७ वैशाख २०८१ शुक्रबार
अन्य

‘सहर सोचजस्तै भएन’

बिमाकुमारी दुरा, लोक गायिका

हाम्रा सहर हामीले जे सोचका थियौं त्यो किसिमको भएन। सहरमा फोहरै फोहर मात्रै देखिन्छ। यातायात पनि अस्तव्यस्त छ। सहर यस्तो होला भनेर जुन परिकल्पनाका साथ गाउँबाट सहर पसिन्छ त्यो अनुसारको सहर देखिन्न। सहर पसेपछि सख होइन दुःख सुरु हुन्छन्।

तपाईंको विचारमा सहर भनेको के हो ?
गाउँभन्दा अलि फरक, आधुनिकता झल्कने, मौलिकता बोकेको र सुविधायुक्त ठाउँ नै सहर हो। मेरो विचारमा सहर सर्वगुण सम्पन्न हुनुपर्छ। सहरमा बस्नेहरुको जीवन सुरक्षित र सुखदायी हुनुपर्छ। पूर्वाधारयुक्त निर्माण व्यवस्थित किसिमले गरिएका हुन्छ। त्यहाँ ऐतिहासिक कलाकृति सजाइएको हुन्छ। तर, दुभाग्र्य ! हाम्रा सहर हामीले जे सोचका थियौं त्यही किसिमका भएनन्। सहरमा फोहरै फोहर मात्रै देखिन्छ। यातायात पनि अस्तव्यस्त छ। सहर यस्तो होला भनेर जुन परिकल्पनाका साथ गाउँबाट सहर पसिन्छ त्यो अनुसारको सहर देखिन्न। सहर पसेपछि झन् दुःख सुरु हुन्छन्।

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मैले नेपालबाहिर पनि धेरै देशका सहर घुमेकी छु। तर, मलाई संसार आधुनिक सहर त्यति मन परेन। हाम्रै देशका छाँगा, छहरा, पाखा पखेरा, हिमाल र डाँडाकाँडाहरु राम्रो लाग्छ। यहाँको भौगालिक विषेशता विश्वका अरु मुलुकमा पाइन्न। तर, प्रकृतिले दिएका अनेक सम्भावनालाई हामीले कदर गर्न सकेनौं। आफ्नो मौलिक भेषभूषा र जीवनशैली बचाउने हिसाबले विकासका काम थालेनौं। यो नै हाम्रो लागि दुःखको कुरा हो।

उपत्यकाबाहिरको राम्रो लाग्ने सहर ?
उपत्यकाबाहिरको अलि राम्रो र व्यवस्थित सहरमध्ये पोखरा पनि पर्छ। त्यहाँ पोखरामा अनेकन रमाउने ठाउँहरु छन्। विदेशीहरुको लागि पनि पोखरा आकर्षक ठाउँ हो। यो सहरलाई भीडभाड हुन नदिने ढंगले काम गर्न जरुरी देखिन्छ।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं सानो र न्यानो ठाउँ हो। धेरै ठाउँले ठूलो विषेशता बोकेको छ। यो एउटा मन्दिरै मन्दिरको सहर हो। यहाँका चोकहरु कलाले सजिएका छन्। सरकारी सेवा पनि यही छन्। तर, यहाँका हरेक सेवा लिन गाह्रो छ। पहुँच हुनेले मात्रै फाइदा लिन सक्छन् सहरमा।

काठमाडौं कहिले छिर्नुभयो ?
म पहिलोपल्ट २०४५ सालमा काठमाडौं छिरेकी थिएँ। सानैदेखि मैले उपत्यकालाई चिन्न पनि पाएँ। यहाँको हावापानी र प्रकृतिसँग रमाउन सिकें। यहाँ विभिन्न संस्कृति, जातजाति, भेषभूषा पाइन्छ। त्यतिबेलाको कुरा गर्दा काठमाडौं सुनसान थियो। स्याल कराउथे। सडक खाली हुन्थे। जंगल थिए। भीडभाड कम भएकाले रमाइलो पनि थियो। तर अहिले काठमाडौंको अस्तव्यवस्ता देख्दा दिक्क लाग्छ। सरकार र आम नागरिक नै जिम्मेवार नभएकाले काठमाडौं यति फोहर भएको हो।

