८ वैशाख २०८१ शनिबार
समाज

गाउँलेलाई सहज बनाउँदै मध्यपहाडी लोकमार्ग

मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथर–तेह्रथुम जोड्ने तमोर नदीको पुल। तस्बिर : गिरिराज/नागरिक

पाँचथर - राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी पहाडबाट राजधानी काठमाडौं पुग्ने ट्र्याक खुलिसकेको छ। ठाउँठाउँमा काम भइरहेकाले सीधा यातायात सञ्चालनमा आइनसके पनि बीचका खण्डखण्डमा भने सवारी सञ्चालनमा आइसकेको छ। पहाडका विभिन्न ग्रामीण क्षेत्रमा सो लोकमार्ग पुगेपछि सुविधा विस्तारका साथै बजारीकरणसमेत बढेको छ। पूर्वी पहाडबाट अबको दुई वर्षमा कालोपत्रे सडक बनेर सहज रूपमा काठमाडौं पुग्न सकिने लक्ष्य रहेको लोकमार्गको फिदिम कार्यालयका आयोजना प्रमुख अभिमान मुल्मी बताउँछन्।

‘पहाडैपहाड भएर बनेको कतै कच्ची र कतै कालोपत्रे भइसकेको यो लोकमार्गमा हुँदै जसोतसो काठमाडौं जान सकिन्छ। आशा गरौं, दुई वर्षभित्र कालोपत्रेको काम सकिएपछि पूर्वका बासिन्दा पहाडैपहाडको बाटो हुँदै सहज रूपमा काठमाडौं पुग्न सक्नेछन्,’ मुल्मी भन्छन्, ‘मध्यपहाडी लोकमार्ग बन्दा ग्रामीण क्षेत्रका धेरै बासिन्दाले राहत पाएका छन्। यतिखेर कतै कालोपत्रे त कतै स्तरोन्नतिका काम भईरहेका छन्।’

भोजपुरसम्मको सडक हेर्न फिदिममा आयोजना कार्यालय स्थापना भएको छ। यसअघि काठमाडौंबाट हेर्ने गरिन्थ्यो। नेपाल–भारतको सीमानामा पर्ने मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दु पाँचथरको चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको एक हजार सात सय ७६ किलोमिटर लोकमार्गको सडकमध्ये प्रदेश १ का जिल्लाहरूमा ट्र्याक खन्ने काम सकिएर स्तरोन्नति र कालोपत्रेको काम भइरहेको छ।

चिवाभन्ज्याङदेखि काठमाडौंसम्मको दूरी सात सय ९० किलोमिटर रहेको बताइएको छ। चिवाभन्ज्याङदेखि खुर्कोटसम्म मध्यपहाडी लोकमार्ग पर्छ। अहिले खुर्कोटदेखि काठमाडौं बीपी राजमार्ग भएर पुगिन्छ। खुर्कोटबाट रामेछाप हुँदै धुलिखेलसम्म लोकमार्ग लैजान ट्र्याक खोल्ने कामसमेत भइरहेको छ। मध्यपहाडी लोकमार्ग निर्माणमा नयाँ बाटो तथा पुरानो बाटो मिलाएर अघि बढाइएको छ। धेरै ठाउँमा कालोपत्रेको ठेक्का लागेको र बाँकी ठाउँमा स्तरोन्नति सकिएसँगै ठेक्का लाग्ने मुल्मीको भनाइ छ। यो लोकमार्गले प्रदेश १ का पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर हँुदै सिन्धुली छुन्छ।

‘यो सडकले विकट पहाडी भूभागलाई राजधानीसँग जोडेको छ। महेन्द्र राजमार्गको विकल्पका रूपमा पहाडी सदरमुकाम र सहरहरू हुँदै राजधानी जोड्ने नेपालकै विकासको मेरुदण्डका रूपमा यो लोकमार्ग रहेको छ,’ प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो भन्छन्, ‘विकट क्षेत्रमा यो सडक बनेपछि तीव्र बसाइँसराइको समस्या रोकिनेछ। धेरै ठाउँमा सहरीकरणको सम्भावना छ।’ यो सडक सञ्चालनमा आएसँगै मध्यपहाडी क्षेत्र ठूलै व्यापारिक केन्द्र बन्ने र यो क्षेत्रको जनताको आर्थिक स्तर निकै माथि उठ्ने अपेक्षा राखिएको आङ्बोको भनाइ छ।

