१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

झरीले हिलाम्य भक्तपुरका सडक

अरुबेला धुलाम्य हुने भक्तपुरका सडकहरु बिहीबार बिहानैदेखि भएको दिनभरको झरीले हिलाम्य भएका छन्। सबैतिरका सडक हिलाम्ये हुँदा सर्वसाधारण वटुवा हैरान भए।

जिल्लाको अरनिको राजमार्गबाहेकका झन्डै सबै सडक बिहानैदेखिको झरीले हिलाम्ये भए। भक्तपुर र मध्यपुर थिमिबाहेक भक्तपुरका नयाँ नगरपालिकाको रुपमा रहेका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका अधिकांश सडकहरु हिलाम्य भए। घनावस्तीका रुपमा रहेका भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका अधिकांश सडकहरु इँटा र ढुंगा छपाइ रहेकाले हिलाम्ये हुन पाएनन्। यसबाहेकका अन्य ग्राभेलिंग, माटे सडकहरु हिलाम्य भएका हुन्। यी सडकमा सवारीसाधन चल्दा थप हिलाम्ये भएका हुन्।

सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले बिहानैदेखिको झरीले नगरपालिकाका धेरै सडकहरु हिलाम्ये भएको जनाए। यसले सर्वसाधारण जनताले दिनभरि सास्ती खप्नपरेको वडाअध्यक्ष सापकोटाले जनाए। नयाँ नगरपालिकाका अधिकांश सडक कालोपत्रे हुन नपाउँदा यस्तो समस्या आएको उनको भनाइ छ।

भक्तपुरको पुरानो थिमि बाहाखा बजारबाट बोडे जाने फराकिलो सडक आसपास घर भएका रामकृष्ण श्रेष्ठले अलिकति वर्षा भयो कि यो सडक पोखरी जस्तै हुने सुनाए। एक किलोमिटर दुरीको बहाखाबजारदेखि ऐतिहासिक बोडे पुग्ने सडकको ठाउँठाउँमा ठूल्ठूला खाल्डो हुुँदा पूरै सडक नै पोखरीजस्तै हुने उनले सुनाए। मध्यपुर थिमिकै ऐतिहासिक बोडे पुग्ने यो सडकमर्मत सुधार तथा कालोपत्रे गर्न माग गर्दै स्थानीयले आन्दोलन गर्दै गरेको पनि वर्षांै नाघिसकेको तर सडक सुस्त गतिमा बनिरहेको उनले जनाए। सडक मर्मत गरेको वर्षौं बित्दा पनि काम सम्पन्न नगर्दा यस्तो समस्या आएको स्थानीयको भनाई छ। वर्षाको बेला त्यहाँ पूरै सडक पोखरी जस्तै बन्दा मोटरसाइकलको आवातजावत नै बन्द हुन्छ।

बोडेबाट दुवाकोट पुग्ने सडक पनि उही गति भएको स्थानीयले बताए। ‘ग्राभेलिङ गरेको सडक हिलेजस्तै भएको छ,’ बाटो भएर हिँड्ने रामप्यारी थापाले भनिन्। वर्षाको बेला स्थानीय बाटोमा चिप्लेर लड्ला भनेर जुत्ता खोलेर हिँड्न बाध्य भएको उनले सुनाइन्। गाडी चलिरहने कारण बाटो पूरै हिलाम्य हुने उनले सुनाइन्।

कमलविनायकबाट नगरकोट पुग्ने सडकको अवस्था पनि यस्तै रह्यो। बनाउन थालेको वर्षाै बिते पनि कमलविनायकबाट खरिपाटीसम्मको झन्डै दुई किलोमिटर सडक मात्रै नाम मात्रको कालोपत्रे भएको छ। त्यो भन्दा माथि वर्षामा ससाना हलुका ट्याक्सीलगायतका सवारीसाधन जानै नसकिने गरी हिलाम्ये भयो। वर्षामा हिलाम्य र हिउँदमा धुलोले हैरान देशभरका सडकजस्तै जिल्लाका सडकहरु पनि उस्तै भए। यद्यपि यहाँ सबै नगरपालिका भइसकेका छन्, गाविसविहीन छन्।

डिभिजन सडक कार्यालय कटुञ्जे भक्तपुरका डिभिजन प्रमुख बेलबहादुर भुजेलले बिहीबार बिहानैदेखिको झरीले जिल्लाका अधिकांश सडकहरु हिलाम्ये भएको स्वीकारे। ‘धेरै सडकहरु कालोपत्रे गर्न सकिएको छैन, त्यसकारण यो समस्या भएको हो,’ उनले नागरिकसँग भने, ‘हिलाम्ये सडकमा गुडेका गाडीहरु कालोपत्रे हाइवेमा पुग्ने भएकाले कालोपत्रे हाइवे सडकसमेत अहिले चिप्लिने र पछि धुलाम्ये हुने गर्दछ।’

जिल्ला समन्वय समिति (तत्कालीन जिल्ला विकास समिति जिल्ला विकास योजना २०७१।०७२ को) तथ्यांकअनुसार जिल्लामा ८५ किलोमिटर सडक कालोपत्रे छन्। दुई सय ६ किलोमिटर सडक ग्राभेल छन्। साथै ८२ किलोमिटर सडक माटे छन्। जिल्लाका चार वटै नगरपालिकामा मोटरबाटो पुगिसकेका छन्। तर सडकको अवस्था भने खासै राम्रो देखिँदैन। सबैभन्दा राम्रो अरनिको राजमार्गअन्तर्गत कोटेश्वरदेखि सूर्यविनायकसम्मको ६ लेनको हाइवेमै धुलोलै हैरान गर्दछ।

प्रकाशित: २५ माघ २०७५ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App