coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हुम्ला र डोल्पामा भएकाे हिमपातले जनजीवन कष्टकर, हवाई सेवा अवरुद्ध

हुम्लामा परेकाे हिउँ। तस्बिर : जनक/नागरिक

हुम्ला - हिमाली जिल्ला हुम्ला र  डाेल्पामा पुनः हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले जिल्लाका अधिकांश क्षेत्रमा वर्षासँगै भएको हिमपातले जनजीवन निकै कष्टकर बनाएकाे छ। हुम्लामा बुधबार दिउँसो ३ बजेदेखि निरन्तर हिमपात भएपछि जिल्लाको अधिकांश क्षेत्रमा अत्याधिक चिसो बढेको छ।

सदरमुकाम सिमकोट लगायतका जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयहरुलाई घरबाहिर निस्कन समेत समस्या भएको छ। दक्षिणी क्षेत्रमा भएको वर्षाले कामकाज समेत प्रभावित भएको छ। हिमपातले जिल्लाको जनजीवन प्रभावित बनाएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले बताए। बुधबार दिउँसो देखि हिमपात र हावाहुरीले  हुम्लाका नागरिकलाई एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न कठिनाई भएको छ। जिल्ला सदरमुकाम सिमकोटमा दिउँसो ४ बजे सम्म ३ फिट भन्दा बढी हिउँ जमेको छ।

बुधबारदेखिको हिमपातले हुम्लाको एकमात्र यातायातको माध्यम हवाई सेवा समेत ठप्प भएको छ। जिल्ला बाहिर जाने यातायातको एक मात्रै साधन हवाई जहाज सेवा समेत प्रभावित हुँदा यात्रुहरु विचल्लीमा परेका छन्। विमानस्थलमा ३ फिट भन्दा बढी हिउँ जमेकाले विमानस्थल बन्द भएको सिमकोट नागरिक उड्डयन कार्यालय प्रमुख गौंरी शंकर शाहले बताए।

यता हिमपातका कारण डोल्पाको जनजीवन समेत कष्टकर बनेको छ। डोल्पाका उच्च मानवबस्तीमा छैटाैं पटक भारी हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो।

बुधवार साँझदेखि परेको अबिरल वर्षाका कारण उत्तरी तिब्बत नाकासँग जोडिएका उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ्ग, शे-फोक्सुण्डो र काइके गाउँपालिकाका बस्तीहरुमा भारी हिमपात भएको छ। ती बस्तीहरुमा २ देखि ४ फिट सम्म हिउँ जमेको छ।

यसैगरी मध्य डोल्पाका ठुलीभेरी नगरपालिकाको माझफाल,जुफाल,दुनैका तिप्ला थाला रह लगायत त्रिपुरासुन्दरी नगरपालिकाको सुउँ, रंग, पहाडा, लिकु चुँउ, दापु र तल्लो डोल्पाका जगदुला र मुडकेचुला गाउँपालिकाका बस्तीहरुमा २ देखि ७ इन्च सम्म हिउँ जमेको छ।

बुधवार राती देखिको भारी वर्षातपछि भएको हिमपातले डोल्पाका बस्ती र डाँडाकाँडा हिँउले सेताम्य भएका छन्। बर्षातसँगै भारी हिमपात भएपछि कर्णालीको जनजीवन कष्टकर बनेको छ।

यता भारी हिमपातपछि जेठमा पाक्ने गरी मंसिरमा लगाइएको वर्खे बालीका लागि  फाइदा भएको भन्दै डोल्पाका कृषकहरु उत्साहित भएका छन्। खेतबारीमा लगाइएको गहुँ, जौँ, उवा लगायतका बालीनालिका लागि पुस, माघमा वर्षातसँगैको हिमपात आवश्यक हुने भएकाले हिमपात पछि डोल्पाका कृषकहरु उत्साहित भएका हुन्। हिमपातसँगै तल्लो र उपल्लो डोल्पाका भु–भाग हिउँले ढाकेको छ भने तापक्रम माइनसमा झरेको छ।

बुधवार रातीदेखि भएको वर्षा पछि डोल्पाको एकमात्र यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थलको हवाई मैदानमा शुक्रवार हिउँ जमेपछि हवाई सेवा समेत अवरुद्ध भएको छ। हवाई मैदानमा हिउँ जमेको र वर्षा पनि जारी रहेकाले मौसममा सुधार नआउँदा सम्म उडान हुन नसक्ने नागरिक उड्डयन जुफालका प्रमुख बालकुमार सिँहले बताए।

हुम्लामा भएकाे हिमपातका केही तस्बिरहरु। तस्बिर : जनक/नागरिक

हुम्लामा परेकाे हिउँ। तस्बिर : जनक/नागरिक
हुम्लामा परेकाे हिउँ। तस्बिर : जनक/नागरिक
हुम्लामा परेकाे हिउँ। तस्बिर : जनक/नागरिक
हुम्लामा परेकाे हिउँ। तस्बिर : जनक/नागरिक
हुम्लामा परेकाे हिउँ। तस्बिर : जनक/नागरिक
हुम्लामा परेकाे हिउँ। तस्बिर : जनक/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App