८ वैशाख २०८१ शनिबार
विचार

सधैंभरि मागेर हाम्रो देश सवल बन्न सक्दैन : गाेकर्ण विष्ट

नेपालको अर्थतन्त्रमा रेमिट्यान्स एउटा महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गरिरहेकाे छ। कुल ग्राहस्थ उत्पादनको झन्डै २५ प्रतिशत भन्दाबढी हिस्सा रेमिट्यान्सले ओगटेको छ। यस्तो अवस्थामा रेमिट्यान्सलाई कसरी वैधानिक माध्यमबाट भित्र्याउने, कसरी उत्पादन तथा रोजगार मुलक क्षेत्रमा लगानीको वातावरण निर्माण गर्ने सन्दर्भमा सरकारले गम्भीर रूपमा सोच्न जरुरी छ।

कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २५ प्रतिशत रहे पनि त्यसको ठुलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। त्यसले केवल उपभोग प्रवृतिलाई मात्र प्रोत्साहित गरिरहेको देखिएको छ। अर्को हिसाबले भन्दा रेमिट्यान्सको सहि ढंगले प्रयोग हुन सकेन भने त्यसले परोक्ष रुपमा व्यापार घाटा बढाउने जोखिम रहन्छ। दिर्घकालिन हिसाबले नेपाललाई आत्मनिर्भर बनाउने दिशामा जाने र स्वस्थ अर्थतन्त्रका साथ नेपालको विकास गर्ने हो भने हामीले नयाँ सोचका साथ अघि बढ्न जरुरी छ।

वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउनकाे लागि सयममै आवश्यक निर्णय लिन जरुरी छ। वैधानिक रूपमा भित्रिने रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लगानी गरेर अर्थतन्त्रको जग बलियो बनाउने तर्फ सरकार  गम्भीर हुन अावश्यक छ। साेकाे लागि सरकारले रेमिट्यान्सको एउटा ठुलो हिस्सालाई बचत गर्ने तथा बचतको लागि प्रोत्साहित गर्ने बानी बसाल्न आवश्यक छ। रेमिट्यान्सलाई उत्पादन, रोजगारी लगायतका क्षेत्रमा खर्चिदै आयात प्रतिस्थापन गरी निर्यात बढाउनु पर्छ। यदि त्यसो गर्न सकिएन भने हरेक वर्ष भित्रिने खर्बौ रेमिट्यान्सले दिगो विकास र रोजगारी सिर्जनामा कुनै भूमिका खेल्न सक्दैन। नेपालका लाखौ युवाहरुले विदेशी भूमिमा श्रम बगाएर, ज्यादै जोखिमपूर्ण काम गरेर थोपा–थोपा पैसा संगाल्नु भएको छ। त्यो योगदानलाई सुरक्षित बनाउँदै उहाँहरुको भविष्यका निम्ति लगानीको बाटो देखाउन जरुरी छ। त्यसमा राज्यले सहजीकरण गर्नुपर्छ। सरकारले वैदेशिक रोजगारबाट भित्रिने रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लगाउने वातावरण बनाएर नीतिगत रुपमा अगाडि लैजानु पर्छ।

जवानी छँदा विदेशमा काम गर्ने र विदेश बाट फर्किनु अगावै त्यो पैसा नेपाल पठाउने तर नेपाल आउनु अघि नै त्यो पैसा सकिने कहाली लाग्दो अवस्था छ। यसले नेपाल फर्किए पछिको बाँकी जीवन अत्यन्त काष्ठकर तथा अध्याँराेमा बिताउँनु पर्ने बाध्यकारी अवस्था रहि आएको छ।

सामाजिक मूल्यको विषयमा हामीले अहिले पनि वहस गर्न सकिरहेका छैनौँ। आज नेपालीहरुले जुन मूल्य चुकाइरहेका छन्, त्यो विषयमा त हामीले न देश भित्र चर्चा गरेका छौं न देश बाहिर नै।

अबको २० वर्षपछि हामी र हाम्रो देशमा कस्तो संस्कृतिको विकास गर्ने हो भनेर विजारोपण गर्ने हाम्रै हातमा छ। आज जसरी हामी नेपालीहरु हेपिएका छौं त्यसलाई माथि उठाउनका लागि हामीले कस्ता कुरालाई प्राथमिकता दिने भनेर सोच्न जरुरी छ।

 

आज हामी वैदेशिक रोजगारीमा फलानो देशमा किन यति मान्छे गएनन् जस्ता सतही प्रश्नमै केन्द्रीत छौँ।  आज नेपाली युवाले,नेपाली समाजले, नेपाल राष्ट्रले कुन प्रकारको क्षति व्यहोरिरहेका छन्,भनेर हामीले सोच्न पनि भ्याएका छैनौँ। त्यसैले आज ति विदेशमा बस्ने नेपाली र तिनका परिवारले व्यहोरिरहेको क्षतिको समेत हामीले गम्भीर रुपमा विश्लेषण गर्न जरुरी छ।

आज कमायो आजै खर्च गर्यो, आज कमायो आजै उपभोग गर्यो जस्ता संस्कृतिलाई हामीले बढावा दिइरहेका छौं। त्यो संस्कृतिलाई सच्याउन आवश्यक छ।

अब त्यो संस्कृतिमा पूर्णविराम लगाउनु पर्छ। तुलनात्मक हिसावले नेपाललाई उत्पादन मुलक क्षेत्रमा आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जना गर्ने र बचत संस्कृतिलाई बढावा दिएर अर्थतन्त्रको दिगो विकासमा सरकार लाग्नु पर्ने समय अाएकाे छ।

सधैंभरि मागेर हाम्रो देश सवल बन्न सक्दैन। त्यसैले अबको २० वर्षपछि हामी र हाम्रो देशमा कस्तो संस्कृतिको विकास गर्ने हो भनेर विजारोपण गर्ने हाम्रै हातमा छ। आज जसरी हामी नेपालीहरु हेपिएका छौं त्यसलाई माथि उठाउनका लागि हामीले कस्ता कुरालाई प्राथमिकता दिने भनेर सोच्न जरुरी छ। त्यसैले साझेदारी र सामूहिक प्रयत्नका साथ हामीले हाम्रो देशलाई आत्म निर्भर बनाउनेगरि सवल बनाउने तर्फ सोच्नु पर्छ। अनि मात्र हाम्रो मुलुक समृद्ध बन्छ।

(अाैपचारिक माध्यमबाट विप्रेषण भित्र्याउने र उत्पादनमूलक क्षेत्रमा प्रयाेग गराउने सम्बन्धि अध्ययन प्रतिवेदन बुझ्ने क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गाकर्ण विष्टले राखेकाे मन्तव्यको सम्पादित संक्षिप्त अंश:)

प्रकाशित: २५ माघ २०७५ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App