरक्षित र भरपर्दो बनाउन ‘स्कुल बस निर्देशिका २०७४’ समेत जारी गरेको छ। निर्देशिकामा स्कुल बसका मापदण्ड तोकिएको छ। निर्देशिकामा स्कुल बस पहेंलो रङको हुनुपर्ने, बस अघिपछि कालो रङले स्कुल बस भनेर लेखिएको हुनुपर्ने, भाडामा लिएको बस भए स्कुलको नामसहित ‘अन स्कुल ड्युटी’ भनेर लेखिएको हुनुपर्ने, बसको दुवैतर्फ अनिवार्य रुपमा स्कुलको नाम, ठेगाना र फोन नम्बर लेखिएको हुनुपर्ने उल्लेख छ। आपतकालीन ढोका, सुरक्षा, प्राथमिक उपचार बक्स, अग्निनियन्त्रक उपकरण, फोहोर राख्ने व्यवस्था, ब्याग राख्ने तखता हुनुपर्ने प्रावधान पनि निर्देशिकामा छ। यस्तै बसमा परिचालक हुनुपर्ने, बसको क्षमता र सिट संख्या अनुसार विद्यार्थी बोक्नुपर्ने, बसको गति अधिकतम ४० किलोमिटर प्रतिघण्टा हुनुपर्नेलगायत व्यवस्था निर्देशिकामा उल्लेख छ।

निर्देशिकाले भनेअनुसार मापदण्ड पूरा नगरेका बसलाई कारबार्ही गर्दै आएको ट्राफिक प्रमुख गौतमले बताए। चालु आर्थिक वर्षमा मात्रै ४७ वटा स्कुल बसलाई कारबाही गरिएको छ। ३० वटालाई जरिवाना गरिएको र १७ वटालाई सम्झाइबुझाई छाडिएको उनले बताए। कारबाहीमा पर्ने स्कुल बसले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने, कागजपत्र नबोक्ने, सहचालकलाई चलाउन दिने गरेको पाइएको छ।

स्कुल बसबाट हुने दुर्घटना रोक्न चालक, सहचालक र शिक्षकलाई प्रशिक्षण दिइँदै आएको जानकारी पनि उनले दिए। उनका अनुसार जिल्लाका धेरैजसो स्कुलमा शिक्षकलाई प्रशिक्षण दिएर ट्राफिक शिक्षकको समेत व्यवस्था गरिएको छ। स्कुल बसलाई सुरक्षित बनाउन स्कुल बस निर्देशिका चालकले पालना गर्नुपर्ने उनी बताउँछन्।

प्रकाशित: २६ माघ २०७५ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App