coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

साझाको लेटरप्याडमा व्यक्तिगत भावना

महाप्रबन्धक डाेलिन्द्रप्रसाद शर्मा

काठमाडौं - नजिकिँदै गरेको प्रेम दिवसको सन्देश हावामै फैलिरहेको अनुभव भइरहेका बेला सरकारी स्वामित्वको साझा प्रकाशनको लेटरप्याडमा प्रेमको आवरणमा घृणाका शब्द छताछुल्ल भएका छन्। साझा प्रकाशनका विवादित महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले प्रकाशनको लेटरप्याड दुरुपयोग गर्दैै प्रेमिल शैलीमा घृणाका शब्द लेखेर साझा प्रकाशनका सञ्चालक समिति सदस्य एवं सांसद विजय सुब्बालाई दिएका छन्। सामान्यतः सरकारी निकायका लेटरप्याड सरकारी कामकारबाहीका लागि मात्र प्रयोग हुने भए पनि उनले आफ्नो मनका बह पोख्न लेटरप्याड दुरुपयोग गरेका हुन्।

गत साउन १९ मा शर्माले सुब्बालाई लेखेको पत्र एउटा गीतबाट सुरु गरिएको छ। गीतमा भनिएको छ–

मलाई नसोध, कहाँ दुख्छ घाउ,
म जे छु, ठिकै छु, बिथोल्न नआऊ,

उक्त पत्रमा शर्माले सुब्बालाई सम्बोधन गर्दै प्रेमिल भाषामा व्यक्तिगत गुनासा राखेका छन्। पत्रको अन्त्यमा शर्माले लेखेको भावुक गीत यस्तो छ–
पर लैजाऊ फूलहरू, छोपिदेऊ ताराजुन,

बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू
गीतसँगै उनले लेखेका छन्, ‘गीत त आखिर गीत न हो भावना न हो, अहिले म निकै अचम्ममा पर्ने गरेको छु कि के कारण मैले तपार्इंलाई सञ्चालक समितिमा ल्याउन त्यति धेरै मेहनत गरें हुँला ?’

उनले गत पुस २४ गते यस्तै भावनासहितको अर्काे पत्र सुब्बालाई पठाएका छन्। उक्त पत्रमा उनले लेखेका छन्, ‘तपार्इंलाई यो तेस्रो पत्र लेखिरहँदा भ्रममा रमाएकाहरू र भ्रमलाई यथार्थ सम्झेर तपाईंको अघिपछि गर्नेहरूलाई कठैबराबाहेक म अरू केही भन्न सक्दिनँ।’

उक्त पत्रमा उनले आफूले चैत २२ मा पत्र पठाएर प्रतिनिधिसभा सदस्यमा चयन भएकोमा साझा प्रकाशनका तर्फबाट बधाई दिएको भन्दै लेखेका छन्, ‘सायद तपाईं जनप्रतिनिधि भएको भए त्यस शुभकामनालाई गहन रूपमा लिनुहुन्थ्यो, तपार्इं पार्टीको समानुपातिक टीके प्रतिनिधिबाहेक अर्काे हुन सक्नुभएन।’

तीन पृष्ठ लामो उक्त पत्रको अन्तिम पृष्ठमा शर्माले लेखेका छन्, ‘तपार्इंले दिएका दुःखहरूले निद्रा नलागेपछि पीडालाई भुल्न मैले संगीतको सहारा लिँदा सुनेको थिएँ,’
जन्ममरण सत्य हो, अरू रैछ खेल

मान्छे त्यसै भुलाउने दुई दिन बाँचुन्जेल
भजनका दुई लाइन लेखेपछि शर्माले लेखेका छन्, ‘यस भजनले मलाई वास्तवमै एक दिन यो मायारुपी संसारको बन्धन तोडेर जानुपर्छ तर किन तपार्इं अमानवीय व्यवहार गर्दै हुनुहुन्छ ? धिक्कार !’

उनको पत्रमा लेखिएको छ, ‘तपाईं आजसम्म अरूलाई गाली बबार्दी गर्ने बाहेक अरू के गर्नुभयो ? एकपटक राम्रोसँग नियाल्नोस्। तपाईंले मलाई दिएका पीडा तपार्इंले भोग्नुपरेको भए के गर्नुहुन्थ्यो ?’ पत्रको अन्तिममा उनले भनेका छन्, ‘तपार्इंमा इमान र नैतिकता बाँकी छ भने यो पत्र पाएको एक साताभित्र मलाई सप्रमाण कानुनी कठघरामा उभ्याउनुस् या यसको चित्तबुझ्दो जबाफ दिनुस्, अन्यथा यो पत्र सार्वजनिक गरिनेछ।’

साझाका सञ्चालक सदस्य एवं सांसद सुब्बाले शर्माले प्रकाशनको लेटरप्याड दुरुपयोग गरेर आफूलाई चाहिने–नचाहिने कुरासहितका पत्र लेखेको बताए। ‘कार्यालय सञ्चालन गर्ने सामान्य मूल्यमान्यता बुझेको मान्छेले यस्तो गर्दैन, व्यक्तिगत भावनालाई लेख्न कार्यालयको लेटरप्याडको दुरुपयोग भइरहेको छ,’ उनले भने। उनका अनुसार यो सामान्य व्यवस्थापकीय ज्ञानसमेत नभएको व्यक्तिलाई संस्था सञ्चालनको जिम्मा दिनुको परिणाम हो।

प्रकाशित: २५ माघ २०७५ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App