सहरका विकासको लागि सरकार र नागरिकको कस्तो भूमिका हुन्छ ?
सहरमा बस्नेहरु भेडा भयौं। सहरप्रति कोही पनि जिम्मेवार छैनौं। अर्को कुरा, ठेकेदारले सहरको विकास बिगारेका छन्।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
हङकङ, कोरिया, भारत, कतार, मलेसिया, बहराइन, सिंगापुर, श्रीलंकालगायतका  देशका सहर घुमेको छु।

कस्ता लागे त त्यहाँका सहर ?
विदेशका सहर नीति नियमले चलेका छन्। यहाँ भने थिति छैन। सहरमा सबैको मनपरी छ। राजनीतिक नेतृत्वको अक्षमताकै कारण हामीकहाँ विकासका काम अघि बढ्न नसकेका हुन्। यदी हामीले ध्यान दिएर काम गर्ने हो भने हाम्रो माटोमा पनि सुन फल्छ। यहाँ प्रकृतिले नै अथाह सम्भावना दिएको छ। अनेक अवसर दिएको छ। बाह्रै महिना खेती हुन्छ। हरियाली पनि उस्तै छ। तर, यसलाई हामीले चिन्न सकेनौं। जसका कारण हामी आफ्नो परिचय पनि खुम्चाउँदै छौं।

उपत्यकाबाहिर कत्तिको जानुहुन्छ ?
समय मिलेको बेला उपत्यकाबाहिर घुम्न रहर लाग्छ। उपत्यका बाहिरका सहर शान्त र व्यवस्थित लाग्छ। 

तपाईकाे विचारमा सहर विकास कसरी होला ?
सर्वप्रथम त सरकार नै विकासको लागि योजनाबद्ध रुपमा लाग्नुपर्छ। सहरमा बस्नेहरुले पनि विकास निर्माणका कामका सरकारी निकायलाई सघाउनुपर्छ। 

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
सहर हराभरा होस्। नेतृत्वले विकासका ध्यान दिओस्। सडक व्यवस्थित होऊन्। धुँवा, धुलो, प्रदूषणजस्ता समस्या नदेखियास्। यति भयो भने सहर अलि व्यवस्थित बन्छ होला।

यदी तपाईं काठमाडौं महानगरपालिकाको मेयर हुनुहुन्थ्यो भने विकासका काम कसरी सञ्चालन गर्नुहुन्थ्यो होला ?
माटो र सम्पदाको संरक्षण गर्थें। युवालाई विदेशी पठाउनबाट रोक्थें। यहीको माटोमा सुन फलाउन सक्ने योनना बनाउथें। बोलेर भन्दा काम गरेर सबैको मन जित्थें। मलाई अहिले पनि विदेशी मुलुकमा विभिन्न कार्यक्रमहरुमा जाँदा धेरै सम्झना आउँछ, यहाँका अवसरहरुबारे। वास्तवमा हामीकहाँ धेरै सम्भावना लुकेका छन्। तीनको खोजी हामीले गर्न सकेका छैनौं। यति उर्बर माटोलाई चिन्न सकेनौं र कंक्रिटमा अग्ला घर बनाएका छौं। नेतृत्व अक्षम भएकाले नै सहरका योजना तुहिए।

काठमाडौंको मनपर्ने पक्ष के हो ?
काठमाडौं मन्दिरै मन्दिरको सहर हो। यहाँ चारैदिशामा भगवान छन्। यहाँको मौसम पनि सदावहार छ। त्यसकारण लाग्छ, उपत्यका स्वर्गको टुक्रा नै हो। दुर्भाग्य हामीले उपत्यका कस्तो ठाउँ हो भनेर दाज्न सकेनौं। यहाँको भौगोलिक वातावरण मिल्दो विकासको खाका कोर्न सकेनौं।

यहाँको मननपर्ने पक्ष ?
धुँवाधुलो, ट्राफिक, अस्तव्यस्त सडक सम्झँदा सहर दिक्क लाग्छ। यसतर्फ ध्यान नदिने हो भने काठमाडौं बस्नै नसक्ने जस्तो हुन सक्छ। 

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ? 
मलाई नेपालकै डोल्पा, हुम्लालगायत हिमाली र पहाडी ठाउँ घुम्ने रहर छ।

सहरको विकास कसरी होला ?  
सहरको विकासको लागि नेतृत्वमा अलि चेत आउनुपर्छ। इमान्दारी र निष्पक्षता हुनुपर्छ। अहिलेकै सोचले सहरको विकास हुनै सक्दैन।

                                                                                                                           प्रस्तुति : शिवहरि घिमिरे 

प्रकाशित: २५ माघ २०७५ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App