coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थामखर्क विमानस्थल कालोपत्रे पूरा

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल। तस्बिर : दमन/नागरिक

खोटाङ - दुई वर्षभन्दा बढी समय लगाएर खोटाङको थामखर्क विमानस्थल कालोपत्रे गरिएको छ। १५ महिनाभित्र पूरा गर्नेगरी २०७३ असोज २० गते सम्झौता गरिएको खोटेहाङ गाउँपालिका–४, बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्रे २८ महिनामा सम्पन्न भएको हो।

२०७३ कात्तिक २० गते काम सुरु गर्नुपर्ने निर्माण कम्पनी रौता कन्ट्रक्सनले पुस १ गतेबाट काम थालेको थियो। कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ चैत १३ गतेदेखि विमानस्थलबाट उडान रोकिएको थियो। कालोपत्रे सकिएकाले केही दिनमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबाट उडान उद्घाटन गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले बताए।

सुरुको सम्झौता अनुसार १५ महिना अर्थात २०७४ पुसमा पूरा गर्नुपर्ने विमानस्थलको काम एकपल्ट ६ महिना र अर्कोपल्ट ७ महिना म्याद थप गरेर २८ महिनामा पूरा गरिएको हो। विमानस्थलको रन–वे, जहाज पार्किङस्थललगायत पक्की संरचना, रङरोगनलगायत काम भएपछि विमानस्थलको स्वरुप नै बदलिएको छ। कालोपत्रे सकिएपछि विमानस्थलबाट चाँडै उडान सुरु हुने खबरले स्थानीय उत्साहित बनेका छन्।

थामखर्क विमानस्थल कालोपत्रेको काम पूरा भएको छ । विमान उडानका लागि अब कुनै बाधा छैन । उडानका लागि विमानस्थल तयार छ ।- रत्न श्रेष्ठ, इन्जिनियर, नागरिक उड्डयन प्राधिकरण

खोटाङकै लामिडाँडा विमानस्थल र डोटीको विमानस्थलसँगै ठेक्का लागेको थामखर्क विमानस्थल दुर्गम भए पनि तुलनात्मक रुपमा काम छिटो भएको इन्जिनियर श्रेष्ठले बताए। ‘थामखर्क विमानस्थल कालोपत्रेको काम पूरा भएको छ,’ इन्जिनियर श्रेष्ठले शुक्रबार भने, ‘विमान उडानका लागि अब कुनै बाधा छैन। उडानका लागि विमानस्थल तयार छ।’

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र भोजपुरका केही वडाका सर्वसाधारणले उपयोग गर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम रौता कन्ट्रक्सनले भ्याटसहित १० करोड ६० लाख ७१ हजारमा पूरा गरेको हो। विमानस्थलको बाँकी रहेको छेउछाउका जमिन रोलिङ गर्ने काम पनि केही दिनमै पूरा हुने श्रेष्ठले बताए। चुनाव, वर्षा तथा दुर्गम भएकाले कालोपत्रेको काम सम्झौता मितिमा पूरा हुन नसकेको निर्माण कम्पनीको भनाइ छ। दक्षिणी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर २०५६ सालबाट उडान सुरु गरिएको विमानस्थल कालोपत्रे नहुँदा वर्षायाम लागेसँगै अवरुद्ध हुने गरेको थियो।

सम्झौता अनुसार जिमानस्थल कालोपेत्रे गर्न ढिलासुस्ती भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए। ढिलासुस्ती गरेकोमा रौता कन्ट्रक्सनको नाम जिल्ला प्रशासन कार्यालयबाट गृहमन्त्रालय समक्ष सिफारिस भएको थियो। विमानस्थल कालोपत्रे काम सुस्त भएपछि गति दिन २०७४ माघ ८ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा ठेकेदारकै उपस्थितिमा कार्यतालिका बनाइएको थियो। जिल्लामा थामखर्कसहित खानीडाँडा र लामिडाँडा विमानस्थल छन्। लामिडाँडा विमानस्थल पनि कालोपत्रेको चरणमा पुगेको छ।

प्रकाशित: २६ माघ २०७५ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App