coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौं – काठमाडौं उपत्यकासहित देशका पश्चिमी भेगमा बिहीबार मौसम प्रतिकूल हुँदा आन्तरिक उडान प्रभावित भएको छ।

पश्चिमका अधिकांश जिल्लामा हिमपातसमेत भएको छ। मौसमको खराबीले पश्चिममा कुनै उडान हुन नसकेको वायुसेवा सञ्चालक संघले जनाएको छ। नेपालगन्ज र सुर्खेत विमानस्थललाई आधार बनाएर पश्चिमतर्फका दुर्गम जिल्ला जुम्ला, हुम्ला, डोल्पा, बाजुरालगायत गन्तव्यका उडान हुने गर्छ। 

मौसमका कारण दुई विमानस्थलबाट एक दर्जनभन्दा बढी उडान हुन नसकेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए। उनका अनुसार अफ–सिजन भएकाले नियमित उडान पनि थोरै हुन्छन्। 

त्यस्तै मौसमका कारण काठमाडौंबाट पनि आधा दर्जनभन्दा बढी उडान रद्द भएका छन्। विमानस्थलका अनुसार नेपाल एअरलाइन्सको तीन उडान रद्द भएका छन्। नेपाल एअरलाइन्सले बिहीबार भोजपुर, दाङ र रुकुममा उडान गर्ने तालिका थियो। 

त्यस्तै सीता एअरको एक र समिट एअरको दुई उडान रद्द भएका छन्। यी दुवैको लुक्लास्थित उडान रद्द भएको विमानस्थलका उपनिर्देशक सिताराम भण्डारीले जानकारी दिए। उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा तारा, सीता, समिटलगायत निजी क्षेत्रका एअरलाइन्सले उडान गर्दै आएका छन्। त्यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सले पनि उडान गर्छ। 

त्यस्तै नियमित उडान बाहेक काठमाडौंबाट हुने आधा दर्जन पर्वतीय उडान (माउन्टेन फ्लाइट) पनि रद्द भए। बुद्ध एअरको तीन र यती एअरलाइन्सको दुई माउन्टेन फ्लाइट मौसमका कारण रद्द भएका हुन्। माउन्टेन फ्लाइट बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स र सिम्रिक एयरलगायत एअरलाइन्स कम्पनीले गर्दै आएका छन्।

मौसमका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रका केही उडान रद्द भए पनि अन्य नियमित उडान भने प्रभावित नभएको विमानस्थलले जानकारी दिएको छ। यद्यपि मौसमका कारण ‘भिजिबिलिटी’ (दृश्यांश) घट्दा केही उडान नियमित तालिकाभन्दा डिले भएका थिए।

प्रकाशित: २५ माघ २०७५ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App