१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पिच उक्किएर खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण

जयराम–हलेसी सडकको च्यास्मीटार खण्डमा बनेका खाल्डा। तस्बिर : दमन/नागरिक

खोटाङ – पिच उक्किँदा खोटाङको जयराम–हलेसी सडक खण्डको च्यास्मीटारदेखि हलेसीसम्मको सडक जीर्ण बनेको छ। एडिबीको आर्थिक सहयोगमा ८/९ वर्षअघि ओटासिल पिच गरिएको जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मीटार–दुर्छिम–हलेसी खण्ड जीर्ण बन्दा यात्रा जोखिमपूर्ण बनेको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मीटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ। स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलोपल्ट २०६७ सालमा गरेको पहिलो ओटासिल कालोपत्रे छोटो समयमै उक्किएपछि सबैभन्दा बढी त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेका छन्। ठेकेदारको लापरबाहीका कारण कालोपत्रे चाँडै उक्किएपछि सवारीसाधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राईले बताए। सो सडक खण्डमा सवारीसाधन चलाउने चालक छिनछिनमा भेटिने खाल्डाखुल्डी छल्दै गाडी चलाउन बाध्य छन्।

दुर्छिमको छापडाँडा र हलेसीबीचको सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी छन्। कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानीलगायतका सहर जाने र आउने एकमात्र प्रमुख मार्ग हो। हाल सो सडकमा दैनिक हलेसी र दिक्तेल आउनेजाने सयौं सवारीसाधनको ओहोर–दोहोर भइरहन्छ। विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने ओटासिल नै बाँकी नरहेपछि गाडीभित्रै धुलो छिर्ने गरेको यात्रुको गुनासो छ। २०७१ सालमा ठेक्का लगाएर जयरामदेखि च्यास्मीटारसम्म, बडहरे र दुर्छिमका विभिन्न खण्डमा मर्मत गरिए पनि बीचका अन्य खण्डमा ठूला–ठूला खाल्डा यथावत् छन्। जयराम–हलेसीको १५ हजार ९ सय मिटर खण्डमा डिबिएमएसटी पिच गर्ने ठेक्का लिएको रौता कन्स्ट्रक्सन सम्झौताअनुसारको काम पूरा गरेर हिँडिसकेको छ।

सोही खण्डको चिसो र हिलाम्मे हुने १ हजार ४ सय ८ मिटर खण्डमा सूर्य कन्स्ट्रक्सनले आरसिसी ढलान पूरा गरेर ग्याबिन र स्ट्रक्चरको काम गरिरहेको छ। तर सुरुमा कालोपत्रे नगरी छाडिएको खण्डमा कालोपत्रे गरिए पनि पुरानो कालोपत्रे भएको खण्ड मर्मत नहुँदा समस्या जस्ताको तस्तै रहेको हलेसी तवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताए।

स्थानीयका अनुसार दुर्छिमको छापडाँडा र हलेसीबीचको सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी छन्। कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पुरानो पिच उक्किँदा च्यास्मीटारको चैतेडाँडा, बोझेओढार, बडहरेको गौरीभिर, दुर्छिमको बुद्धचोकआसपासमा खतरा बढेको छ। ‘पहिला कालोपत्रे नभएको ठाउँमा अहिले कालोपत्रे भयो, पहिला कालोपत्रे भएको ठाउँ अहिले जीर्ण बनेको छ,’ च्यास्मीटारका वडाध्यक्ष राईले भने, ‘पुरानो पिच उक्किएर खाल्डाखुल्डी हुँदा हलेसी आउने दर्शनार्थी सबैभन्दा बढी प्रभावित हुने गरेको छ।’ यसअघिको ठेक्काअनुसारको काम अन्तिम चरणमा पुगिसकेकाले बाँकी खण्ड मर्मतका लागि ठेक्का आह्वान गर्न परामर्श भइरहेको मध्यपहाडी लोकमार्गका डिई विजय चापागाईंले बताए।

च्यास्मीटार प्रहरीचौकीदेखि बडहरे, दुर्छिमदेखि हलेसीसम्मको खण्डमा पिच उक्किँदा सवारीसाधन ओहोर–दोहोरका क्रममा बुङबुङ्ती धुलो उड्ने गरेको छ। ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाई कम गुणस्तरको ओटासिल हालेका कारण ८ वर्ष नपुग्दै जयराम–हलेसी सडकको अवस्था कच्ची सडकसरह बनेको स्थानीय जीवन राईले बताए। सडकमा स्वच्छन्द–भगवती निर्माण सेवाले २०६५ देखि २०६७ सालसम्म दुई वर्ष लगाएर ओटासिल गरेको थियो। कम्तीमा १० वर्ष टिक्नुपर्ने ओटासिल तीनचार वर्षमै उक्किन थालेको स्थानीयको भनाइ छ। ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्रे गर्न लागेपछि स्थानीयले त्यति बेलै सडक संघर्ष समितिसमेत गठन गरेका थिए। जयरामदेखि हलेसीसम्मको सडक पिच गर्नेक्रममा ठेकेदारले बस्तीनजिकबाहेकका विभिन्न खण्डमा पिच नै नगरी छाडेको थियो। सडकको बाँकी खण्डमा पनि पिचको काम पूरा गर्न भन्दाभन्दै ठेकेदार भागेको राईले बताए।

२०७२ जेठ २५ गतेसम्ममा पूरा गर्ने सर्तमा ठेक्का लिएको रौता कन्स्ट्रक्सन र सूर्य कन्स्ट्रक्सनको काममा ढिलासुस्ती र गुणस्तरहीन पनि भएको भन्दै पटकपटक आवाज उठेको थियो। गुणस्तरहीन काम भएको गुनासो आएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर विमला राईको टोलीले सडकको कालोपत्रे कोट्याएर अनुगमन गरेको थियो।

प्रकाशित: २५ माघ २०७५ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App