coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँ प्रहरी भर्ना गर्दै गाउँपालिका

खोटाङ – ऐंसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरी भर्ना प्रक्रिया अघि बढाएको छ। दैनिक कार्य सम्पादनका क्रममा आवश्यक ठाउँमा प्रयोग गर्नेगरी गाउँपालिकाले जिल्लामै पहिलोपल्ट गाउँ प्रहरीको भर्ना खुलाएको हो। तीन पुरुष गाउँ प्रहरी भर्नाका लागि गाउँपालिकाभित्रका नागरिकबाट आवेदन आह्वान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए।

ऐंसेलुखर्क बजारका सडकपेटीमा जथाभावी राखिएका बिक्रीका सामग्री हटाएर बजार व्यवस्थित गर्ने, विद्यालय क्षेत्रमा सवारी साधनको गति सीमित गर्ने, क्षमताभन्दा बढी भार बोकेर गाउँपालिका प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई निगरानी गर्नेलगायत प्रयोजनका लागि गाउँ प्रहरी भर्ना खुलाइएको हो। ‘बजारमा अस्तव्यस्त तरिकाले राखिएका सामग्री हटाउन, बढी भार बोकेका सवारीसाधनलाई कारबाही गर्न जनप्रतिनिधिलाई अप्ठ्यारो हुँदोरहेछ,’ अध्यक्ष निरौलाले भने, ‘त्यो कामका लागि हामीले गाउँ प्रहरी राख्न लागेका हौं।’

नेपाली सेना र नेपाल प्रहरीमार्फत गाउँ प्रहरी छनोट गर्ने र तालिम पनि उनीहरूमार्फत नै दिलाउने गाउँपालिकाको योजना छ। लिखित परीक्षा, शारीरिक तन्दुरुस्ती परीक्षण र अन्तरवार्ताका आधारमा छनोट गरिएका गाउँ प्रहरीको कार्यक्षेत्र गाउँपालिका मात्र हुने जनाइएको छ। छनोटपछि सामान्य तालिम, उनीहरूको क्षेत्राधिकार, काम, कर्तव्य र अधिकारबारे जानकारी दिएर ड्युटीमा परिचालन गरिने गाउँपालिका अध्यक्ष निरौलाले बताए।

गाउँपालिकाभित्रका नेपाली नागरिक भएको, १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, कम्तीमा कक्षा ८ उत्तीर्ण भएको, शारीरिक रूपमा स्वस्थ र काम गर्न सक्ने प्रमाणित भएको, कुनै पनि गैरकानुनी काममा संलग्न नभएको, घटीमा ५ फिट २ इन्च उचाइ र कम्तीमा ५० केजी तौल भएको मापदण्डका आधारमा गाउँ प्रहरी छनोट गरिने निरौलाले बताए। गाउँ प्रहरीको मासिक तलब साढे १२ हजार तोकिएको सूचनामा उल्लेख छ। गाउँप्रहरीका लागि फागुन ७ गतेसम्म आवदन दिन सकिने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २५ माघ २०७५ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App