मनिला - एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डेभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ। दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो।
उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजनामा खर्च हुनेछ। सन् २०१६ देखि २०२२ सम्मका लागि गरिएको उक्त साझेदारी फ्रेमवर्क सम्झौता (पीएफए) अन्तर्गत परियोजनाहरु छनौट र प्रवर्द्धन गरिने एडीबीले जनाएको छ। एडीबीका अनुसार पाँच अर्ब डलरमध्ये दुबै संस्थाबाट आधा आधा व्यहोरिनेछ। साथै, दुबै संस्थाले सहरी यातायातका क्षेत्रमा परियोजना अगाडि बढाउन पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
प्रकाशित: २५ माघ २०७५ १०:३९ शुक्रबार