प्रदेश १ का विभिन्न जिल्लामा कालोपत्रे भई यातायत सञ्चालनमा आएका छन्। कच्ची भए पनि ट्र्याक खुलेका विभिन्न ठाउँमा गाडी मात्र चलेका छैनन्, व्यावसायिक गतिविधि पनि सञ्चालन हुन थालिसकेका छन्। डबल लेनको लोकमार्ग पुगेपछि दुर्गम पहाडी गाउँहरूको कायापलट हुने देखिएको छ। राष्ट्रिय गौरवको आयोजना भएकाले कामले गति लिएको देखिन्छ। ठेकदारले समयमा काम सक्ने हो भने चाँडै कालोपत्रे गर्न सकिने अनुमान इन्जिनियरहरूको छ।
पाँचथरको चिवाभन्ज्याङदेखि दोरम्बासम्मको ५२ किलोमीटर खण्डमा आठवटा ठेक्का सञ्चालनमा रहेको मूल्मीले जानकारी दिए। पाँचवटा पुल र तीनवटा सडक स्तरोन्नति गर्ने कार्य भइरहेको छ। दोरम्बादेखि गणेश चोकसम्मको नौ किलोमिटर खण्डमा कालोपत्रे भइसकेको छ। गणेशचोकदेखि जोरसालसम्म ४० किलोमिटर मेची राजमार्ग पर्छ। जोरसालदेखि तमोरको पुलसम्मको ११ किलोमीटर कालोपत्रे भइसकेको छ। तमोर नदीमा पुल सञ्चालनमा छ। तमोरदेखि तेह्रथुम सदरमुकाम म्याङलुङसम्मको ९२ किलोमिटरमा कालोपत्रे र दुईवटा पुल बनाउन ठेक्का लगाइएको छ। यहाँ १३ वटा ठेक्का छन्। तेह्रथुमको आठराई, फेदपा, म्याङलुङ नगरपालिका र लालिगुराँस नगरपालिकाका विभिन्न क्षेत्रका बासिन्दालाई राहत पुगेको स्थानीय अमृत बास्तोला बताउँछन्। गाउँका कृषि सडक मध्यपहाडीसँग जोडिनुका साथै तराईलगाय बजारसँग सीधा सम्बन्ध स्थापित गर्न सहयोग पुगेको उनको भनाइ छ।

इन्जिनियर सुरेश तुम्बाहाम्फेका अनुसार ठेकेदारले केही ढिलाइ गरे पनि कालोपत्रेसम्मको काम अघि बढेको छ। खोरंगा र नोयाखोलमा पुल बनिरहेको छ। म्याङलुङदेखि वसन्तपुरबजारसम्मको २६ किलोमीटर पुरानोबाटो कालोपत्रेका लागि ठेक्का खुलेको छ। वसन्तपुरदेखि धनकुटाको हिलेसम्म २२ किलोमिटर कोसी राजमार्ग पर्छ। हिलेदेखि भोजपुरको लेगुवासम्म २६ किलोमिटरमा कालोपत्रेका लागि ठेक्का लागेको छ। यो वर्ष ग्राभेल स्तरसम्मको काम सकिने मुल्मीले जानकारी दिए। यहाँ दुईवटा ठेक्का छन्। लेगुवादेखि भोजपुर ६६ किलोमीटर सडक एडिबीमार्फत कालोपत्रे भइरहेको छ। यस्तै, भोजपुरदेखि चखेवा ४२ किलोमिटरमा कालोपत्रेको काम अघि बढाइएको छ। यहाँ पाँचवटा ठेक्का छन्। चखेवादेखि दिक्तेल ८८ किलोमिटर कालोपत्रेका लागि ठेक्का लागेको छ। दिक्तेलदेखि हलेसीसम्मको ३५ किलोमिटर खण्डमा एडिबीमार्फत काम भइरहेको छ। यस्तै हलेसीदेखि हिलेपानी ४० किलोमिटर, हिलेपानी घुर्मीको ७६ किलोमिटरमा काम भइरहेको छ। घुर्मी–खुर्कोट ६० किलोमिटर खण्ड यसअघि नै कालोपत्रे भइसकेको छ।

लोकमार्गअन्तर्गतका धुले र कालोपत्रे पुराना बाटाहरू प्रयोग गरेर अहिले पनि राजधानी पुग्न सकिने मुल्मी बताउँछन्। लामो दूरीका सवारीसाधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन यस क्षेत्रमा सञ्चालन भइरहेका छन्। लोकमार्गले छोएका जिल्ला र बजार जोड्न सवारीसाधन सञ्चालन भएको पाइन्छ। विभिन्न ठाउँमा नयाँ खनिएका ट्र्याकबाहेक पुराना राजमार्गलाई लोकमार्गमा कायम गरिएको छ। भारतसँग सीमा जोडिने पूर्वी चिवाभन्ज्याङदेखि सुरु हुने मध्यपहाडी लोकमार्ग च्याङ्थापु, गणेश चोक, फिदिमको जोरसाल, तेह्रथुमको आठराई, म्याङलुङ, वसन्तुपर, हिले, लेगुवा, भोजपुर, दिक्तेल, घुर्मी, खुर्कोट, सिन्धुलीको बिपी राजमार्ग, धुलिखेल हुँदै काठमाडाैँ पुग्छ।

लोकमार्गलाई आधार बनाएर विभिन्न सडक निर्माण भएका छन्। पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङमा यो लोकमार्गलाई आधार बनाएर साना बजारहरू स्थापना भएका छन्। कृषि उपज निकासीमा पनि सहज भएको छ। ग्रामीण क्षेत्रलाई सहर जोड्न मध्यपहाडी लोकमार्गको योगदान रहेको पाइन्छ। लोकमार्गका विभिन्न खण्डको काम सुस्त छ। यही लोकमार्गले छोएका फिदिम र वसन्तपुर बजारलाई सुविधासम्पन्न नयाँ सहर बनाउने कार्यक्रम अघि बढेको छ।

प्रकाशित: २५ माघ २०७५ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App